भन्सार विभागले म्याद बुझ्न अस्वीकार गरेपछि सुपारीको छलफल भदौ २ गते सर्‍यो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७९ साउन ३१ गते १४:३१ | Aug 16, 2022
भन्सार विभागले म्याद बुझ्न अस्वीकार गरेपछि सुपारीको छलफल भदौ २ गते सर्‍यो

विराटनगर। उच्च अदालत विराटनगरले भारतबाट पक्राउ गरेको ८ ट्रक सुपारी सम्बन्धी छलफललाई भदौ २ गते सारेको छ। अदालतको म्याद सूचनालाई विपक्षी भन्सार विभागले आजको भोलि प्रतिउत्तर लगाउन सकिँदैन भनी बुझ्न इन्कार गरेकाले छलफल सारिएको हो।

Tata
GBIME
Nepal Life

विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भएर दुवैले सिलबन्दी गरेको ८ ट्रक सुपारीलाई मोरङ प्रहरीले पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो।

यसपछि सुपारीका निर्यातकर्ता मनकामना ट्रेडर्सका नवीन घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला प्रहरी, विराटनगर भन्सार, भन्सार विभाग र राजस्व अनुसन्धान कार्यालय समेतलाई विपक्षी बनाएर साउन २६ गते उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए। 

मुद्दा उपर उच्च अदालतले साउन २९ मा सुनवाइ गर्दै साउन ३१ मङ्गलवारका लागि पक्ष-विपक्ष दुवैलाई छलफलमा बोलाएको थियो। भन्सार विभागले मंगलबार छलफलमा बोलाइएको पत्र बुझ्न इन्कार गरेपछि छलफल प्रभावित भएको हो।

उच्च अदालतका न्यायाधीशद्वय रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजलासले मंगलबार जारी गरेको आदेशमा अब 'अन्तरिम आदेश छलफलको मिति २०७९–५–२ को पेसी तारेख तोकी सोको सूचना विपक्षीहरूलाई दिनू' भन्ने उल्लेख गरिएको छ। अदालतले फेरि पनि म्याद बुझ्न इन्कार गरेमा विभागका प्रमुखलाई नै कारबाही गर्न सकिने चेतावनी समेत दिएको छ। अदालतको सूचना बुझ्न इन्कार गर्नुलाई गम्भीर रूपमा लिइएको छ।

‘यस अदालतबाट विपक्षी भन्सार विभाग त्रिपुरेश्वरका नाममा जारी भएको म्याद सूचना आजको भोलि प्रतिउत्तर लगाउन सकिँदैन भनी म्याद बुझ्न इन्कार गरेको भनी म्यादसमेत फिर्ता आएको भन्ने तामेलदारको प्रतिवेदनबाट देखिएकाले प्रस्तुत अन्तरिम आदेशउपर आज सुनवाइ गर्न मिलेन’, आदेशमा भनिएको छ, ‘साथै विपक्षीले अदालतबाट जारी भएको म्याद सूचना बुझ्न इन्कार गरे उपर यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ। यसरी अदालतबाट जारी भएको म्याद सुचना बुझ्न इन्कार गरेमा वा म्याद सूचना तामेलीमा बाधाअवरोध खडा गरेमा कानुन बमोजिम कारबाही हुनसक्ने ब्यहोरा सो विभागका प्रमुखलाई ध्यानाकर्षण गराई रीतपूर्वक म्याद तामेल गरी नियमानुसार पेस गर्नू।’

अदालतमा पक्ष मनकामना ट्रेडर्सका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ता डिल्लीराम घिमिरेले बहसपैरवी गरेका थिए।