विद्युतीय गाडीको क्रेज: दोब्बरले बढ्यो आयात, सय किलोवाट भन्दा बढीको गाडीको आयात भने कम

शुक्र गिरी/बिजमाण्डू
२०७९ मंसिर ११ गते ०५:४० | Nov 27, 2022
विद्युतीय गाडीको क्रेज: दोब्बरले बढ्यो आयात, सय किलोवाट भन्दा बढीको गाडीको आयात भने कम

काठमाडौं। चालु आर्थिक वर्षको चार महिनामा १ हजार १८ युनिट विद्युतीय कार, जीप र भ्यानहरु आयात भएका छन्।

Tata
GBIME
Nepal Life

भन्सार विभागको तथ्यांक अनुसार यो चार महिनामा विद्युतीय कार, जीप र भ्यान गरी कुल २ अर्ब ८६ करोड बराबरको १ हजार १८ वटा आयात भएका छन्। सरकारले विद्युतीय गाडीबाट ८५ करोड ६२ लाख रुपैयाँ भन्सार शुल्क उठाएको छ।

यो संख्या गत वर्षभरी आयात भएको विद्युतीय गाडीको संख्याको आधाभन्दा धेरै हो। गत वर्षभरी विद्युतीय कार, जीप र भ्यान गरी कुल ५ अर्ब ३२ करोड बराबरको १८०७ युनिट आयात भएका थिए। सरकारले यसबाट कुल १ अर्ब ४३ करोड रुपैयाँ भन्सार शुल्क उठाएको थियो।

गत वर्षको साउनदेखि कात्तिकसम्ममा विद्युतीय कार, जीप र भ्यान गरी कुल ६७३ युनिट मात्र आयात भएको थियो। तर यो वर्षको सोही समयावधिमा भने १ हजार १८ युनिट विद्युतीय गाडी आयात भइसकेका छन्।  गत वर्षको सोही अवधिको तुलनामा ३४५ युनिटले आयातमा वृद्धि हो। कात्तिक महिनामा मात्र ३१३ युनिट आयात भएका छन्। अहिले पेट्रोलियम गाडी आयातमा प्रतिवन्ध छ। त्यही भएर विभिन्न गाडी बिक्रेता कम्पनीले विद्युतीय गाडी आयातमा केन्द्रित गरेका छन्।

यो वर्ष साउनदेखि कात्तिकसम्म भारतबाट मात्रै ६८९ वटा विद्युतीय गाडी आयात भएका छन्। भारतबाट टाटाको विद्युतीय सवारी आयात हुने गरेको छ। यसैगरी कोरियाबाट १५५ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। नेपालमा कोरियाबाट हुन्डाई र कियाका गाडीहरु आयात हुने गरेका छन्।

यस्तै यो चार महिनामा चीनबाट १७० वटा मात्र विद्युतीय सवारी आयात भएका छन्। चीनमा कोभिड-१९ को कारणले लकडाउन तथा नाकाबन्दी गरिएको छ। यसले गर्दा नेपाल आयात हुने सवारीसाधनहरु बाटोमा रोकिएका छन्। चीनबाट नेपालमा बिवाइडी, एमजी लगायतका ब्रान्डका विद्युतीय गाडीहरु आयात हुने गरेका छन्।

विभागका अनुसार अमेरिकाबाट पनि यो चार महिनामा ४ वटा विद्युतीय गाडी आयात भएका छन्। अमेरिकाबाट टेस्लाको गाडीहरु नेपाल आयात हुने गरेका छन्।

यस्तै १०० किलोवाट क्षमताका विद्युतीय गाडी मात्र ९९० युनिट आयात भएका छन्।  २०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडी २५ वटा मात्र आयात भएका छन्। त्यसमा पनि ३०० किलोवाट क्षमताको ३ वटा आयात भएका छन्।

सय किलो वाट भन्दा बढी क्षमताका गाडीमा सरकारले कर बढाएकाले कम आयात भएको हो। चालु आर्थिक वर्षको बजेटमार्फत भन्सार र अन्त:शुल्क दुबै बढाएपछि ती गाडीको मूल्य अचाक्ली महँगिएको छ। त्यही कारण बिक्रीनै छैन। 

कर बढेसँगै विभिन्न विद्युतीय गाडीको मूल्य ३० देखि ७५ लाख रुपैयाँसम्म महँगिएको छ। हाल हुन्डाईको आयोनिक ५, एमजीको जेडएस इभी, बिवाइडीको एटो-३ र टेस्लाको मूल्यमा ठुलो अन्तर आएको छ। जसमा हुन्डाईको आयोनिक ५ को मूल्य १ करोड १६ लाख रुपैयाँ रहेको छ। गत वर्ष यो गाडीको मूल्य ८० लाख ९६ हजार रुपैयाँ थियो।