नेपाल टेलिकमको ब्यान्डविथको सवा अर्बको ठेक्का टाटालाई, प्रति एमबी १.९४ डलर

बिजमाण्डू
२०८० साउन २९ गते १३:१४ | Aug 14, 2023
नेपाल टेलिकमको ब्यान्डविथको सवा अर्बको ठेक्का टाटालाई, प्रति एमबी १.९४ डलर

काठमाडौं। नेपाल टेलिकमको ब्यान्डविथ ठेक्का १ अर्ब १८ करोड रुपैयाँमा सिंगापुरको टाटा कम्युनिकेसन्स इन्टरनेशनलले पाएको छ। तीन वर्षको ब्यान्डविथ आपूर्तिको ठेक्का टाटाले पाएको हो।

Tata
GBIME
Nepal Life

टेलिकमको ब्यान्डविथ लिन टाटासँगै अरु दुई कम्पनी पनि प्रतिस्पर्धामा थिए। भारती एयरटेल र रिलायन्स जिओ इन्फोकमलाई उछिन्दै टाटाले कुल हिस्साको ६० प्रतिशत ब्यान्डविथ आपूर्ति गर्न पाएको हो। तर, ठेक्का सम्झौता भने भइसकेको छैन। टाटाले टेलिकमलाई प्रतिएमबी १.९४ डलरमा ब्यान्डविथ बेच्‍नेछ।

अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिदका लागि टेलिकमले गत चैत १६ मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा (आइसीबी) टेण्डर आह्‍वान गरेको थियो। आगामी ३ वर्षका लागि टेलिकमले ब्यान्डविथ आयात गर्न ठेक्का निकालेको थियो।

टेण्डरमा प्राविधिकरुपमा ३ वटा कम्पनी योग्य देखिएका थिए। ठेक्का दिन टेलिकमले जेठ १७ मा ठेक्काको मूल्य पेस गर्न भनेको थियो। प्राविधिकरुपमा छानिएका तीन वटै कम्पनीले मूल्य प्रस्ताव गरे।

टेलिकमले तीनवटै कम्पनीले पेस गरेको ठेक्का मूल्य जेठ ३२ मा ती कम्पनीका प्रतिनिधि राखेर सार्वजनिक गरेको थियो।

टाटाले कुल १ करोड ४९ लाख ६४ हजार अमेरिकी डलर मूल्यसहित ठेक्का हालेको थियो। भारती एयरटेलले १ करोड ८६ लाख ६१ हजार डलर र रिलायन्स जिओले २ करोड ४८ लाख ३९ हजार १८० अमेरिकी डलर मूल्य बिड गरेको थियो।

टाटासँग सम्झौता भएपछि बाँकी ४० प्रतिशत ब्यान्डविथको ठेक्का भारती एयरटेलले पाउने छ। टाटापछि सबैभन्दा कम मूल्य एयरटेलले बिड गरेको थियो। 

तस्विर: मिन्ट

टेन्डरअनुसार प्राविधिकरुपमा योग्य कम्पनीमध्ये जसले सबैभन्दा कम मूल्य कबोल गर्छ उसले कुल ब्यान्डविथको ६० प्रतिशत र दोस्रो कम मूल्य कबोल गर्ने कम्पनीले बाँकी ४० प्रतिशत आपूर्ति गर्नुपर्छ। टेलिकमले पहिलो कम्पनी (टाटा) ले कबोल गरेकै मूल्यमा ब्यान्डविथ बिक्री गर्न दोस्रो कम्पनी एयरटेललाई आग्रह गर्नेछ।

नेपाल दूरसंचार प्राधिकरणमा नेटवर्क सेवा प्रदायक (एनएसपी) को लाइसेन्स लिनेको संख्या २१ छ। एनएसपीको अनुमति पाएका कम्पनीहरुले मात्रै नेपालमा ब्यान्डविथ आयात गर्न पाउँछन्। 

मर्कन्टाइल कम्युनिकेसन्स, कम्युनिकेन्सन्स एण्ड कम्युनिकेट, वर्ल्डलिंक, वेबसर्फर नेपाल, सुबिसु केबलनेट, सीता बीभी, ब्रोडलिंक नेटवर्क, क्लासिक टेक, टेकमाइन्ड्स, नेपाल डिजिटल सर्भिस, एनसेल, भायनेट, नेपाल इन्फ्र एण्ड कम्युनिकेसनले एनएसपीको लाइसेन्स पाएका छन्। 

यस्तै, पर्सा टेलिकम्युनिकेसन, बाराही इन्टरनेट, फर्स्टलिंक कम्युनिकेसन्स, डिस मिडिया नेटवर्क, सीजी कम्युनिकेसन्स, फाइबर वर्ल्ड कम्युनिकेसन, स्पेस लिंक र आइटेल नेटवर्कले एनएसपीको अनुमति लिएका छन्। टेलिकमसँग भने एनएसपीको लाइसेन्स छैन।

नेपाललाई अहिले १० गिगाबाइट ब्यान्डविथ भए पुग्छ। तर, वर्ल्डलिंक, मर्कन्टाइल, सुबिसुलगायतका स्वदेशी कम्पनीहरुले १ टेराबाइट हाराहारी ब्यान्डविथ किनेर राखेका छन्। यी कम्पनीहरुले एकदम सस्तोमा टाटा, एयरटेल, रिलायन्सलगायतका कम्पनीहरुबाट ब्यान्डविथ किनेर राखिरहेका छन्।

स्रोतका अनुसार टेलिकमलाई प्रतिएमबी १.४ डलरमै नेपाली कम्पनीहरुले ब्यान्डविथ बेच्‍न तयार देखिन्छन्। यी कम्पनीहरुले प्रतिएमबी १.५ डलरसम्ममा ब्यान्डविथ किनेका छन्। तर ठेक्का प्रक्रियामा यी कम्पनीहरु भाग लिनै नपाउने प्रावधान छन्।