विष्फोटक पदार्थ हुनसक्ने भन्दै भारतले रोकिदियो नेपाल छिर्ने मालबस्तु, भन्सारमा लाग्यो लाइन

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ चैत्र २९ गते १५:२२ | Apr 12, 2022
विष्फोटक पदार्थ हुनसक्ने भन्दै भारतले रोकिदियो नेपाल छिर्ने मालबस्तु, भन्सारमा लाग्यो लाइन

विराटनगर। भारतबाट नेपालतर्फ निर्यात गरिने करिब १ हजार मालवस्तुमा भारतको केन्द्रीय भन्सार विभागले नयाँ नियम लगाएपछि विराटनगर सीमापारि सयौँका संख्यामा मालवाहक सवारीसाधन रोकिएका छन्।

Tata
GBIME
Nepal Life

औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट निर्यात गरिने मालवस्तु हतियार वा विष्फोटक पदार्थमा प्रयोग हुनसक्ने भन्दै भारतले कडाइ गरेको हो। यही कारण देखाउँदै विराटनगरको सीमावर्ती भारतीय नाका जोगबनीबाट दक्षिणमा बिगत पाँचदिनदेखि तीनसय भन्दा बढी मालवाहक सवारी रोकिएका छन्।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माका अनुसार भारतले भन्सार संकेत २८, २९, ३०, ३८, ३९ र ७० अंकबाट सुरु भएका सबै मालवस्तुको निर्यातमा कडाइ गरेको छ। त्यस्तै ७५, ८३, ८४, ८५, ८७ र ९० अंकबाट सुरु भएका सबै मालवस्तुमा पनि कडाइ गरिएको छ।

अध्यक्ष शर्माले हार्मोनी कोड २८ बाट सुरु हुने मालवस्तुमा विभिन्न रसायनिक पदार्थ, २९ बाट सुरु हुनेमा विभिन्न भिटामिन ओखतीहरू, ३० बाट सुरु हुनेमा उपचारमा प्रयोग गरिने धूलो, मेडिकल केमिकल्स, भ्याक्सिन, इन्सुलिन र पशु भ्याक्सिन लगायतका वस्तु पर्ने जानकारी दिए ।

त्यस्तै ३८ बाट सुरु हुनेमा टाँस्ने गम, खोटो, रोजिन र टर्पेन्टाइन वर्गका मालवस्तु, ३९ बाट सुरु हुनेमा पिभिसी सेट लगायतका प्लास्टिक सामग्री, ७० बाट सुरु हुनेमा सिसा र सिसाबाट बनेका मालसामान, ७५ बाट सुरु हुनेमा जिंक, निकल, गन्धक लगायतका औद्योगिक सामग्री र ८३ बाट सुरु हुनेमा फलामे झ्यालढोकाका सामग्री पर्दछन्।

अध्यक्ष शर्माले हार्मोनी कोडको अंक ८४ बाट सुरु हुनेमा औद्योगिक मिलमेसिनरी, ८५ बाट सुरु हुनेमा विद्युतीय सामग्री, ८७ बाट सुरु हुनेमा मोटर पार्टस् र ९० बाट सुरु हुनेमा मेडिकल इक्विपमेन्ट पर्ने बताए।

‘अब भारतबाट नेपाल मालवस्तु निर्यात गर्ने कम्पनी, उद्योग वा फर्मले सम्बन्धित भारतीय भन्सार कार्यालयका प्रमुखका नाममा एसकोमेट फारम भर्नुपर्दछ’, शर्माले बिजमाण्डूलाई भने, ‘उक्त फारममा यति मितिमा काटिएको यति नम्बरको बिलको यति नम्बरको हार्मोनी कोड भएको मालवस्तु एसकोमेटअन्तर्गत नपर्ने र यस्तो प्रयोजनका लागि निर्यात गर्न खोजिएको भन्ने उल्लेख गरिएको हुनुपर्छ। उक्त फारामलाई भारतीय भन्सारका अधिकारीले स्वीकृत गरेपछि मात्र मालवस्तु त्यहाँबाट जाँचपास हुन्छ।’

एसकोमेटको पूरा रूप स्पेसल केमिकल्स, अर्गानिज्म, म्याटेरियल्स, इक्विपमेन्ट एन्ड टेक्नोलोजिज भएको भारतीय पत्रमा उल्लेख छ।

अध्यक्ष शर्माका अनुसार नयाँ भारतीय नियम लगाइएपछि विरानगर भन्सारका एजेन्टहरू जोगबनी भन्सारका असिस्टेन्ट कमिस्नर (एसी) अशोक दाससमक्ष निकासी–निर्यात सहजीकरणका लागि पुगेका थिए। भेटमा एसी दासले भारतको केन्द्रीय भन्सार विभागबाटै आएको परिपत्रअनुसार मालवस्तुको निर्यातमा कडाइ गरिएको हुँदा आफूले केही गर्न नसक्ने बताएका थिए।

मोरङ व्यापार संघका महासचिव अनिल शारडाले भारतले नेपाल आउने मालवस्तुमा नयाँ प्रक्रियागत झन्झट थपिदिएको गुनासो गरे। महासचिव शारडाले यस विषयमा नेपाल सरकार गम्भीर भएर तुरुन्त कूटनीतिक पहल गर्नुपर्ने आग्रह गरे।

विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले नेपाल आउने मालवस्तु भारतीय भूमिमा रोकिएको आफूले भर्खर थाहा पाएको र सहजीकरणका लागि प्रयास गरिरहेको बताए।