साउदीमा केन्द्रीय बैंकले यसरी तरलता प्रवाह गरेर सघाउँदै बैंकहरुलाई, तरलताको गम्भिर संकट




गम्भीर तरलता संकट भोगिरहेको साउदी अरेबियाको केन्द्रीय बैंकले बैंकहरुलाई सहजता प्रदान गर्न लागेको छ। यसकालागि साउदी केन्द्रीय बैंकले करिब ५० अर्ब रियाल अर्थात १३ अर्ब डलर निक्षेपका रुपमा बैंकहरुलाई प्रवाह गर्न लागेको हो।



उसले यो रकम निक्षेपका रुपमा बैंकहरुलाई दिने जनाएको छ। केन्द्रीय बैंकले तीनवटा फरक-फरक किस्तामा उक्त रकम वितरण गर्ने योजना बनाएको छ। एक दशक यताकै खराब तलता संकटका कारण साउदी केन्द्रीय बैंकले यो कदम उठाएको हो।

साउदी अरेबियामा पछिल्लो समय बैंकहरु नगद संकटसँग जुधिरहेका छन्। तेलको भाउ उच्च हुँदै गएपछि सरकारले तेल कारोबारलाई आगामी वर्षसम्मका लागि 'होल्ड' गर्ने नीति लिएको छ। जसका कारण बैंकहरु भने नगद अभाव झेलिरहेका छन्।

अमेरिकामा यसै महिना फेड रिजर्भले ब्याजदर बढाएको छ भने साउदी इन्टर बैंक अफर्ड रेट (साइबोर)ले साउदी अरेबिया सन २००८ यताकै सबैभन्दा कठिन अवस्थामा तरलता संकट झेलिरहेको मापन गरेको छ। सन् २००८ मा कच्चा तेलको भाउ ब्यारेलकै ४० डलरभन्दा तल झरेपछि साउदीमा तरलता संकट गम्भीर अवस्थामा पुगेको थियो। हालको अवस्थालाई पनि त्यही अवधिसँग तुलना गरिएको हो।

साउदी बैंकहरुमा रहेको फण्डिङ स्ट्रेस सन् २००८/०९ को वैश्विक संकटकै अवस्थाको नजिक पुगेको छ, जतिबेला तेलको भाउ क्रयास भएर ब्यारेलको ४० डलर भन्दा तल थियो। तर त्यसका विपरीत हाल तेलको भाउ बढेको छ र यस वर्ष साउदी अरेबिया एक दशक यताकै आफ्नो पहिलो बजेट सरप्लसमा छ। यद्यपि साउदी बैंकहरु तलरता संकटसँग जुधिरहेकाले सरकारले राहत दिन लागेको हो।

बढ्दो उत्पादन र तेलको मूल्य एक सय डलरभन्दा माथि पुगेकोले एक दशकपछि साउदीमा तेल कारोबारबाट हुने आम्दानी उच्च हुने देखिन्छ, जसले आगामी दिनमा साउदी अरेबिया सही ट्रयाकमा जाने अनुमान गरिएको छ।

तर हालको समस्यालाई समाधान गर्नका लागि केन्द्रीय बैंकले कम्तीमा तीन भिन्दाभिन्दै किसिमले रकम 'इन्जेक्ट' गर्न लागेको हो।

पहिलो र दोस्रोमा तीन महिने डिपोजिटका रूपमा प्रत्येक किस्तामा करिब १५ अर्ब रियाल दिने तयारी गरेको छ। यस अन्तर्गत केही दिनभित्रै अल्पकालीनका साथै दीर्घकालीन रुपमा परिपक्व हुनेगरी निक्षेप प्रवाह गरिने बताइएको छ।

तीन दिनमा साइबोर रेट १७ अंकले घटेको छ जुन ३.१३ प्रतिशतले घटेको हो। यो एक महिनामै सबैभन्दा ठूलो गिरावट हो।

यस परिदृश्यले साउदी अरेबियामा बैंकहरुका लागि तलरता कति आवश्यक छ र त्यसले साउदी अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ भन्ने छर्लङ्ग हुन्छ। साउदी अधिकारीहरुले देशको मेगा प्रोजेक्टहरुमा पुँजी परिचालन गर्नेतर्फ लागिरहँदा बढ्दो तलरता संकटले साउदी बैंकहरुलाई पारेको असरलाई पनि यसले प्रतिबिम्बित गर्छ।

तत्कालको पुँजी संकुचनलाई सहज तुल्याउन साउदी केन्द्रीय बैंकले रिपो सुविधालाई चारबाट अधिकतम १३ साताको अवधि बनाइदिएको छ।

'साउदी केन्द्रीय बैंकको सस्तो मूल्यको ताजा नगद प्रवाह र १३ साताको रिपोले फण्डिङ कस्टलाई सुधार गर्नेछ। विश्लेषक एडमन्ड क्रिस्टो भन्छन्-'केन्द्रीय बैंकको राहतले केवल बैंकहरुको निक्षेपलाई केही बढाइदिने मात्र हो। यसपछि बैंकहरुले आफ्नो लगानीलाई विविधिकरण गर्न र १६० अर्ब रियाल संकलन गर्न आवश्यक हुन्छ ताकि उसले १४ प्रतिशतको क्रेडिट ग्रोथलाई भुक्तानी गर्न सकोस्।'

गत महिना नै साउदी अरेबियाका अर्थमन्त्रीले सरकारले आफ्नो चालु खातामा अधिक तेल कारोबारको रेभेन्यूलाई केही समय 'होल्ड' गर्ने बताएका थिए। उनले अर्को वर्षको सुरुवातसम्म यो कारोबार होल्ड गर्ने भनेका हुन्। तेलसम्बद्ध 'बुम/बस्ट' चक्रलाई तोड्नका लागि यसो गर्नु जरुरी रहेको उनको भनाइ थियो। बिगतमा साउदी अर्थतन्त्रमा त्यसले देखाएको प्रभावका कारण 'बुम/बस्ट' चक्र तोड्नुपर्ने देखिएको उनले बताएका थिए।

बैंकहरुले तेलको मूल्य अझ उच्च हुने अनुमान गरिरहेका छन् जसलाई सरकारी निक्षेपका रूपमा जतिसक्दो छिटो परिवर्तन गर्न सके त्यसले तरलता अभाव कम गर्न सकिने उनीहरुको भनाइ छ।

हाल बैंकहरुको ऋणमा देखिएको 'बुम'ले निक्षेपको वृद्धिलाई घटाइदिएको छ। त्यहाँ कर्जा असाध्यै तीव्र रूपमा बिस्तार भएको छ, जसले मुद्रा बजारलाई संकुचित बनाइदिएको छ। तर साउदी सरकारले वित्तीय खर्चको दृष्टिकोणले परम्परागत अवधारणा अनुसार आफ्नो तेल कारोबारबाट आउने मुद्रालाई केही समयका लागि होल्ड गरेको हो।

सन् २०२२ मा साउदी अरेबिया कन्जुमर लेन्डिङका हिसाबले दोस्रो पटक दोहोरो अंकको वृद्धिमा जाने देखिन्छ, जब कि निक्षेपमा भएको वृद्धि ४ प्रतिशतभन्दा पनि कम छ।

यसअघि सन् २०२० मा साउदी केन्द्रीय बैंकले तरलता राहतका रूपमा स्थानीय बैंकहरुलाई १०० अर्ब रियाल प्रदान गरेको थियो। उक्त समय प्रदान गरिएको राहतबाट कोरोना महामारीका समयमा गम्भीर संकटमा परेका साना व्यवसायहरुको ऋण भुक्तानीको अवधि लम्ब्याउँदा भएको असरलाई न्यून गर्न सहयोगी भएको थियो। (ब्लुमबर्गको सहयोगमा)


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell