बीमा कम्पनीबीच पोलिसी बेच्न ‘कर्पोरेट वार’, एकै प्रकारका प्रडक्टमा फरक-फरक अफर

सुनिल कुँवर
२०८० माघ ३ गते ०६:४८ | Jan 17, 2024
बीमा कम्पनीबीच पोलिसी बेच्न ‘कर्पोरेट वार’, एकै प्रकारका प्रडक्टमा फरक-फरक अफर

काठमाडौं। प्रडक्ट सेलमा बीमा कम्पनीहरूबीच प्रतिस्पर्धा देखिएको छ। व्यावसायिक प्रतिस्पर्धामा कम्पनीहरूले एकै प्रकारका प्रडक्ट फरक-फरक अफरसहित बिक्री गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

इनोभेटिभ प्रडक्ट ल्याएर ग्राहक आकर्षित गर्नभन्दा आश्‍वासनयुक्त पोलिसी बिक्री गर्नमै कम्पनी केन्द्रित छन्। निश्‍चित अवधिमा बीमा गरेको रकम दोब्बर हुने, ऋण सुविधा पाइने, एक गुणा लगानी गरेर तीन गुणा प्रतिफल पाइने जस्ता नारा दिएर पोलिसी बेच्न कम्पनी उद्धत छन्।

नेपाल लाइफ इन्स्योरेन्सले अनमोल जीवन बीमा योजना अन्तर्गत एक पटक लगानीमा दुई पटकको भुक्तानी पाइने दाबी गरेको छ। उसले एक गुणा लगानीमा बीमाङ्कको तीन गुणा रकम पाइने अर्को योजना अघि सारेको छ।

सिटिजन लाइफले वार्षिक अग्रिम भुक्तानी बीमा योजना अन्तर्गत ‘वार्षिक धन फिर्ता योजनाको उपहार, उच्चतम् प्रतिफलको आधार’ नारा सहित पोलिसी ब्रिकी गरिरहेको छ।

नेशनल लाइफले यही प्रकृतिको पाेलिसी ‘तोकिएको रकम अग्रिम भुक्तानीका लागि, अमृत वर्षा अग्रिम भुक्तानी सावधिक बीमा योजना’ नारा दिएर बिक्री गरिरहेकाे छ।

एसियन लाइफ इन्स्योरेन्सले ‘एसियन सावधिक प्लस, बीमा एक फाइदा अनेक’ नारा दिएर थप बोनस र बचतको दाबी सहित बीमा प्रडक्ट बेचिरहेको छ।

हिमालयन लाइफको हिमालयन धन सागर अग्रिम भुक्तानी सावधिक जीवन योजना छ। सूर्यज्योतिले धनलाभ जीवन बीमा लेख बिक्री गरिरहेको छ। एकै प्रकारका पाेलिसी बेच्न कम्पनीहरुले दर्जन बढी याेजना अघि सारेकाे उनीहरुले सार्वजिनक गरेका बीमा याेजनाबाट देख्न सकिन्छ।

बीमा कम्पनीहरुका यी याेजना केही उदाहरण मात्रै हुन्। सबैजसाे कम्पनीले एकै प्रकारका बीमालेख दर्जन बढी याेजनाकाे रुपमा बिक्री गरिरहेका छन्।

आश्‍वासनयुक्त पोलिसी बिक्रीमा निर्जीवनभन्दा जीवन बीमा कम्पनी अगाडि देखिन्छन्। बीमा कम्पनीले व्यवसाय बढाउन अनियन्त्रित रूपमा अभिकर्ता बनाउने तर तिनले बिक्री गरेका पोलिसी बीमितले बिचमै सरेन्डर गर्ने हुँदा बीमाको लागि उल्टै चुनौती बनेको छ।

अर्कोतिर, कम्पनीहरूले व्यावसायिक प्रतिस्पर्धाको नाममा बीमितलाई झुक्याउने गरी प्रडक्ट बेचिरहेको पनि पाइन्छ।
सानिमा रिलायन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे बजारको लिमिटेसन र इनोभेटिभ प्रडक्टको अभावमा एकै प्रकारका प्रडक्ट बिक्री गरिरहेको बताउँछन्।

कम्पनीहरूले बीमासम्बन्धी सचेतना कमजोर भएको फाइदा उठाउँदै व्यवसाय बढाउन अनेकन नाममा प्रडक्टको मिससेलिङ गरिरहेको देखिन्छ। बीमा कम्पनीबीच व्यवसाय बढाउन कर्पोरेट लडाइँ देखिँदा नियमनमा भने प्राधिकरण उदासीन छ।

Photo: Reuters

‘बीमा बजारमा नयाँ प्रडक्टको अध्ययन, अनुसन्धान गर्ने चलन देखिँदैन। यसको कारण बजारको लिमिटेसन पनि हो,’ उनले भने।

व्यवसाय बढाउन बीमा कम्पनी बिचको कर्पोरेट वारले बजारमा मिससेलिङको जोखिम बढ्दो छ। व्यावसायिक प्रतिस्पर्धामा आश्‍वासनयुक्त बीमालेख बिक्री गर्दा बर्सेनि पोलिसी सरेन्डरको क्रम बढ्दो रहेको बीमा प्राधिकरणका अधिकारीहरू बताउँछन्।

कम्पनीले मार्केटिङ गर्ने कर्मचारी, अभिकर्ताहरूलाई निश्‍चित टार्गेट दिने र उनीहरूले पोलिसी बिक्री अनुसार बोनस पाउने भएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा समेत बढ्दो छ। प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल व्यवसाय बढाउन बीमा कम्पनीबीच प्रतिस्पर्धा र कतिपय अवस्थामा मिससेलिङ पनि देखिएको स्वीकार्छन्।

‘कम्पनीले यो बीमालेखको यति बोनस र त्यसपछि यति रकम पाउँछ भन्‍न मिल्छ। तर, दोब्बर हुन्छ भनेर मिससेलिङ गर्न पाउँदैन। मार्केटिङ गर्दा मिससेलिङ गर्न भएन,’ उनले भने।

कम्पनीहरूले बीमासम्बन्धी सचेतना कमजोर भएको फाइदा उठाउँदै व्यवसाय बढाउन अनेकन नाममा प्रडक्टको मिससेलिङ गरिरहेको देखिन्छ। बीमा कम्पनीबीच व्यवसाय बढाउन कर्पोरेट लडाइँ देखिँदा नियमनमा भने प्राधिकरण उदासीन छ।

‘अहिले पनि बीमा बचतका लागि नभएर जोखिमका लागि हो भन्‍ने धेरैले बुझेका छैनन्। खासगरी जीवन बीमा कम्पनीले यसको फाइदा उठाएर गलत रूपमा पोलिसी बेचिरहेका हुन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘नियमनका लागि प्राधिकरणको नेतृत्व तयार छैन। एक/दुई जना कर्मचारी पठाएर केही हुँदैन।’

कम्पनीले बजारमा नयाँ प्रडक्ट ल्याउनुअघि प्राधिकरणको स्वीकृति लिनुपर्छ। उक्त प्रडक्टको बिमाङ्कीय गराएपछि मात्रै बजारमा बेच्न पाउँछन्। तर, प्रडक्टको मिससेलिङमा भने नियामक बेखबर छ।

कार्यकारी निर्देशक पौडेलले बीमा बजारको अस्वस्थ प्रतिस्पर्धा हटाउन प्राधिकरणले कडाइ गरेको दाबी गरे।

‘अस्वस्थ प्रतिस्पर्धा हटाउनकै लागि उधारो बीमा बन्द नै गरिएको छ। यसले गर्दा पछिल्लो समय बीमा बजारमा केही शिथिलता भएको पनि देखिन्छ,’ उनले भने, ‘दर र क्यास ब्याकको विषयमा नभएर सेवामा प्रतिस्पर्धा गर भन्‍ने प्राधिकरणको धारणा हो।’