२० राजनीतिक दल तथा उम्मेदवारले ३० दिनमै फेसबुकमा खर्चिए २६ लाख, सूक्ष्म अध्ययनमा राष्ट्र बैंक

उन्नत सापकोटा/बिजमाण्डू
२०७९ कात्तिक २९ गते १३:०० | Nov 15, 2022
२० राजनीतिक दल तथा उम्मेदवारले ३० दिनमै फेसबुकमा खर्चिए २६ लाख, सूक्ष्म अध्ययनमा राष्ट्र बैंक

काठमाडौं। हात-हातमा मोबाइल छन्, घर-घरमा केबुल र इन्टरनेटबाट टेलिभिजन च्यानल हेर्ने प्रविधि। यसपटक दल तथा उम्मेदवारहरुले चुनाव प्रचारमा डिजिटल माध्यमलाई भरपुर प्रयोग गरिरहेका छन्। यसमा उनीहरुको खर्च केही सोसल साइटमा पारदर्शी छन् भने केहीमा अपारदर्शी देखिएको छ।

Tata
GBIME
Nepal Life

दल, उनीहरुका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले रेडियो, टेलिभिजन, छापा माध्यमसँगै इन्टरनेटका सोसल साइटबाट प्रचार गरिरहेका छन्। फेसबुक र युट्युबबाट मतदाता आकर्षित गर्न विज्ञापन गर्नेको होडबाजी छ। मोबाइलमा एसएमएस पठाउने विधिलाई यसपटक पनि निरन्तरता दिएका उम्मेदवारहरुले सामाजिक सञ्जालमा क्षेत्रगत, मतदाताको उमेर र प्रचार देखिने अवधि तोकेर विज्ञापन गरिरहेका छन्।

मतदाताको क्षेत्र रेकर्ड राखेर उसले फेसबुक वा युट्युब चलाउँदा सम्बद्ध क्षेत्रका उम्मेदवारको प्रचार देखिनेगरी विज्ञापन भइरहेको छ। युट्युबमा भइरहेको चुनावी विज्ञापनको खर्च गुगलले सार्वजनिक गरेको छैन। तर, फेसबुकको सञ्चालक कम्पनी मेटाले भने आफूकहाँ भइरहेको विज्ञापनमा कसले कति कति डलर तिरेका छन् भन्ने विवरण राखेको छ।

केही उम्मेदवारले सोझै आफैं डलर तिरेर विज्ञापन गराइरहेका छन् भने केहीले अन्यका नामबाट खर्च हालेको विवरणमा छन्। दल र उम्मेदवारहरुले पछिल्लो ३० दिनमा फेसबुकमार्फत् विज्ञापनमा २० हजार २५८ अमेरिकी डलर खर्चिएका छन्। मंगलबारको विनिमय दर अनुसार यो नेपाली रुपैयाँ २६ लाख २५ हजार बराबर हो। सेप्टेम्बर २०२२ यता विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरुले कुल ७३ हजार २९४ डलर (९४ लाख ९७ हजार रुपैयाँ) फेसबुकमा खर्च गरिसकेका छन्। 

एक महिनामा ५ सय अमेरिकी डलरभन्दा बढी करिब २० वटा राजनीतिक दल तथा उम्मेदवारहरुले खर्चिएको फेसबुकको माउ कम्पनी मेटाले जनाएको छ। अक्टोबर १४ देखि नोभेम्बर १२ को अवधिमा गरिएको विज्ञापनलाई यसमा समावेश गरिएको छ।

काठमाडौं-५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङले फेसबुकबाट गरिने विज्ञापनमा सबैभन्दा बढी रकम खर्चिएका छन्। मेटाको तथ्यांकअनुसार  एक महिनामा गुरुङले ३ हजार ३९६ अमेरिकी डलर (४ लाख ४० हजार रुपैयाँ) विज्ञापनमा खर्चिएका छन्। 

गुरुङपछि बढी खर्च गर्नेमा नेपालका लागि नेपाली पार्टीको भोजपुर-१ का उम्मेदवार डा. सुरेश बस्नेत छन्। उनले एक महिनामा १ हजार ९८८ डलर (२ लाख ५७ हजार रुपैयाँ) खर्चिएका छन्। 

प्रतिनिधिसभामा एमालेको काठमाडौं-१ का उम्मेदवार किरण पौडेलले १ हजार ४०५ डलर (१ लाख ८२ हजार), काठमाडौं-५ का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले १ हजार ३९४ डलर (१ लाख ८० हजार रुपैयाँ), काठमाडौं-५ (२) का प्रदेशसभातर्फका स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेले १ हजार २० डलर (१ लाख ३२ हजार रुपैयाँ) खर्चिएको मेटाले जनाएको छ। 

यस्तै, काठमाडौं-५ का कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ९ सय ६० डलर (१ लाख २४ हजार रुपैयाँ), एकीकृत समाजवादीको पाल्पा-२ का उम्मेदवार सोमप्रसाद पाण्डेले ९ सय ५१ डलर (१ लाख २३ हजार रुपैयाँ), राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य गणेश कार्कीले ९ सय ४१ डलर (१ लाख २१ हजार रुपैयाँ), जनता समाजवादी पार्टीको बाँके-२ का उम्मेदवार मोहम्मद इश्तियाक राईले ७ सय ५३ डलर (९७ हजार ५ सय रुपैयाँ) खर्चिएका छन्। राईकै लागि अर्को फेसबुक पेजले थप ५ सय ७३ डलर खर्च गरेको छ।

त्यसैगरी, एक महिनामा सप्तरी-२ को जनता समाजवादी पार्टीका उम्मेदवारी उपेन्द्र यादवले ७ सय ४३ डलर, काठमाडौं-५ को स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले ७ सय ३७ डलर, काठमाडौं-४ का स्वतन्त्र उम्मेदवार शिवेन्द्र केसीले ७ सय ९ डलर, काठमाडौं-२ का स्वतन्त्र उम्मेदवार अनुप बोहराले ६ सय ९३ डलर, काठमाडौं १ का राप्रपाको उम्मेदवार रवीन्द्र मिश्रले ६ सय ८३ डलर, एकीकृत समाजवादीले ६ सय ४३ डलर, पुनम घिमिरेले ‘ह्‍वाइ नेपाली कांग्रेस’ नामक पेजका लागि ६ सय ८ डलर खर्च गरिएको मेटाले जनाएको छ। 

मोरङ-४ (२) बाट प्रदेशसभामा एमालेका उम्मदेवार जीवन घिमिरेले ५ सय ६९ डलर, जनता समाजवादी पार्टीको काठमाडौं-७ का उम्मेदवार राजेन्द्रप्रसाद श्रेष्ठले ५ सय २८ डलर खर्च गरेको मेटाले जनाएको छ। अरु कयौं उम्मेदवार तथा राजनीतिक दलहरुले एक महिनामा ५ सय डलरभन्दा कम खर्च गरेका छन्।

यता नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले भने यस परिदृश्यलाई सूक्ष्मरुपमा अध्ययन गरिरहेको बताएका छन्। एक व्यक्तिलाई वर्षमा ५ सय अमेरिकी डलरभन्दा बढीको डलर कार्डको सुविधा नभएको अवस्थामा एउटै उम्मेदवारले हजारौं डलर खर्चिरहेको अवस्थालाई विभिन्न कोणबाट राष्ट्र बैंकले हेरिरहेको उनले बताए। 

‘कोही उम्मेदवारको खर्च विदेशबाटै भएको हुनसक्छ। नेपालमै भएको अवस्थामा पनि विभिन्न व्यक्तिहरुले खर्चिँदा बढी रकम गएको हुन सक्छ,’ पौडेलले भने, ‘यदि हाम्रै बैंकहरुले बदमासी गरेर ५ सय डलरभन्दा बढी खर्च गर्ने अवस्था ल्याएको भेटिए कानून अनुसार कारवाही हुन्छ। हामीले बैंकहरुबाट जारी भएको डलर कार्डलाई गम्भीर रुपमा अध्ययन गर्ने क्रममा छौं।’

नेपालमै मेटाको आधिकारिक कार्यालय नभएका कारण राष्ट्र बैंकलाई खर्च अनुगमन गर्न कठिनाइ भइरहेको बताएको छ। 

निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्रहरु १, ३, ६, ७ र ८ मा निर्वाचन खर्चको हद २५ लाख रुपैयाँ कायम गरिएको छ। यस्तै, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद ३३ लाख रुपैयाँ कायम गरेको छ। उम्मेदवारहरुले सामाजिक सञ्जालमा गर्ने खर्चलाई पनि यही सीमा भित्र राख्नुपर्ने निर्वाचन आयोगले भन्दै आएको छ।

निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन्।