चिनियाँ राष्ट्रपतिले दर्जनभन्दा बढी अमेरिकी सीइओ भेट्दा किन एक जना पनि महिला परेनन्?

बिजमाण्डू
२०८० चैत्र १५ गते १३:१८ | Mar 28, 2024
चिनियाँ राष्ट्रपतिले दर्जनभन्दा बढी अमेरिकी सीइओ भेट्दा किन एक जना पनि महिला परेनन्?

अर्थतन्त्रमा एक दशक यताकै ठूलो संकट झेलिरहेको चीनका राष्ट्रपति सी जिनपिङले दर्जनभन्दा बढी अमेरिकी सीइओ तथा विज्ञहरुसँग भेटेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रपति सीले बेइजिङको ग्रेट हलमा यस टोलीसँग गरेको भेटलाई विदेशी लगानीकर्ता खासगरी अमेरिकीलाई चीनतर्फ आकर्षित गर्ने तथा अमेरिकासँग बिग्रिएको व्यापार सम्बन्ध सुधार्ने महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ।

चीनमा हाल प्रत्यक्ष वैदेशिक लगानीको अवस्था बिग्रिएको छ। अर्थतन्त्रमा सुस्तताका कारण मात्र नभइ विदेशी कम्पनीहरुतर्फ नियामकीयहरुको रवैया, राष्ट्रिय सुरक्षाका प्रावधानहरुका साथै वैदेशिक लगानीका विषयमा चीनको दीर्घकालीन नीतिमाथि नै प्रश्नचिन्ह खडा हुनुले हाल चीनप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको आत्मविश्वास गुमेको छ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनका राष्ट्रपतिले यस भेटमा अमेरिकी व्यावसायिक क्षेत्रलाई चीनमा लगानीलाई निरन्तरता दिन आग्रह गरे।

क्वालकमका सीइओ क्रिस्टियानो आमोन, फेडेक्सका सीइओ राज सुब्रयमन्यम, ब्ल्याक स्टोन ग्रुपका सीइओ स्टेफेन स्वार्जम्यान लगायत रहेका टोलीसँगको भेटमा उनले चीनले आफ्नो देशका बजारहरु विदेशी कम्पनीहरुका लागि थप सुधारका साथ खुला गर्ने बताएका थिए।

‘चीनको भविष्य उज्जवल छ र चिनियाँ अर्थतन्त्रको वृद्धि अझ उत्साहप्रद रहनेमा हामी विश्वस्त छौं।’- सीले चीनको अर्थतन्त्रले ‘अझै उचाइ’ लिन बाँकी रहेको पनि बताए।

चीन र अमेरिकाबीच सम्बन्ध सुधार गरेर अघि बढेमा दुवै देशको भविष्य ‘सुन्दर’ बनाउन सकिनेमा सीले जोड दिएका थिए।

अर्थतन्त्र, व्यापार, कृषि होस् वा जलवायु परिवर्तन वा कृत्रिम बौद्धिकता जस्ता नयाँ क्षेत्रहरु, चीन र अमेरिकाले एक अर्काको विकासमा हातेमालो गर्न सक्ने उनको भनाइ थियो।

गत वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग सान फ्रान्सिस्कोमा भएको भेटपछि द्विपक्षीय सम्बन्धमा सुधार देखिइसकेको पनि सीले अमेरिकी टोलीलाई बताएका थिए।

राष्ट्रपति सीको यस भेटलाई निकै चासोका साथ हेरिएको छ। सार्वजनिक गरिएको सामूहिक फोटोमा सीले भेटका निम्ति कसलाई बोलाए तथा कसलाई किन बोलाइएन जस्ता टिप्पणीदेखि टोलीमा एक जना पनि महिलालाई सामेल नगराइएको विषयले पनि चर्चा पाएको छ।

‘निसन्देह टोलीमा चाइना डेभलपमेन्ट फोरममा भाग लिन पुगेका उच्चस्तरीय व्यक्तिहरु थिए तर लैंगिक/जातीय वा उमेरगत हिसाबले हेर्दा विविधता भने देखिएन। यसकारण विज्ञ वा नीतिगत तहमा साँचो अर्थमा प्रतिनिधित्व भएको देखिएन।’- युनिभर्सिटी अफ टेक्सास अस्टिनकी सहप्राध्यापक सिना चेस्टनट ग्रेइटेन्सले भनिन्।

यो भेटबाट चीनमा उदासीन बन्दै गएका लगानीकर्ताहरुलाई आकर्षित गरी आफ्नो वैदेशिक व्यापार तथा लगानीको क्षेत्रलाई स्थिर बनाउने तथा आत्मविश्वास जगाउन कोसिस गरेको देखिन्छ।

गत वर्षदेखि नै बेइजिङले मुख्य गरी हाइटेक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि विभिन्न पहलहरु पनि गरिरहेको छ।

तर, पश्चिमा कम्पनीहरु भने चीनको बढ्दो निगरानी तथा संरचनागत सुस्तताका कारण लगानीका लागि खासै इच्छुक छैनन्।

सन् २०२४ को पहिलो दुई महिनाहरुमा चीनको प्रत्यक्ष वैदेशिक लगानी गत वर्षको समान अवधिको भन्दा झण्डै २० प्रतिशतले खुम्चिएको छ।

चीनस्थित अमेरिकी चेम्बर अफ कमर्सले गत महिना मात्र सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार करिब ५७ प्रतिशत अमेरिकी कम्पनीहरु चीनको बजार अन्तर्राष्ट्रिय कम्पनीहरुलाई खुला गर्ने विषयमा त्यति आत्मविश्वासी देखिदैनन्।

चीनले यस वर्षको आर्थिक वृद्धिको लक्ष्य गत वर्षकै जति ५ प्रतिशतको हाराहारीमा राखेको छ, जसलाई विश्लेषकहरुले भने महत्त्वाकांक्षी भनेका छन्।

चिनियाँ उपभोक्ताहरुको कमजोर आत्मविश्वास जगाउन तथा उनीहरुको खर्च गर्ने क्षमता बढाउनका लागि आवश्यक राहत प्याकेज ल्याउनेतर्फ नलाग्दासम्म सरकारी लक्ष्य पूरा नहुने बताइएको छ।

चाइना डेभलपमेन्ट फोरममा सहभागी हुन आएका विश्वका करिब १०० सीइओहरु तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरु यो साता चाइना डेभलपमेन्ट फोरमको बैठकमा सहभागी हुन चीनमा थिए। त्यसमध्ये ३० भन्दा बढी अमेरिकी कार्यकारीहरु त्यहाँ पुगेका थिए। ती मध्येबाटै छानेर राष्ट्रपति सीले भेट गरेका हुन्।

विदेशी लगानीकर्ता आकर्षित गर्ने लक्ष्यका साथ गत महिनामात्र चीनको क्याबिनेटले २४ बुँदे एक्सन प्लान सार्वजनिक गरेको थियो ।