सूर्य दर्शन सहकारीका उपाध्यक्ष पक्राउ, अध्यक्ष लगायत अन्यलाई इन्टरपोलको सहयोगमा खोजी

बिजमाण्डू
२०८० पुष १३ गते १४:२९ | Dec 29, 2023
सूर्य दर्शन सहकारीका उपाध्यक्ष पक्राउ, अध्यक्ष लगायत अन्यलाई इन्टरपोलको सहयोगमा खोजी

काठमाडौं। सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्।

Tata
GBIME
Nepal Life

सहकारी ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले रामेछाप लिखु तामाकोशी गाउँपालिका घर भएका ३८ वर्षीय दर्लामीलाई पक्राउ गरेको हो।

पोखरा महानगरपालिका वडा नम्बर ४ नालाकोमुखमा संचालनमा रहेको सहकारीका पदाधिकारीले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको भन्दै ठगीको उजुरी परेको थियो।

बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको हो। गत साउन २२ गते उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

१ हजार ३६ जनाले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। जसमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका छन्। प्रहरीले अध्यक्षसहित १९ जनालाई प्रतिवादी बनाएको छ। सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) भने फरार छन्। उनी मलेसियामा लुकेको प्रहरीको शंका छ।