अन्सारी दाजुभाइले मेडिकल कलेजबाट जोडे कम्तिमा ११५० करोडको सम्पत्ति

सविन ढकाल
२०८० चैत्र १ गते ११:५८ | Mar 14, 2024
अन्सारी दाजुभाइले मेडिकल कलेजबाट जोडे कम्तिमा ११५० करोडको सम्पत्ति

वीरगंज। मेडिकल कलेज व्यवसायी दाजुभाइ जैनुुद्दीन–बसरुद्दीन अन्सारीको सम्पत्ति विवादमा मध्यस्थकर्ताका रूपमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीका संस्थापक डा. भोला रिजाल दृश्यमा आएका छन्।

Tata
GBIME
Nepal Life

उनले अन्सारी दाजुुभाइसँग एक्लाएक्लै कुराकानी गर्ने रणनीति अन्तर्गत बुधबार बसरूद्दीनसँग लामो छलफल गरेका छन् भने बिहिबार जैनुद्दीनसँग भेटने तय भएको छ। दुवैसँगको कुराकानीका आधारमा विवाद टुंग्याउने सहमति बनेको छ।

यसअघि पर्सा जिल्ला प्रशासन कार्यालयले पनि अनौपचारिक मध्यस्थता गर्दै सहमति जुटाउने प्रयास गरेको थियो। त्यही छलफलपछि दाजु जैनुद्दीनले बसरुद्दीनसमक्ष २५० करोड लिएर अलग हुन प्रस्ताव राखेका थिए। तर बसरुद्दीनले त्यो प्रस्ताव स्वीकारेनन्।

बसरुद्दीनको वीरगंजको नेसनल मेडिकल कलेजमा १० प्रतिशत र डिल्लीबजारमा रहेको प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजमा २५ प्रतिशत सेयर छ। काठमाडौं अत्तरखेलको नेपाल मेडिकल कलेज (जसको करिब ५१ प्रतिशत सेयर कोहिनूर इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा छ) मा बसरुद्दीन ३० प्रतिशत सेयरका कानूनी हकवाला हुन्।

उल्लिखित सबै कानूनी हक छाड्ने भए २५० करोड रूपैयाँ दिने प्रस्ताव दाजु जैनुद्दीनले गरेका हुन्। बसरुद्दीन भने सबै त्यागेर त्यति मात्रै रकम लिन तयार भएनन्।

बसरुद्दीन अन्सारी

सम्बन्धित समाचार : जैनुद्दीन र बसरुद्दीनको मेडिकल कलेजमा दाेस्राे पुस्ता छिरेपछि विवाद, दाजुभाइ एकअर्कालाई सुरक्षा थ्रेट

अन्सारी दाजुभाइको सम्पति विवाद किन मिलिरहेको छैन त? यो प्रश्नको उत्तर खोज्न उनीहरूको कूल सम्पत्ति कति हो र कहाँ–कहाँ छ? भनेर जान्नुपर्ने हुन्छ।

नेसनल मेडिकल कलेज, वीरगंज

२०५६ सालमा स्थापित नेसनल मेडिकल कलेजको जग्गा मात्रै करिब ३५० करोड रुपैयाँभन्दा माथिको छ। कलेजसँग जग्गा मात्रै ३० बिगाहा छ। वीरगंजमा यो कलेज रहेको भेडियाही क्षेत्रमा जग्गाको चलनचल्तीको मूल्य प्रति धूर ३ देखि ८ लाख रुपैयाँ छ।

प्रति धूर न्यूनतम् ३ लाख रूपैयाँकै हिसाब गर्दा पनि ३६० करोड रूपैयाँ हुन आउँछ। यो त भयो, जमिनको मात्रै हिसाब।

एमबीबीएस अध्यापनका लागि १०० सीट क्षमताको यस कलेजको अघिल्लो वर्षकै वासलात अनुसार १२ करोड ५० लाख रूपैयाँ खूद मुनाफा छ। अचल सम्पत्ति पर्याप्त भएको र मुनाफा गरिरहेको कम्पनी भएकाले यसको प्रति सेयर मूल्य स्वाभाविक रूपमा उच्च नै हुनेछ।

अन्सारी दाजुभाइले नै किनेको वीरगंजकै बराबरी एमबीबिएस सिट संख्या रहेको तर मुनाफा नभएको नेपाल मेडिकल कलेजको खरिद मूल्य नै प्रति सेयर ७५० रूपैयाँ थियो। नाफामा चलिरहेको र जग्गा पनि नेपाल मेडिकल कलेजभन्दा दोब्बर रहेको नेसनल मेडिकल कलेजका हकमा त यो मूल्य पक्कै पनि उच्च नै हुनेछ। यदि, प्रति कित्ता १,००० रूपैयाँ मात्रै राख्ने हो भने पनि कम्पनीको प्रबन्ध पत्र अनुुसार ५० लाख कित्ता सेयरको ५०० करोड रूपैयाँ हुन जान्छ।

काठमाडौं नेसनल मेडिकल कलेज, डिल्लीबजार

वीरगंजको कलेजबाट कमाई हुन थालेपछि अन्सारी दाजुुभाइ मेडिकल व्यवसाय विस्तार गर्ने निष्कर्षमा पुगे र काठमाडौं छिरे। उनीहरूले ‘काठमाडौं नेसनल मेडिकल कलेज’ चलाउन डिल्लीबजारमा आवासका लागि बनेको तर नबिकेको एक अपार्टमेन्ट खरिद गरे। जसको हालको मूल्य करिब १५० करोड रूपैयाँ रहेको आंकलन छ।

घरजग्गा व्यवसायमा मन्दी आएका बेला अन्सारी दाजुभाइले डिल्लीबजारको उक्त अपार्टमेन्ट किनेर ‘अस्पताल’ बनाएका थिए। तोकिएको मापदण्ड पूरा नभएको यही अस्पताल देखाएर उनीहरूले वि.सं. २०७४ मा त्रिभुवन विश्वविद्यालयबाट मेडिकल कलेजको सम्बन्धन लिए।

मापदण्ड नपुगेको बुझ्दा–बुुझ्दै त्रिविका तत्कालीन उपकुलपति तीर्थ खनियाँले चिकित्सा शास्त्र अध्ययन संस्थानलाई समेत छलेर सम्बन्धन दिने विवादित निर्णय गराएका थिए। यो बेग्लै कुरा हो कि जनस्तरबाट व्यापक विरोध भएपछि त्यो सम्बन्धन स्थगनमा गयो।

यसबाहेक यसै कलेजका लागि चोभारनजिक चाल्नाखेलमा १० वर्षअघि करिब ६० करोड रूपैयाँमा १०३ रोपनी जग्गा किनिएको थियो। उक्त जग्गाको मूल्य हाल करिब ३०० करोड रूपैयाँ पुगिसकेको छ।

नेपाल मेडिकल कलेज, अत्तरखेल, जोरपाटी

आफ्नो मेडिकल व्यवसाय विस्तार गर्ने उपक्रम अन्तर्गत अन्सारी दाजुभाइले वि.सं. २०७४ मा जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आधाभन्दा केही बढी करिब ५१ प्रतिशत सेयर किने।

उनीहरूले कोहिनूर इन्भेष्टमेन्ट कम्पनीमार्फत त्यतिबेला करिब १८० रोपनी जग्गा भएको यस कलेजमा झण्डै २०० करोड लगानी गरे। तीन वर्षअघिकै मूल्यमा भन्ने हो भने पनि करिब ४०० करोडको सम्पत्तिमा उनीहरूको आधा हिस्सा हो।

डा. जैनुद्दीन अन्सारी

सम्पत्तिमा शुद्धीकरणका आँखा

अन्सारी दाजुभाइले मेडिकल शिक्षाको कारोबारमा जसरी दिन दुना रात चौगुना ‘प्रगति’ गर्दै गए, त्यसका स्रोतमाथि पनि प्रश्न उठन थाले। वासलातमा नदेखिने गरि विद्यार्थीहरूबाट रकम उठाउने लगायतका प्रश्न उनीहरूमाथि तेर्सिए।

२०७६ साल कात्तिकको अन्त्यमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेसनल मेडिकल कलेजमा छापा मार्‍यो। विद्यार्थीहरूबाट तोकिएभन्दा अनधिकृत रूपमा बढी रकम उठाएको उजूरी तथा राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालय एवं विभिन्न प्रतिवेदनका आधारमा विभागले छापा मारेको थियो।

कलेजका संचालकहरूको सम्पत्तिको स्रोतमाथि पनि उजुरी परेकामा विभागले त्यसको पनि छानबिन गरिरहेको थियो। तर राजनीतिक प्रभावका कारण उक्त छानबिन अघि बढ्न सकेन। यसअघि कलेजमा राजस्व अनुसन्धान विभागले पनि छापा मारेको थियो।