सामाजिक सुरक्षा कोषमा ३६ अर्ब ४४ करोड रुपैयाँ, योगदानकर्तालाई ८.६% ब्याजमै ऋण दिने

बिजमाण्डू
२०८० साउन १ गते १३:३२ | Jul 17, 2023
सामाजिक सुरक्षा कोषमा ३६ अर्ब ४४ करोड रुपैयाँ, योगदानकर्तालाई ८.६% ब्याजमै ऋण दिने

काठमाडौं। सामाजिक सुरक्षा कोषले चालु आर्थिक वर्ष २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक ७.५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा २३ अर्ब ७४ करोड ३७ लाख योगदान रकम संकलन भएको छ। 

कोष सञ्चालक समितिको बैठकले अवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा वार्षिक ८.६ प्रतिशत ब्याज लाग्ने निर्णय गरेको छ।

धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९.२५ र धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकामा १ प्रतिशत हर्जना ब्याज लिने निर्णय गरेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। 

कोषमा हालसम्म ३६ अर्ब ४४ करोड योगदान रकम संकलन भइसकेको छ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब १० करोड ४८ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनामा १ अर्ब ९८ करोड ४० लाख र अतिरिक्त योगदान शीर्षकमा ९ अर्ब ६१ करोड १५ लाख संकलन भएको कोषले जनाएको छ।

कोषमा गत असार मसान्तसम्म औपचारिक क्षेत्रका ४ लाख २३ हजार ९ सय २९ र वैदेशिक क्षेत्रका २ लाख २३ हजार ५ सय ३५ गरी कूल ६ लाख ४७ हजार ४ सय ६४ श्रमिक आबद्ध भएका छन्। 

कोषले ८९ हजार २ सय ४६ जना योगदानकर्तालाई विभिन्न सुविधा योजनाअन्तर्गत ५ अर्ब ७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।