विद्युत खेर गइरहँदा पनि प्रसारण लाइनको अभावमा उद्योगीले मागेजति बिजुली पाएनन्: कुलमान घिसिङ 

बिजमाण्डू
२०७८ असोज ३ गते १६:१७ | Sep 19, 2021
विद्युत खेर गइरहँदा पनि प्रसारण लाइनको अभावमा उद्योगीले मागेजति बिजुली पाएनन्: कुलमान घिसिङ 

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेपनि उद्योगले भने मागे जति बिजुली नपाएको बताएका छन्। हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्न नवलपुर पुगेका घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताएका हुन्।

Tata
GBIME
Nepal Life

उद्योगीले मागेजति बत्ती नपाउने तर प्राधिकरणले किनेको बिजुली भने खेर जाने भइरहेको भन्दै खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक रहेको उनले बताए।

प्रसारणलाइन निर्माणका लागि राज्यका सबै संयन्त्रले सहयोग हुनुपर्ने भन्दै प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध हुँदा कामले प्रगति हासिल गर्न नसकेको पनि उनले बताए।

प्रसारण लाइनका कारण दैनिक विद्युत् खेर गएको तर पाउनुपर्ने उद्योगीले नपाएको उनको भनाइ छ।

चितवनको भरपुरबाट पश्चिमतर्फ १३२ केभी प्रसारणलाइनबाट ९० मेघावाट मात्रै विद्युत् पठाउन सकिन्छ। निर्माणधीन २२० केभी प्रसारण लाइन सम्पन्न भए बुटवलसम्म करिब पाँच सय मेघावाट विद्युत् पठाउन सकिने उनको भनाइ छ।

नवलपुर, परासी, बुटवल क्षेत्रमा उद्योगले विद्युत् धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको उनले बताए।

निर्देशक घिसिङले बुटवलसहित भैरहवा र नेपालगञ्जसम्म विद्युत् लोड बढाउन प्राधिकरणले पहल गरिरहेको भन्दै यसका लागि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन छिटो सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताए।

माथिल्लो तामाकोसी सहित निजी क्षेत्रका केही आयोजना सञ्चालनमा आएपछि अहिले करिब दुई हजार मेगावाट विद्युत उत्पादन क्षमता पुगेको छ।

तर प्रसारणलाइन नहुँदा अहिले उत्पादन भएको विद्युत भरतपुरदेखि पश्चिम तर्फ पठाउन सकिएको छैन।

यसै क्रममा नवलपुरको बोझा पोखरीमा सवस्टेसन निर्माणमा ढिलाइ भएको र यसका कारण जिल्लाका दुई गाउँपालिकामा अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न नसकेकोमा स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

उक्त अवसरमा निर्देशक घिसिङले सव स्टेन चाँडै सक्न आफूले पहल गर्ने र बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको नवलपुर क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी गराएकी छन्।

उक्त प्रसारण लाइनको नवलपुरमा १९३ वटा टावर पर्दछन्। तीमध्ये १९१ वटा टावर बनिसकेको र अदालतको स्टे अडरका कारण दुम्किबास क्षेत्रमा दुईवटा टावर बन्न नसकेको उनले बताइन।

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनअन्तर्गत भरतपुर पश्चिममा २४६ र पूर्वमा २२६ वटा टावर रहेका छन्। फागुन सम्ममा भरतपुर पूर्वको काम सकिने दावी गरिएको छ। (राससको सहयोगमा)