ढाका-पोखरा उडानका लागि बंगलादेशको एयर अस्त्रको आवेदन, माग्यो छुट सुविधा

बिजमाण्डू
२०८० चैत्र १४ गते १४:३१ | Mar 27, 2024
ढाका-पोखरा उडानका लागि बंगलादेशको एयर अस्त्रको आवेदन, माग्यो छुट सुविधा

काठमाडौं। तीन वर्षअघि संचालनमा आएको बंगलादेशी वायुसेवा कम्पनी एयर अस्त्रले ढाका-पोखरा दुईतर्फी उडान गर्न छुट सुविधा मागेको छ

Tata
GBIME
Nepal Life

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि कम्पनीले भ्याट, इन्धन, टर्नओभर ट्याक्स, ल्याण्डिङ, पार्किङ, नेभिगेसन शुल्क लगायतमा छुट दिन आग्रह गरेको छ। कम्पनीले अर्थ र पर्यटन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन मन्त्रालयमा छुटको मागसहित आवेदन दिएको छ।

उडानका क्रममा नेपाली रुपैयाँ र बंगलादेशी टाँकाको सटहीमा सहजीकरण गरिदिन कम्पनीले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। कम्पनीको मागबारे अध्ययन गरिरहेको पर्यटन मन्त्रालयका सह-सचिव  बुद्धिसागर लामिछानेले बताए।

‘कम्पनीले विभिन्न विषयमा छुट मागेको छ। यसका लागि अन्तर मन्त्रालय समन्वय गर्नुपर्ने भएकाले हामी छलफलमा छौं,’ सहसचिव लामिछानेले बिजमाण्डूसँग भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने प्रस्ताव हाम्रा लागि राम्रो अवसर पनि हो। हामी छिट्टै अध्ययन गरेर कम्पनीलाई प्रतिक्रिया दिनेछौं।’   

यो वायुसेवाले जेनरल सेल्स एजेन्ट्स ‘जीएसए’को जिम्मेवारी सोसाइटी इन्टरनेश्नल ट्राभललाई दिएको छ। कम्पनी सुरुमा सातामा ४ वटा व्यावसायिक उडान गर्ने तयारीमा छ। 

अस्त्र एयरवेज अन्तर्गतको एयर अस्त्र सन् २०२१ बाट संचालनमा आएको हो।