काठमाडौं। साओमी नेपालले आफ्ना विभिन्न ब्राण्डका टेलिभिजन सेटहरुको मूल्य बढाएको छ। चिनियाँ ब्राण्ड साओमीले गत असार १८ गते भारतीय बजारमा टिभीहरुको मूल्य ३ देखि ६ प्रतिशतसम्म बढाएको थियो।
त्यसैको सिको गर्दै साओमी नेपालले एक महिना नबित्दै मंगलबारबाट लागू हुने गरी टेलिभिजन सेटहरुको मूल्य बढाएको छ।
साओमी नेपालले टिभीहरुको मूल्य १० हजार रुपैयाँसम्म बढाएको हो। साओमीले आफ्ना दुई वटा प्रिमियम ब्राण्डका टिभी फोर एक्स ६५ र फोर एक्स ५५ को मूल्य १० हजार रुपैयाँले बढाएको छ।
यसअघि फोर एक्स ६५ टिभीको मूल्य एक लाख २० हजार रुपैयाँ रहेकोमा बढाएर एक लाख ३० हजार रुपैयाँ पुर्याइएको छ। फोर एक्स ५५ को मूल्य ७५ हजार रुपैयाँबाट बढाएर ८५ हजार रुपैयाँ पुर्याएको कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा उल्लेख छ।
त्यसैगरी, एमआइ टिभी फोर ए ४० इन्चको ३८ हजार रुपैयाँ रहेकोमा दुई हजार रुपैयाँ बढाएर ४० हजार रुपैयाँ पुर्याइएको छ। साओमीले फोर ए ४३ होराइजन, एलइडी फोर ए ३२ को मूल्य भने बढाएको छैन। ४३ होराइजनको ४७ हजार र फोर ए ३२ को ३५ हजार रुपैयाँ नै यथावत रहेको कम्पनीले जनाएको छ।
(साओमी नेपालले सार्वजनिक गरेको टिभीहरुको नयाँ मूल्य)
साओमीले पछिल्लो पटक जुन २०२१ मा सार्वजनिक गरेको फोर एक्स ४३ इन्चको टिभीको मूल्य ६० हजार रुपैयाँ यथावत राखेको छ।
यसअघि साओमीले सन् २०२१ को जनवरीदेखि लागू हुने गरी टिभीहरुको मूल्य अधिकतम १० हजार रुपैयाँसम्म बढाएको थियो।
एमआइको फोर ए प्रो ४३ इन्चको टिभीको मूल्य ४० हजार रुपैयाँ रहेकोमा पाँच हजार रुपैयाँ बढेर ४५ हजार रुपैयाँ पुर्याएको थियो। यस्तै, एमआइ फोर एक्स ५५ इन्च टिभीको मूल्य ६५ हजार रहेकोमा १० हजार रुपैयाँ नै बढाएर ७५ हजार रुपैयाँ पुर्याएको थियो।
अन्तर्राष्ट्रिय बजारमै विद्युतीय सामाग्रीमा आवश्यक पर्ने प्यानलसँगै चिप्सको उत्पादनमा ह्रास आएसँगै टेलिभिजनको मूल्य बढ्दै गएको छ। आवश्यकताअनुसार पर्याप्त चिप्स नपाउँदा प्रोडक्टहरुको उत्पादनमै असर परिरहेको हो। योसँगै माग धान्न नसक्दा टेलिभिजन व्यापारीहरुले मूल्य बढाएर बिक्री गरिरहेका छन्।
टेलिभिजन सेट उत्पादक कम्पनीहरुले पनि अन्तर्राष्ट्रिय बजारमै प्यानल अभाव भएर माग धान्न नसक्दा त्यसको असर नेपालको स्थानीय बजारमा पनि देखिएको छ।
साओमी भारतका प्रवक्ता मनुकुमार जैनले भारतीय सञ्चारमाध्यमहरुसँग कुरा गर्दै आपूर्ति श्रृंखलामा अवरोध हुँदा आफ्ना उत्पादनहरुको मूल्य बढाउनुपर्ने अवस्था आएको बताएका थिए। विगत एक वर्षदेखि आपूर्ति चक्रमा अभाव देखिएकाले भारतीय बजारमा मूल्य बढेको उनको भनाइ थियो।
(एमआइका टिभीहरुको यसअघिको मूल्य)