स्मार्ट फोनको कारोबारमा पनि चरम मन्दी, ७३%ले घट्यो आयात, राजस्व साढे ४ अर्बमा सीमित

बिजमाण्डू
२०८० साउन ९ गते २०:५४ | Jul 25, 2023
स्मार्ट फोनको कारोबारमा पनि चरम मन्दी, ७३%ले घट्यो आयात, राजस्व साढे ४ अर्बमा सीमित

काठमाडौं। घर-जग्गा जस्तै स्मार्ट फोन बजारमा पनि चरम मन्दी देखिएको छ। स्मार्ट फोनको आयात गत वर्ष ७३ प्रतिशतले घटेको छ।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्ष १५ लाख ५९ हजार थान स्मार्ट फोन नेपाल भित्रिएको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८/७९ को भन्दा ४२ लाख कम हो। आयात घट्दा सरकारले राजस्व पनि गुमाएको छ।

गत आवमा २४ अर्ब ३९ करोड रुपैयाँ बराबरका १५ लाख ५९ हजार थान स्मार्टफोन आयात गरिएका छन्। त्यस बापत सरकारले ४ अर्ब ५५ करोड रुपैयाँ भन्सार संकलन गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा ४० अर्ब ८९ करोड रुपैयाँ बराबरका ५७ लाख ६३ हजार थान स्मार्ट फोन आयात गरिएका थिए।

त्यस बापत सरकारले ६ अर्ब ५४ करोड रुपैयाँ भन्सार संकलन गरेको थियो। मूल्यका आधारमा गत वर्ष अघिल्लो आर्थिक वर्षभन्दा महङ्गा स्मार्टफोन आयात गरेको देखिन्छ।

मिड र प्रिमियम रेन्जका स्मार्ट फोनको बिक्री उल्लेख्य रुपमा घटेको व्यापारीले बताउँदै आएका छन्। उनीहरुका अनुसार २० हजार रुपैयाँभन्दा माथिको मूल्यका सेटको बिक्री न्यून छ। कोरोना महामारीताका स्मार्ट फोनको व्यापार निकै चम्किएको थियो। त्यति बेलाको तुलनामा अहिले ६० प्रतिशतसम्म व्यापार घटेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका उपाध्यक्ष सन्जय अग्रवालले बताए।

उपभोक्ताको क्रय शक्ति घटेकाले व्यापारमा मन्दी छाएको व्यापारीको बुझाइ छ। ‘सस्तो मूल्यका स्मार्ट फोनको बिक्रीमा धेरै असर नपरे पनि मिड र हाइ रेन्जको बिक्रीमा गहिरो मन्दी छ। २० हजार रुपैयाँ माथिका फोनको बिक्री नै छैन,’ अग्रवालले भने।

एकातर्फ माग नभएर बिक्री घट्दा अर्कातर्फ स्मार्टफोनको अवैध आयात बजारका लागि ठूलो चुनौती बनेको छ। अवैध आयात रोक्न नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याए पनि त्यो प्रभावकारी भएको देखिँदैन।

प्राधिकरणले ब्ल्याक लिस्टिङ गर्ने काम अझै सुरु नगरेकाले बजारमा अवैध रुपमा आयात गरिएका फोनसेट बिक्री वितरण भइरहेको अग्रवालले बताए। व्यापारीहरुले फोनको व्यापारमा तत्कालै सुधारको सम्भावना देखेका छैनन्।

५ वर्षमा कति आयात भयो मोबाइल फोन?

भन्सार विभागको तथ्यांक अनुसार आव २०७५/७६ मा ४२ लाख ७५ हजार थान फोन आयात भएको थियो। ती फोन १९ अर्ब २७ करोड रुपैयाँ बराबरका थिए।

आव २०७६/७७ मा आयात केही घट्यो। त्यो वर्ष १८ अर्ब १७ करोड रुपैयाँ बराबरका ४३ लाख ६५ हजार थान मोबाइल फोन आयात भए। आव २०७७/७८ मा आयात ह्वात्तै बढ्यो। त्यो वर्ष ३७ अर्ब ९० करोड रुपैयाँका ७० लाख ३० हजार थान मोबाइल भित्र्याइएको भन्सारको तथ्यांक छ।

विभागले आव २०७८/७९ को अन्तिमबाट स्मार्टफोन आयातलाई छुट्टै एचएस कोड दिएर तथ्यांक सार्वजनिक गर्न थाल्यो।त्यसअघि ८५१७१२०० एमएसकोडमा सेलुलर फोनसहित स्मार्टफोनलाई समावेश गर्ने गरिएको थियो। एक वर्षदेखि भने ८५१७१३०० मा स्मार्टफोनको तथ्यांकलाई छुट्टै समावेश गरिँदै आएको छ।

दुवै एचएसकोडलाई आबधार मान्दा भने गत वर्ष २६ अर्ब ५१ करोड रुपैयाँबराबरका ३९ लाख ३५ हजार थान मोबाइल आयात भएको देखिन्छ।