सोमबारबाट ‘समर सेड्युल’ लागू, काठमाडौं-लुक्ला हुँदै आएको ५० प्रतिशत उडान अब रामेछापबाट

बिजमाण्डू
२०८० चैत्र १५ गते १४:५५ | Mar 28, 2024
सोमबारबाट ‘समर सेड्युल’ लागू, काठमाडौं-लुक्ला हुँदै आएको ५० प्रतिशत उडान अब रामेछापबाट

काठमाडौं। आउँदो सोमबारबाट नागरिक उड्डयन प्राधिकरणले ‘समर सेड्युल’ लागू गरेसँगै रामेछाप-लुक्ला उडान पुनः सुरु हुने भएको छ।

Tata
GBIME
Nepal Life

अप्रिल १ तारिखबाट ‘समर सेड्युल’ लागू भएसँगै काठमाडौं-लुक्ला तर्फ हुँदै आएको ५० प्रतिशत उडान रामेछापबाट हुने प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘लुक्ला हुँदै खुम्बु क्षेत्र जाने पर्यटकको आवागन सुरु भएसँगै आउँदो सोमबारबाट लागू हुने गरि रामेछाप-लुक्ला नियमित उडान सुरु हुने तयारी रहेको छ,’ भुलले भने,’यही अनुसार हाल उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीले आ-आफ्नो तर्फबाट तयारी गरिसकेका छन्।’

हिमाल आरोहण र पदयात्राका लागि आउजाउ गर्ने पर्यटक वृद्धि भएसँगै यतिखेर लुक्लास्थित तेनजिङ हिलारी विमानस्थलमा दैनिक करिब ५०० यात्रुको आवागमन भइरहेको विमानस्थल प्रमुख उमेश कुमार पन्थीले बताए।

उनका अनुसार यतिखेर समिट, तारा र सीताले क्रमशः लेट ४१०, ट्विन अटर र डोर्नियर जहाज मार्फत दैनिक ८२ वटा उडान अवतरण गराउँदै आएका छन्। यो बाहेक हेलिकोप्टर चार्टर उडान पनि धमाधम भइरहेको पनि उनले जानकारी दिए।

काठमाडौं-लुक्ला ३० मिनेटको उडान दुरी रहेको छ भने रामेछाप-लुक्ला तर्फको हवाई दुरी अधिकतम २० मिनेट रहेको छ।  

मौसमी प्रतिकुलताका कारण आज भने लुक्ला तर्फ उडान हुन नसकेको उनले जानकारी दिए।