जहाज मर्मत गर्न ५ महिना लगाएको एनएसीले भन्यो- नेतृत्वको अथक प्रयासले छिटो भयो

बिजमाण्डू
२०८१ बैशाख १६ गते २०:१७ | Apr 28, 2024
जहाज मर्मत गर्न ५ महिना लगाएको एनएसीले भन्यो- नेतृत्वको अथक प्रयासले छिटो भयो

काठमाडौं। नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज २ अर्ब आम्दानी गुमाएपछि मर्मत गरिएको छ।

Tata
GBIME
Nepal Life

नेतृत्वको अक्षमताका कारण जहाज मर्मतमा ५ महिना लगाइएपनि निगमले भने यसलाई लाजै नमानी छिटो भनेको छ। त्यति मात्र होइन, नेतृत्वको अथक प्रयासबाट जहाज मर्मत भएको भनेर निगमले विज्ञप्ति निकालेको छ।

निगमको ९ एन-एकेएक्स कलसाइनको जहाज इजरायल साढे तीन महिना लगाएर मर्मत गरी बल्ल स्वदेश ल्याइएको छ।

जहाज वैशाख १० गते स्वदेश ल्याउने तयारीसहित क्याप्टेन नृपेन्द्र भट्टराई र अर्विनराज पहाडीलाई इजरायल पठाइएकामा ल्यान्डिङ गेयरको अल्टरनेट ब्रेकिङ सिस्टममा समस्या देखिएपछि पार्टपूर्जा झिकाउन समय लागेकाले शनिबार ल्याइएको निगमका प्रवक्ता रमेश पौडेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उनका अनुसार पार्टपूर्जा आपूर्तिकर्तामार्फत अमेरिकाको मायामीबाट मगाइएको थियो।

गत मंसिर १५ गते ग्राउण्डेड जहाज मर्मतका लागि पुस २६ गते इजरायल लगिएको थियो। जहाज पाँच महिनासम्म ग्राउण्डेड गर्दा निगमले करिब २ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ। १५८ सिटे जहाजले प्रति दिन औसतमा १ करोड ३० लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो।

जहाज ग्राउण्डेड भएपछि निगमले दिल्ली उडान घटाएको थियो। दिल्लीमा दैनिक २ वटा उडान गर्दै आएको निगमले ९ एन-एकेएक्स कलसाइनको जहाज ग्राउण्डेड भएपछि एउटा मात्र उडान गरिरहेको छ। त्यो उडान पनि वाइडबडी जहाजबाट गरेकाले थप नोक्सानी भोग्नुपरेको छ।

न्यारोबडी जहाजले उडान गर्ने छोटो रुटका गन्तव्यमा वाइडबडी उडाउँदा नोक्सानी हुन्छ। न्यारोबडी जहाज ग्राउण्डेडपछि दिल्लीमा दैनिक एउटा उडान नै कटौती भएकाले तथा अन्य गन्तव्यमा पनि वाइडबडी जहाज लगिएकाले नोक्सानी बढेको अनुमान निगमकै अधिकारीहरुको छ।

निगमले नोक्सानीका कारण जहाज किन्दा लिएको २४ अर्ब ऋण बढेर करिब ५० अर्ब रुपैयाँ पुगिसकेको छ।

मर्मतमा चरम ढिलासुस्तीका कारण २ अर्बभन्दा बढी आम्दानी गुम्दा पनि निगमले लाजै नमानी जहाज छिटो मर्मत गरी उडानयोग्य बनाएको बताएको छ। र, जहाज मर्मत गरेर ल्याउनुमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले ठूलो काम गरेको रुपमा अर्थ्याउने प्रयास गरिएको छ।

‘जाँचका क्रममा प्राविधिक समस्याका अलावा इन्जिनभित्रका ३१ वटै ब्लेड फेर्नुपर्ने देखिएको, सम्बन्धित पार्टपूर्जाको बजारमा अभाव भएको र मर्मतस्थल युद्ध प्रभावित क्षेत्र भएकाले आपूर्तिमा कठिनाई भएपनि वर्तमान नेतृत्व, प्राविधिक तथा अन्य कर्मचारीको लगातारको अथक प्रयासबाट इन्जिन सकेसम्म छिटो मर्मत गराइ उडानयोग्य भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यही विज्ञप्तिमा निगमले जहाज मर्मतमा ढिलाइ भएको पनि स्वीकार गरेको छ। ‘जहाज मर्मतमा भएको ढिलाइलाई गम्भीरतापूर्वक विश्लेषण गरी सम्झौता अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने छ,’ विज्ञप्तिमा भनिएको छ।

जहाज मर्मतको जिम्मा लिएको कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्री आईएआई हो। आईएआईको एकपछि अर्को कैफियतमा निगमले कुनै कदम चाल्न सकेको छैन। बरु कार्यकारी अध्यक्ष अधिकारीले त्यही कम्पनीसँग मिलेर इन्जिन लिजमा ल्याउने असफल प्रयास गरेका थिए।

जहाज मर्मतमा कति खर्च भयो भन्नेबारेमा भने विज्ञप्तिमा केही खुलाइएको छैन। निगमका अधिकारीले आईएआईबाट बिल आउन बाँकी रहेको बताएका छन्।