हिमालयन रिको सेयर कारोबारमा अस्वाभाविक उछाल, डेढ घन्टामा १ अर्ब २२ करोडमाथि

बिजमाण्डू
२०८० माघ ४ गते १२:४९ | Jan 18, 2024
हिमालयन रिको सेयर कारोबारमा अस्वाभाविक उछाल, डेढ घन्टामा १ अर्ब २२ करोडमाथि

काठमाडौं। बिहीबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबार ऐतिहासिकरूपमा उच्च भएको छ। कारोबार समय १२:३० सम्म कम्पनीको कारोबार १ अर्ब रुपैयाँमाथिको भएको हो।

Tata
GBIME
Nepal Life

नेप्सेका अनुसार यस अवधिसम्म कम्पनीको १ अर्ब २२ करोडमाथिको सेयर किनबेच भएको छ। हिमालयन रि केही साताअघि सार्वजनिक निष्कासन गरेर नेप्सेमा सूचीकृत भई पुस २३ गतेबाट दोस्रो बजारमा कारोबारमा आएको कम्पनी हो। कम्पनी प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरि दोस्रो बजार कारोबारमा सूचीकृत भएको थियो।

कारोबारमा आएदेखि नै निरन्तर बढिरहेको कम्पनीको सेयर मूल्य प्रति कित्ता ६२६ रुपैयाँसम्म पुगेको थियो। आज समग्र बजारमा बिक्री चाप छ। कम्पनीको सेयर मूल्य घट्न सुरु गरेलगत्तै ठूलो परिणाममा कम्पनीको सेयरको सप्लाई आउँदा कारोबार बढी भएको ब्रोकरहरुको भनाइ छ।

‘आज कम्पनीको सेयर मूल्य थोरै घट्नेवित्तिकै एकदमै ठूलो परिमाणको सेलिङ प्रेसर आएको थियो,’ एक ब्रोकरले भने।

स्रोत:नेप्से

यस समाचार तयार पार्दा सम्म कम्पनीको २० लाख ७० हजार ३९४ कित्ता साधारण सेयर खरिदबिक्री भएको छ। कम्पनीको सेयर ४ लाख ४६ हजार ९४४ कित्ता खरिदका लागि अर्डर आएको छ। भने बिक्रीका लागि १ लाख २९ हजार ३०७ कित्ता राखिएको छ।

सेलिङ प्रेसरका कारण झरेर ५५८ रुपैयाँसम्म पुगेको यस कम्पनीको सेयर मूल्य पुनः बढेर ६०५ रुपैयाँसम्म पुगेको छ।