भुक्तानी पाएपछि काममा फर्किए ठेकेदार कम्पनी, प्रभावित ४ ठूला सडक निर्माणले तीव्रता पाउने

बिजमाण्डू
२०८० चैत्र १४ गते १५:५३ | Mar 27, 2024
भुक्तानी पाएपछि काममा फर्किए ठेकेदार कम्पनी, प्रभावित ४ ठूला सडक निर्माणले तीव्रता पाउने
तस्बिर : रासस।

गलकोट। गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार काममा फर्किएका छन्। दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका ४ ठूला सडक निर्माणले पुनः तीव्रता पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

सडक डिभिजन कार्यालय बागलुङ मातहतमा निर्माण भइरहेका साबिक धौलागिरि अञ्‍चलका ३ जिल्लाका ४ ठूला सडक कालोपत्रको जिम्मा पाएका ठेकेदारले भुक्तानी पाएसँगै कामलाई तीव्रता दिएका हुन्।

१ अर्ब १९ करोड रुपैयाँ रकममा छुट्टाछुट्टै मितिमा सम्झौता भएका ‘एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक’ अन्तर्गतका ४ सडक निर्माणले गत वर्षको भुक्तानी पाएपछि गति लिन थालेको हो। बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बजार-सिगाना-चापाखर्क-शान्तिपुर जोड्ने सडक र म्याग्दीको रत्नेचौर-ज्यामरुककोट-भकिम्ली हुँदै बराङ्जा जाने सडकको गत वर्षको मात्रै ७ करोड १२ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी थियो।

सिगानाको ३ करोड ३१ लाख ३ हजार रुपैयाँ र म्याग्दी सडकको ३ करोड ८१ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। पुरानो रकम भुक्तानी पाएसँगै निर्माण व्यवसायी काममा फर्केर सडकको पहिरो हटाउने, बिग्रे-भत्केको मर्मत गर्ने काममा जुटेका हुन्।

बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने हरिचौर बजार, मल्म, पाण्डवखानी-रमुवा-रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक र मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका-२, ३, ४ र ५ मा पर्ने छयो, कुन्जे, टिटी, धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा समेत कामले तीव्रता पाउने भएको छ।

ठेक्कामा गएर कामले गति लिएका सडकमा बजेट अभावले करिब ८ महिना ढिलाइ भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख अनुक्षा घिमिरेले बताइन्। उनका अनुसार गत वर्षको दायित्व भुक्तानी भएसँगै निर्माण व्यवसायी काममा फर्किएका छन्। घिमिरेका अनुसार अर्थ मन्त्रालयले दायित्व भुक्तानीका लागि बजेट थप गरेपछि ३ जिल्लाका ४ ठूला सडकले तीव्रता पाउने भएका छन्।

‘बागलुङका २, म्याग्दी र मुस्ताङका १/१ सडकका लागि चालु आवमा ४ करोड रुपैयाँ बजेट आएको थियो। १ अर्ब १९ करोड रुपैयाँमा सम्झौता भएको सडकमा जम्मा १/१ करोड बजेट आएको थियो। सडकको भुक्तानी मात्रै ७ करोड रुपैयाँ बढी भएकाले निर्माण व्यवसायीलाई ताकेता गर्न सकेका थिएनौँ,’ डिभिजन प्रमुख घिमिरेले भनिन्, ‘निरन्तरको ताकेताले दायित्व भुक्तानी गर्न सफल भयौँ। निर्माण व्यवसायीले कामलाई तीव्रता दिएसँगै आगामी असार मसान्तसम्म सिगाना, म्याग्दीको सडक कालोपत्रका लागि तयारी हुनेछ।’

बागलुङको मल्म र मुस्ताङको सडकको ५० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएको उनले जानकारी दिइन्।

सङ्घीय सरकारअन्तर्गत विसं २०७९ मा सुरु भएका ३ जिल्लाका ४ ठूला सडकअन्तर्गत बागलुङबजार अदालत चौपारी-सिगाना-चापाखर्क-गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको हालसम्म ४८ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ। १० किमी उक्त सडक कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजार रुपैयाँमा सम्झौता भएको थियो।

बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत हरिचौर बजार, मल्म, पाण्डवखानी-रमुवा-रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक विसं २०७९ मा २५ करोड २० लाख रुपैयाँमा सम्झौता भएको थियो। उक्त सडकमा हालसम्म १८ प्रतिशत भौतिक प्रगति भएको छ।

त्यस्तै, म्याग्दीको रत्नेचौर-ज्यामरुककोट, भकिम्ली हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण अन्य ३ सडकको तुलनामा सबैभन्दा बढी रहेको छ। करिब ४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीले गत वर्षको मात्रै ३ करोड ८१ लाख ४४ हजार रुपैयाँ भुक्तानी अहिले पाएको डिभिजन प्रमुख घिमिरेले जानकारी दिइन्।

मुस्ताङको लेतेस्थित थासाङ गाउँपालिका-२, ३, ४ र ५ मा पर्ने छयो, कुन्जे, टिटी, धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ। ३ वर्षमा कालोपत्र गर्नेगरी ३८ करोड ८८ लाख ६१ हजार रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको थियो। रासस