पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि दिए राजनीतिक वक्तव्य: राजनीतिमा ‘कोर्स करेक्सन’ आवश्यक

बिजमाण्डू
२०७९ असोज १४ गते ०९:०६ | Sep 30, 2022

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा कोर्स करेक्सन आवश्यक देखिएको बताएका छन्। दसैंको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रियता र इतिहास नै संकटापन्न अवस्थामा पुगेको उल्लेख गर्दै कोर्स करेक्सन आवश्यक रहेको बताएका हुन्।

Tata
GBIME
Nepal Life

'डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको छ। हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ। हाम्रा मौलिक धार्मिक संस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ,' पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।

उनले परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएकोसमेत बताएका छन्। देशमा व्याप्त भ्रष्टचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको उनको आरोप छ।

राजनीतिक दल पदलोभ र भागबण्डा गरेर आफ्नै सुविधातिर केन्द्रित हुन लागेको दाबी गर्दै उनले यसले देशको हालत कस्तो होला भनी प्रश्नसमेत गरेका छन्।

'पदलोभ सत्ता स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगेका लागि राजनीति केन्द्रित हुँदै गए पछि देशको स्थिति र जनताको हालत के हुन्छ?' पूर्वराजा शाहले भनेका छन्, 'देशका प्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ।'

अहिलेको समय असजिलोसँग बितिरहेको समेत उनको दाबी रहेको छ। 'हामीलाई लागेको छ कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको जस्तो लाग्दैन,' पूर्वराजाले भनेका छन्, 'बहुदलीय संसदीय प्रणालीमा जनताको आशा र आकांक्षामा अनुरुप संगठित राजनीतिक दलहरु हुन्छन्। विभिन्न तहका प्रतिनिधिहरु स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ र तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहन्छ।'

देशको वर्तमान अवस्थाबाट जनतामा उत्साह नभएको र भविष्यको पनि कुनै भरोसा नभएको उनको ठहर छ।

'कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भित्र उत्पन्न विवाद विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ,' उनले भनेका छन्, 'यो अवस्थाले जनतामा उत्साह छैन। मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन।'

प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने उल्लेख गर्दै पूर्वराजाले विश्वको दुई ठुला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको दाबीसमेत गरेका छन्।

अहिलेको राजनीतिक अवस्थाले सर्वसाधारणको जीवनलाई सकसपूर्ण बनाएको र देशलाई नै दाउमा राख्न खोजेको उनको आरोप रह्यो। 'सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ,' पूर्वराजाले भनेका छन्, 'विद्यामान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लाग्न खोज्ने अवस्था बनेको छ।'