आइसिटी अवार्डको प्रमुख प्रायोजकमा ‘एफवान सफ्ट’, डिजिटल इकोसिस्टममा सहकार्य गर्ने

बिजमाण्डू
२०७८ असोज १३ गते १४:३२ | Sep 29, 2021
आइसिटी अवार्डको प्रमुख प्रायोजकमा ‘एफवान सफ्ट’, डिजिटल इकोसिस्टममा सहकार्य गर्ने

काठमाडौं। छैटौं संस्करणको आइसिटी अवार्डको प्रमुख प्रायोजन एफवान सफ्टले गर्ने भएको छ। आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच प्रमुख प्रायोजनका लागि सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ हुने बताइएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड मानिएको आइसिटी अवार्डको छैटौं संस्करणमा ११ विधामा नोमिनेसन खुल्ला गरिएको थियो।

जसमा तीन सय ५० भन्दा बढीको आवेदन परेको आयोजकले जनाएको छ। अहिले विभिन्न चरणमा छनोट प्रक्रियाहरू सञ्चालन भइरहेको बताइएको छ। अवार्डको  फिनाले पुस २ गते काठमाडौंमा हुँदैछ।

आइसिटी अवार्डको प्रि-इभेन्ट अभियानको रूपमा असोज १५ देखि ४० भन्दा बढी स्टार्टअपहरुलाई मेन्टरिङ कक्ष र १६ गते प्रदर्शनी आयोजना गर्ने तयारी आयोजकको छ। 

एफवान सफ्ट १७ वर्ष अघि स्थापना भएको नेपालकै ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा प्रदान समूह हो। ग्रुप अन्तर्गत हाल १३ कम्पनी सञ्चालन भइरहेका छन्। कम्पनीले एक हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको बताइएको छ। 

आइसिटी अवार्डसँगको सहकार्यले नेपालको डिजिटल इकोसिस्टमलाई सघाउ पुर्‍याउने एफवान सफ्टका ग्रुप सिओओ शिशिर पछाईले बताए। एफवान सफ्टको सहकार्यले नेपालमा स्टार्टअप तथा इन्नोभेसनको प्रवद्धनसँगै आइसिटी अवार्डको महत्व र प्रतिष्ठालाई अझ उचाईमा पुर्याउन सकिने अवार्ड आयोजक समितिका संयोजक राजन लम्सालले बताए। 

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेको आयोजकले जनाएको छ। 

यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म बिनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्ने बताइएको छ। स्टार्टअप आइसिटी अवार्ड विधाको बिजेताले तीन लाख रुपैयाँ बराबरको हुवावेका महत्वपूर्ण सेवाहरू प्रदान गर्ने बताइएको छ।