तेलको मूल्यवृद्धि विरोधमा सरकारकै भ्रातृ संगठन, नेविसंघले भन्यो-‘तत्काल फिर्ता लिउँ’

बिजमाण्डू
२०७८ माघ ६ गते ०९:५६ | Jan 20, 2022
तेलको मूल्यवृद्धि विरोधमा सरकारकै भ्रातृ संगठन, नेविसंघले भन्यो-‘तत्काल फिर्ता लिउँ’

काठमाडौं। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गरेको छ। नेपाल आयल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएपछि नेविसंघले विरोध जनाएको हो।

Tata
GBIME
Nepal Life

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारीको असरमा परेका जनतालाई थप पीडा दिने गरी निगमले मूल्यवृद्धि गरेको जनाए। मूल्यवृद्धि भएबाट पुन: सबै क्षेत्रमा चर्को महँगी बढ्ने दाबी गर्दै उनले आहतमा बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको आरोप लगाए।

महामारीकै बीच पटकपटक गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको उनले बताएका छन्। 'अत्यावश्यकीय उपभोग्य वस्तुमाथि पटकपटक गरिएको मूल्यवृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेको छ। उक्त मूल्यवृद्धि तत्काल फिर्ता होस्,' तिमल्सिनाले भनेका छन्।

निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले भाउ बढाएको हो। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको छ। अब पेट्रोल प्रतिलिटिर १३९ रुपैयाँ पुगेको छ। डिजेल १२२ रुपैयाँ कायम भएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। समायोजित मूल्य अनुसार प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलर बढाइएको छ। नयाँ मूल्य ९९५ अमेरिकी डलर पुगेको छ।