ब्‍याजदर वृद्धिको प्रभाव सेयर बजारमा: सूचक ७६ अंकले झर्‍यो, तीन-तीनपटक उठ्न खोजे पनि थामिएन

बिजमाण्डू
२०७८ भदौ ३१ गते १५:५८ | Sep 16, 2021
ब्‍याजदर वृद्धिको प्रभाव सेयर बजारमा: सूचक ७६ अंकले झर्‍यो, तीन-तीनपटक उठ्न खोजे पनि थामिएन

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले असोज १ बाट लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेसँगै यसको असर सेयर बजारमा समेत देखिएको छ। बैंकहरुले सार्वजनिक गरेको नयाँ दरअनुसार निक्षेपको ब्याज दर मुद्दती निक्षेपमै दोहोरो अंकमा पुगेको छ। यसको प्रभाव कर्जामा पनि पर्ने भएकाले ऋण महँगिने देखिँदा सेयर बिक्री गर्ने लगानीकर्ताको चापको असरस्वरुप बजार सूचक नेप्से ७६ अंकले तल झरेको छ।

Tata
GBIME
Nepal Life

ब्याजदर बढ्नुका साथै ४ र १२ करोडको सेयर धितो कर्जा सीमा, तरलतामा चाप लगायतका कारण बजारमा करेक्सन आएको सेयर विश्लेषक अनलराज भट्टराई बताउँछन्।

बिहीबार सेयर बजार नियमित कारोबार सत्रको सुरुदेखि नै घट्न थालेको थियो। त्यसका बाबजुद बजारले तीन-तीन पटकसम्म उठ्ने प्रयास गरे पनि एकपटक पनि हरियो हुन भने सकेन।

१० देखि १५ अंकको सुधार हुँदै बजार बढ्ने संकेत देखिं‌दा बिक्री चाप ह्वात्तै बढ्न थालेपछि केही छिनमै बजार थप ओरालो लागेको थियो। सुरुको १५ मिनेटभित्रै ५० अंकले बजार घटेपछि १५ अंकले सुधार भएको थियो। ठिक १२ बजेपछि ७० अंकसम्म घटिसकेको बजार २० मिनेटको अन्तरमा करिब २५ अंकले सुधार भएर फेरि उही विन्दुमा आएको थियो। तर उक्त विन्दुमा सूचक १० मिनेट पनि टिक्न नसक्दा  बजार थप तल झर्दै गयो।  लगातार पौने २ बजेसम्म घटेको बजार ९५ अंकले ओर्लिंदै २७९५ बिन्दुसम्म झरेको थियो। 

पौने दुई बजेपछि २० मिनेट लगाएर ३२ अंकसम्म सुधार भएको बजार फेरि ओरालो लाग्दा २८०५ विन्दुसम्म आएको थियो। तर अन्तिममा केही अंक सुधार भएपछि ७६ अंकको गिरावटसहित २८१२ विन्दुमा बजार बन्द भएको छ। बजार एकोहोरो ओरालो लागेको भए पनि २७-२८ सयकै रेन्जमा स्थिर हुन सक्ने भट्टराईको विश्लेषण छ।

सबै उपसमूह राताम्मे भएको बिहीबारको बजारमा म्युचुअल फण्ड, लगानी, बैंकिङ र अन्य समूहबाहेक अरु सबै उपसमूहको सूचक कम्तिमा ११० अंकदेखि ४५२ अंकसम्म घटेका छन्। सबैभन्दा धेरै घट्नेमा जीवन बीमा समूह ४५२ अंक र निर्जीवन बीमा समूह ३८३ अंकले घटेका छन्।

'बैंकहरुले सेयर बजारमा गरेको दुई खर्ब रुपैयाँ लगानी अहिले होल्ड भएको छ। यसले बजारमा सप्लाई न्यून भएर बजार धेरै तल आउन दिँदैन,' भट्टराईले भने, 'यदि बैंकहरुले सेयर बेच्न पाएको भए तरलता सहज हुने अवस्था पनि आउन सक्थ्यो।'

अहिले दसैंतिहार जस्ता चाडबाडहरु नजिकिएका कारण केही लगानीकर्ताहरुले खर्च जुटाउनकै लागि सस्तो दरमा सेयर बेच्दा पनि करेक्सन आउने बेला हो। तर बजार एक डेढ महिनापछि नै पुनः सुधारोन्मुख हुन सक्ने उनको भनाइ छ।

प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल पनि २३७० देखि ३१९८ बिन्दुसम्मको प्राविधिक विश्लेषण गर्दा बजार २७०० बिन्दुसम्म आएर फर्कने सक्ने बताउँछन्। तर केही अन्य घटनाक्रमहरु विकसित भएमा भने बजार २५५० को रेन्जमा आएर मात्रै फर्किने उनको भनाइ छ। 

म्युचुअल फण्डसहित २२९ कम्पनीको सेयर कारोबार भए पनि २ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ।

मूल्य बढ्नेमा मनकामना स्मार्ट लघुवित्त र राष्ट्रिय बीमा कम्पनी मात्रै रहेका छन्। मनकामनाको सेयर नेप्सेमा सूचीकृत भएपछि लगातार मूल्य बढ्ने क्रममै रहेको छ। बीमा कम्पनीको मूल्य पनि अन्तिम मिनेटमा ३ रुपैयाँ मात्रै बढेको हो।

घट्ने क्रममा कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ८ प्रतिशत घटेको छ। श्री इन्भेष्टमेन्ट र आइसीएफसी फाइनान्सको सेयर मूल्य समान ७ प्रतिशतले घटेको छ। लिबर्टी इनर्जी र चन्द्रागिरी हिल्सको सेयर मूल्य समान ६ प्रतिशतले घटेको छ।

अरुण भ्यालीको सर्वाधिक ३८ करोड रुपैयाँको सेयर किनबेच हुँदा रिडी हाइड्रोको २८ करोड, अपि पावरको २५ करोड, युनाइटेड मोदीको २३ करोड र हिमालयन डिष्टिलरीको २० करोड रुपैयाँको कारोबार भएको छ।