जैनुद्दीन र बसरुद्दीनको मेडिकल कलेजमा दाेस्राे पुस्ता छिरेपछि विवाद, दाजुभाइ एकअर्कालाई सुरक्षा थ्रेट

सविन ढकाल
२०८० फागुन २४ गते ०९:०१ | Mar 7, 2024
जैनुद्दीन र बसरुद्दीनको मेडिकल कलेजमा दाेस्राे पुस्ता छिरेपछि विवाद, दाजुभाइ एकअर्कालाई सुरक्षा थ्रेट

वीरगंज। फागुन १८ गते काठमाडौं पुगेर नेसनल मेडिकल कलेज वीरगंजका संस्थापक अध्यक्ष डा. जैनुद्दीन अन्सारीले गृहसचिव दिनेश भट्टराईसँग आफ्नो सुरक्षाका लागि अंगरक्षक (पीएसओ) उपलब्ध गराइदिन अनुरोध गरे। दाजु जैनुद्दीनभन्दा केही दिनअघि मात्र भाई बसरुद्दीन अन्सारी पनि काठमाडौं पुगेका थिए।

Tata
GBIME
Nepal Life

उनले पनि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफूलाई ज्यानको खतरा भएको भन्दै पीएसओ मागे। दाजुभाइ दुवैको सुरक्षा ‘थ्रेट’ अरु कोही नभएर उनीहरु आफैं एकअर्काका लागि हुन्। यसअघि उनीहरुले पर्सा जिल्ला प्रशासनसमक्ष पनि आफ्नो सुरक्षा खतरामा रहेको भन्दै निवेदन दिएका थिए।

करिब २५ वर्षअघि सहोदर जैनुद्दीन र बसरुद्दीनले मिलेर थालेको नेसनल मेडिकल कलेजद्वारा आर्जित सम्पत्तिलाई लिएर भइरहेको झगडाको उत्कर्ष हो, यो सिनेमाजस्तो लाग्ने घटनाक्रम। करिब १० करोडबाट सुरु गरेर एक हजार करोड (१० अर्ब) रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेका यी दाजुभाई अहिले त्यही सम्पत्तिका लागि मारामार गरिरहेका हुन्।

विवादको बिजारोपण

वीरगंज नजिकैको प्रसौनी बिर्ता गाउँका सम्पन्न परिवारका प्रभावशाली मानिने आशिक हुसेन अन्सारीका चारमध्ये क्रमशः जेठा र साहिँला छोरा हुन्, जैनुद्दीन र बसरुद्दीन। माहिला र कान्छाचाहिँ नसरुद्दीन र ताजुद्दीन हुन्। डा. जैनुद्दीनका अनुसार, बाबु जीवितै छँदा उनीहरुको कानुनी रूपमा अंशबन्डा भइसकेको हो।

जेठा र त्यसबेलाका नाम चलेका शल्य चिकित्सक मात्रै होइन, चल्तीको ‘वीरगंज नर्सिङ होम’का सञ्चालक पनि थिए जैनुद्दीन। उनैको संरक्षकत्व र दिशानिर्देशमा माहिला र कान्छा भाईले औषधिको कारोबार सुरु गरे, जो अहिले त्यसैमा स्थापित छन्। बसरूद्दीनचाहिँ औषधिको कारोबार गर्न काठमाडौं हिँडे। क्षेत्रपाटीमा केही वर्ष व्यवसाय त गरे तर व्यवहार बिग्रेपछि उनले फेरि वीरगंजै फर्किने सोच बनाए। यो ठिक त्यही बेला हो, जतिबेला जैनुद्दीन वीरगंजमा मेडिकल कलेज स्थापनाका लागि सक्रिय थिए। उनले बसरुद्दीनलाई वीरगंज बोलाए र मेडिकल कलेजको काममा लगाए ।

त्यसयता जैनुद्दीन र बसरुद्दीन सँगसँगै छन्। २०५६ सालमा नेसनल मेडिकल कलेजको स्थापनादेखि त्यसको संचालन एवं व्यवसायको काठमाडौंमा विस्तारसम्म उनीहरूले मिलेरै काम गरे। जैनुद्दीन व्यवसाय विस्तारको नीति रणनीति बनाउने प्राज्ञिक काम गर्थे भने बसरूद्दीनको जिम्मेवारीमा व्यवसायको सुचारु संचालन, परिचालन एवं व्यवस्थापनसम्बन्धी कार्य थियो।

हुन पनि बसरूद्दीनले साम, दाम, दण्ड, भेदको नीति लिएरै चौबिस वर्ष कलेज संचालन गरे। राजनीतिक रूपमा कांग्रेसबाट माओवादी र अहिले एमाले बनेका उनको घाट–घाटका पानी पियाईले कलेज र उनका दाजुलाई लाभ नै पुगेको छ। 

सँगसँगै काम गरेको दुई दशक नाघेपछि दाजुभाईका छोराछोरी पनि हुर्किए। स्वाभाविक थियो, बाबुले चलाइरहेको व्यवसायमा जैनुद्दीनका छोरा शाहनवाज र चारमध्ये तीन छोरी पनि प्रवेश गरे। र, दाजुभाईबीच झगडाको खास कारण नै यही हुन पुग्यो। किनकि काकाको कार्यशैली भतिजा–भतिजीलाई मन परेन र उनीहरुको काम गराइ बसरुद्दीनलाई ठिक लागेन।

बसरुद्दीन भन्छन, ‘सधैं दाईले अह्राएको काम गर्दै आएँ, मान्छेको गाली आलोचना सहेँ, निसाना बनेँ। अझ उल्टै मैँमाथि अनेक लान्छना लगाइए, मलाई दुखित बनाइयो।’

बसरुद्दीन अन्सारी

यसैबीच जैनुद्दीनका दुई छोरीको अन्तरजातीय विवाह भयो। त्यो विवाहले पारिवारिक कलहको आगोमा झन घिउ थपिदियो। त्यसपछि त चार दाजुभाईमध्ये जैनुद्दीन एकातिर र बाँकी तीन भाई अर्कातिर हुन पुगे। डा. जैनुद्दीन आफैँ भन्छन्, ‘त्यो विवाहयता उनीहरूले मलाई एक्ल्याएका छन्।’

सम्पत्तिमा दाबी

अन्सारी परिवारको स्वामित्वमा रहेको वीरगंजको नेसनल मेडिकल कलेज नै अहिलेको झगडाको मूल विषयवस्तु हो। बसरूद्दीनका भनाइमा, कागजपत्रमा जे लेखिएको भए पनि दुई दाजु–भाईको आधा–आधा हिस्सा लाग्ने समझदारीअनुसार व्यवसाय विस्तार गर्दै लगिएको हो।

अन्सारी दाजुभाईले कोहिनूर इन्भेष्टमेन्ट कम्पनीमार्फत काठमाडौं जोरपाटीको नेपाल मेडिकल कलेजको करिब ५१ प्रतिशत सेयर मात्रै किनेका छैनन्, डिल्लीबजार घट्टेकुलोस्थित संचालनमा आउन नसकेको काठमाडौं नेसनल मेडिकल कलेज पनि उनीहरूकै हो। कानुनी रुपमा कोहिनूर इन्भेष्टमेन्टमा बसरूद्दीनको ३० प्रतिशत सेयर छ। घट्टेकुलोको २५ प्रतिशत सम्पत्ति उनको हो। त्यसैले यी दुई सम्पत्तिमा विवाद छैन।

रह्यो माउ संस्था, नेसनल मेडिकल कलेज वीरगंजको, जसमा बसरूद्दीनको ५० प्रतिशतको हक दाबी छ। तर, कानुनी तवरमा भने उनी १० प्रतिशतका मात्रै अंशियार हुन्। 

कारोबारमा जैनुद्दीनका छोराछोरीको प्रवेशपश्चात बसरूद्दीनको भूमिका खुम्चिँदै गयो र उनी चिढिँदै गए। नेपाल मेडिकल कलेज अत्तरखेलमा कार्यरत छोरीको विवाहपछि उनलाई दिइएको भनिएको रकमले पनि दाजुभाईबीच खटपट निकै बढाएको देखिन्छ।

जैनुद्दीनका कान्छा भाई ताजुद्दीनका भनाइमा, जैनुद्दीनले ती छोरीलाई ६५ करोड रूपैयाँ दिएका छन्। भन्छन्, ‘जैनुद्दीन–बसरूद्दीन आधा–आधाको अंशियार हुँदा छोरीलाई दिएको रकममा बसरूद्दीनको भागबाट पनि साढे ३२ करोड गयो। झगडा बढाउने महत्त्वपूर्ण कारक यही हो।’ तर, जैनुद्दीन भने यसको ठाडै प्रतिवाद गर्छन्, ‘त्यसरी पैसा दिएकै छैन, जे मन लाग्यो त्यही बोलेर हिँडेका छन्। हुँदै नभएको कुरा गरिरहेका छन्।’  

डा. जैनुद्दीन अन्सारी

नेसनल मेडिकल कलेज प्रालिमा सुरूमा एकल संचालक डा. जैनुद्दीन मात्र रहेको कागजातहरूबाट देखिन्छ। कम्पनी २०५६ सालमा दर्ता भए पनि २०६१ असार २५ मा मात्रै बसरूद्दीनका नाममा १० प्रतिशत सेयर छुट्ट्याइएको प्रमाणित गरिएको छ। जैनुद्दीन भन्छन्, ‘कानुनी रूपमा मैले सेयर दिनुपर्छ भन्ने छैन तर पनि मलाई सहयोग गरेको र सहोदर भाई भएकाले सस्नेह मैले १० प्रतिशत उसका नाममा गरिदिएको हो।’

कटौतीमा कार्यभार

अत्तरखेलको नेपाल मेडिकल कलेजको आधा स्वामित्व लिएपछि बसरूद्दीनको कार्यभार दुईतिरै बाँडियो। अत्तरखेल कलेजमा उनी प्रबन्ध निर्देशक थिए भने वीरगंज कलेजको त उनी प्रबन्ध सन्चालक छँदै थिए। मनमुटावले भुसको आगोको स्वरूप लिँदै गर्दा उनी नेसनल मेडिकल कलेजको जिम्मेवारीबाट मुक्त गरिए।

जैनुद्दीन पक्ष एउटा मान्छेले दुईवटा कम्पनी काम गर्न र पारिश्रमिक लिन कानुनी रुपले नमिल्ने भएकाले उनलाई अत्तरखेल कलेजकै काममा केन्द्रीत हुन भनिएको तर्क गर्छ। जिम्मेवारी कटौती गर्ने दाजुको यो निर्णयपछि बसरूद्दीन क्रुद्ध हुन पुगे। जैनुद्दीनको दाबी त कतिसम्म छ भने त्यसपछि भाईले उनलाई कार्यालयमै आएर गालामा थप्पडै हिर्काए, गर्नुसम्म दुर्व्यवहार गरे। भन्छन्, ‘त्यसयता मलाई फोनमा लगातार धम्कीहरू आइरहेका छन्।’

यस अघि, नेसनल मेडिकल कलेजको ९० प्रतिशत स्वामित्व भएका जैनुद्दीनले गएको साउन महिनामै आफ्ना छोराछोरीलाई ४५ प्रतिशत सेयर हिस्सा बाँडफाँट गरिसकेका थिए। जसअन्तर्गत छोरा शाहनवाजलाई १५ प्रतिशत र छोरीहरु नुशरत जहाँ,  इशरत जहाँ र निकहत यास्मिन प्रत्येक १०–१० प्रतिशतका सेयरधनी भए।

झगडा झन–झन बढ्दै गयो। अन्ततः नेपाल मेडिकल कलेज अत्तरखेलको प्रबन्ध निर्देशकको जिम्मेवारीबाट पनि बसरूद्दीन मुक्त गरिए। अब उनी त्यहाँ लगानी गर्ने कोहिनूर इन्भेष्टमेन्ट कम्पनीको लगानीकर्तामा मात्रै सीमित हुन पुगे।

यसपछि बसरूद्दीन थप आक्रामक हुँदै गए। अत्तरखेल र वीरगंजका कलेजमा विद्यार्थी र कर्मचारीका आन्दोलन सुरु भए। विद्यार्थी–कर्मचारीलाई उचालेर बसरूद्दीनले आन्दोलन गराएको जैनुद्दीन पक्षले आरोप लगायो।

यसैबीच फागुन ४ गतेदेखि लागू हुने गरी नेसनल मेडिकल कलेजको संचालक समितिमा हेरफेर भएको सूचना जारी गरियो। नयाँ संचालक समितिमा डा. जैनुद्दीन अन्सारी अध्यक्ष, छोरा शाहनवाज प्रबन्ध निर्देशक र छोरी नुशरत जहाँ संचालक कायम हुन पुगे। यो निर्णयपश्चात बसरूद्दीन अल्पमतका सेयर लगानीकर्तामा सीमित हुन पुगे।

अनि, यसपछि आरोप–प्रत्यारोपको सिलसिला तीव्र भयो। नयाँ संचालक समितिले पत्रकार सम्मेलन नै गरेर १० प्रतिशत सेयरबाहेक बसरूद्दीनको कानुनी रूपमा अरु केही नरहेको बतायो। त्यसपछि बसरूद्दीन पनि कागजमा जे लेखिए पनि आफ्नो ५० प्रतिशत हिस्सेदारी रहेको भन्दै सञ्चारमाध्यममा छाइरहे।

संवादको सिलसिला 

चार दिन अघिसम्म आफ्ना दाजुविरूद्ध आगो ओकलिरहेका बसरूद्दीन गत शुक्रबार फागुन १८ मा एकाएक नम्र देखिए। बिजमाण्डूसँगको कुराकानीका दौरान उनी भन्दै थिए, ‘घर–घरमा झगडा छ, कसको घरमा छैन? मेरो दाई सीधा मान्छे हो, कसैले उहाँलाई प्रयोग गरेर मेरो राजनीतिक र सामाजिक जीवन सिध्याउन खोजेको छ।’ 

बसरूद्दीनको नम्र प्रतिक्रिया आउनुको कारण थियो, दुई दाजु–भाईबीचको भेटघाट र छलफल। उनीहरूकै भान्जाको मध्यस्थतामा भइरहेको संंवाद झगडा सुल्झाउने बाटोको खोजीमा छ।

दुवैले सुरक्षा थ्रेट बताए। प्रशासनमा जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालयले दुवैलाई फागुन १५ मा छलफलका लागि बोलायो। कलेजमा अध्ययनरत विद्यार्थीको भविष्य र उपचारका लागि आउने बिरामीको हकमा संवेदनशील भएर समस्या समाधान गर्न सुझाइएपछि उनीहरूबीच संवादको सिलसिला सुरु भएको हो।

यो कलहको समाधान अब अलग्गिनेबाहेक कुनै अर्को विकल्पबाट हुनेमा चाहिँ दाजुभाईलाई नै विश्वास छैन। स्वयं बसरूद्दीन भन्छन्, ‘हामी त सँगै बस्यौं तर नयाँ पुस्ता अब मिलेर जान सक्दैन, उनीहरुको सोच नै अलग छ, नयाँ ढंगको छ।’   

२ सय ५० करोडको प्रस्ताव

कुराकानीको शृंखला सुरू भएपछि के कति कसरी लेनदेन गर्ने भन्नेतर्फ छलफल अघि बढेको छ। कानुनी रूपमा अघि बढे १० प्रतिशतभन्दा बढी हात पर्न नसक्नेमा बसरूद्दीन पनि सचेत भएकाले हुनसक्छ, उनी नरम भएर कुराकानीमा अघि बढेका। ताजा छलफलमा उनले दाजुसँग एउटा मेडिकल कलेजको पूरै स्वामित्व आफूलाई दिन माग गरेका छन्।

तर, जैनुद्दीन त्यसका लागि तयार देखिँदैनन्। उनी बिक्रीमा रहेको रुपन्देहीको देवदह मेडिकल कलेज किन्न र त्यसका लागि चाहिने सुरूको ५० करोड रूपैयाँ दिन राजी छन्। साथै घट्टेकुलोको काठमाडौं नेसनल मेडिकल कलेज पूरै बसरूद्दीनको नाममा गरिदिने प्रस्ताव पनि उनको छ, जो उनैका भनाइमा करिब २ सय करोड बराबरको हो। भन्छन, ‘यो मेरो अफर हो, लेनदेन गरेर हामी आ–आफ्नो बाटो लाग्न सक्छौं।’  

प्रस्ताव अघि सारेर जैनुद्दीनले आफ्नो तुरुप खोलेका छन्। उता बसरूद्दीनले पनि कानूनी लडाइभन्दा सरसल्लाहमै विवाद टुंग्याउन चाहेको देखिन्छ। भन्छन्, ‘हामी चारै दाजुभाई बसौं, सरसल्लाह गरौं, उहाँ त मेरो अभिभावक पनि हो, सबैको सहमतिमा उहाँले जे–जति दिनुहुन्छ, म मान्न तयार छु।’

ताजउद्दीन अन्सारी

बसरूद्दीनले चारै दाजुभाईको सहमतिको कुरा चलाखीपूर्वक उठाएका छन्। किनकी उनीहरू तीन भाई एकातिर छन्। त्यसमध्ये कान्छा ताजुद्दीनले त जैनुद्दीन र बसरूद्दीनलाई आधा–आधा भाग लाग्नुपर्ने भनिसकेका छन्।

यसको अर्थ हो, बसरूद्दीनले दाजुलाई सकेसम्म गलाउन चाहिरहेका छन्। जैनुद्दीनले पनि २ सय ५० करोडबाट वार्ता सुरू गरेकाले त्यसमा थप्न सक्छन्। त्यसैले दुवैको मिलनबिन्दु कतै बीचमा फेला पर्नसक्छ। यति भयो भने उनीहरू आफैंले एक अर्कालाई देखेको सुरक्षा थ्रेट पनि थान्को लाग्नेछ।