त्रिशारा रेष्टुरेण्टको एक दशक पूरा, जावलाखेलमा चार सय क्षमताको नयाँ शाखा खोल्ने

बिजमाण्डू
२०७८ मंसिर २३ गते १३:१८ | Dec 9, 2021
त्रिशारा रेष्टुरेण्टको एक दशक पूरा, जावलाखेलमा चार सय क्षमताको नयाँ शाखा खोल्ने

काठमाडौं। त्रिशारा रेष्टुरेण्टले आफ्नो सेवाको एक दशक पार गरेको छ। दश वर्ष पूरा गरेको अवसरमा त्रिशाराले  शाखा बिस्तारको योजना अघि बढाएको जानकारी दिएको छ। 

Tata
GBIME
Nepal Life

आगामी एक वर्ष भित्रै रेष्टुरेण्टले जावलाखेलस्थित चार सय जना अट्ने शाखा  संचालनमा ल्याउन लागेको  संचालक शोभनवीर मालाकारले बताए। 'काम छिट्टै सुरु गर्नेछौँ। यो आउटलेटको क्षमता अलि ठूलै रहको छ। चार सय जना अट्ने क्षमता रहेको यो आउटलेटका लागि हामीले जग्गा लिजमा लिइसकेका छौँ।' – उनले भने। उनका अनुसार नयाँ आउटलेटका लागि छ हजार वर्गफिट एरिया लिजमा लिइएको छ।

जावलाखेलस्थित रेष्टुरेण्टमा पनि मुख्य ब्राण्ड 'त्रिशारा' अनुसारकै आउटलेट विस्तार हुने तर आन्तरिक डिजाइन र एम्वियन्स  भने भिन्न रहने उनले जानकारी दिए।

रेष्टुरेण्टअन्तर्गत ठमेल, गोल्फुटार र लाजिम्पाटमा बेकरी आउटलेट संचालनमा छ भने ठमेल र बानेश्वरमा त्रिशारा पेरोस पिज्जा संचालित छ।

'व्यावसायिक वातावरण सामान्य अवस्थामा फर्किसकेको छ। ग्राहकको पहुँच र मागलाई हेरेरै हामीले आउटलेट विस्तारलाई अघि बढाएका हौँ।' उनले भने।

बानेश्वरको आउटलेट एक सय ५० जना क्षमता र ठमेलमा ८० जनाको क्षमता रहेको छ।

रेष्टुरेन्टका तीनवटा आउटलेटमा लाइभ म्युजिकसहित उपलब्ध गराइएको छ। लाजिम्पाट, दरबारमार्ग र पोखराको आउटलेटमा लाइभ म्युजिक र खानपिन सेवालाई विशेष प्राथमिकता दिएको रेष्टुरेण्टले अरु आउटलेटमा विशेष गरी पेरोस पिज्जा र बेकरी प्रोडक्टलाई प्राथमिकता दिएको छ। 

त्रिशारा सन् २०१० को नोभेम्बरमा पहिलोपटक  लाजिम्पाटमा खुलेको थियो। काठमाडौंमा खुलेको तीन वर्षपछि आफ्नो आउटलेट पोखरामा विस्तार गरेको थियो। ६ सय जना क्षमताको दुई रोपनीमा रहेको पोखराको त्रिशाराले ब्राण्ड भ्यालु बढाउने काम गरेको थियो। दरबारमार्गस्थित त्रिशाराको आउटलेटमा तीन सय जनालाई सेवा दिने क्षमता छ।

एक दशक पूरा गरेको अवसरमा रेष्टुरेण्टले लाजिम्पाटस्थित आफ्नो पहिलो आउटलेटमा आउँदो शनिबार 'एज ब्याण्ड' को लाइभ कन्सर्ट आयोजना गर्न लागेको उनले जानकारी दिए।