ऋण लिन ब्याजदर कहाँ सस्तो ? यस्तो छ बैंकहरुको आधार दरको अवस्था

सुनिल कुँवर
२०८१ बैशाख ७ गते १९:३५ | Apr 19, 2024
ऋण लिन ब्याजदर कहाँ सस्तो ? यस्तो छ बैंकहरुको आधार दरको अवस्था

काठमाडौं। ऋणको माग नभएर लगानीयोग्य रकम प्रणालीमा थुप्रिएपछि बैंकहरुले ब्याजदर आक्रामक रुपमा घटाएका छन्। एक वर्षमा वाणिज्य बैंकको आधार दर औसतमा १.८७ विन्दुले घटेको छ।

Tata
GBIME
Nepal Life

पोहोर चैतमा बैंकहरुको आधार दर औसतमा १०.४८ प्रतिशत रहेकामा चालु वर्षको तेस्रो त्रैमासमा आइपुग्दा ८.६१ प्रतिशतमा झरेको छ। सबै वाणिज्य बैंकको आधार दर एकल अंकमा आइपुगेको छ। पोहोर चैतमा १५ वटा बैंकको आधार दर दोहोरो अंकमा थियो।

आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्।

ऋणको माग नभएपछि बैंकहरुले चालु वर्षको सुरुदेखि नै निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। त्यही भएर बैंकको लागत घट्दा आधार दर झरेको हो।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा तल छ। बैंकको आधार दर २.७४ विन्दुले घटेर ६.५३ प्रतिशतमा झरेको छ।

आधार दर नेपाल बैंकको ७.३१ र राष्ट्रिय वाणिज्य बैंकको ७.९९ प्रतिशत छ। सबैभन्दा धेरै कुमारी बैंकको ९.६३ प्रतिशत छ। जबकि पोहोर चैतमा आधार दर ११.३१ प्रतिशतसम्म थियो। अहिले आधार दर ६ बैंकको २ र १४ बैंकको १ भन्दा बढी विन्दुले घटेको छ।

आर्थिक गतिविधिमा सुस्तताका कारण कर्जाको माग नभएपछि बैंकले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा आधार दर तल आएको हो।

नयाँ कर्जाको माग नरहेको र यसअघि लिएको कर्जा पनि असुल नभइरहेको अवस्थामा बाध्य भएर ब्याजदर घटाउनु परेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए।

‘ब्याजदर डिमान्ड एण्ड सप्लाईले तय गर्ने हो। अहिले कर्जाको माग बढेको छैन। माग नबढेपछि ब्याजदर घट्ने नै भयो,’  उनले भने, ‘निक्षेपको ब्याजदर घट्दा त्यसको प्रभाव सिधै कर्जाको ब्याजदरमा पर्छ। ऋणीहरुले किस्ता तिर्न नसकेको बेलामा ब्याजदर सस्तो हुँदा उनीहरुलाई पनि सहज हुने देखिन्छ।’

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएकाले ब्याजदर घटिरहेको बताए। ‘लिक्विडिटी सर्प्लस छ। तरलता अधिक भएपछि ब्याजदर घटिहाल्छ। अहिले बैंकको पर्फर्मेन्स क्लियर छ। नाफा घटेको छ,’ उनले भने, ‘धेरैको वितरणयोग्य नाफा ऋणात्मक छ। वितरणयोग्य नाफा ऋणात्मक भएकाहरुले लाभांश वितरण गर्न पाउँदैनन्। यो अर्थतन्त्रको प्रभाव हो।’

व्यवसाय खुम्चिएका कारण यो वर्ष ९ महिनामा पोहोरको सोही अवधिको तुलनामा बैंकहरुको मुनाफा १३.४७ प्रतिशतले घटेको छ। नाफा ४१ अर्ब २२ करोड रुपैयाँ कमाए पनि खराब कर्जा वृद्धिले नोक्सानी व्यवस्थापनका लागि ३९ अर्ब ८७ करोड रुपैयाँ छुट्याउनु परेको छ।

१० वटा बैंक मुनाफा बाँड्न सक्ने अवस्थामा छैनन्। उनीहरुको वितरणयोग्य मुनाफा ऋणात्मक छ। अरु बैंक पनि धेरै प्रतिफल दिन सक्ने अवस्थामा छैनन्। किनभने उनीहरुको पनि वितरणयोग्य मुनाफा घटेको छ।

ब्याजदर निरन्तर घटेपनि बैंकमा निक्षेप बढिरहेको छ। ऋण भने अपेक्षितरुपमा विस्तार हुन सकेको छैन। वाणिज्य बैंकले ९ महिनामा जम्मा २ खर्ब १९ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। त्यसमध्ये ३६ अर्ब रुपैयाँ चैत अन्तिम साता प्रवाह गरिएको हो।

जबकि राष्ट्र बैंकको प्रक्षेपण अनुसार बैंकहरुले ५ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने हुन्छ। ११.५ प्रतिशतले ऋण विस्तार हुने प्रक्षेपण राष्ट्र बैंकले गरेको थियो।

तरलता थुप्रिएकाले अधिकांश बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा तल छ।

निक्षेपको ठूलो हिस्सा मुद्दतीमा भएका कारण बैंकले महँगो ब्याज तिरिरहेका छन्। कर्जा लगानी नहुँदा थुप्रिएको निक्षेपले लागत बढाउने भएपछि ब्याजदर घटाउनुपर्ने दबाब बैंकहरुमाथि परेको हो।

आर्थिक वर्षको अन्तिम त्रैमासमा बैंकहरु कर्जा लगानीभन्दा असुलीमा केन्द्रित हुनुपर्ने भएकाले ब्याजदर झनै घट्ने बैंकरहरुको विश्लेषण छ।