वीरगंजको ड्राइपोर्ट भंसारमा रोकिएको केराउका कन्टेनर छुटन थाले, ६० भन्दा बढी कन्टेनरको जाँचपास 

बिजमाण्डू
२०७८ साउन ९ गते १०:५० | Jul 24, 2021
वीरगंजको ड्राइपोर्ट भंसारमा रोकिएको केराउका कन्टेनर छुटन थाले, ६० भन्दा बढी कन्टेनरको जाँचपास 

Tata
GBIME
Nepal Life

वीरगंज। सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएका केराउको कन्टेनर छुटन थालेका छन्। गत सोमबारदेखि केराउको कन्टेनरको जाँचपास हुन थालेको हो। 

वाणिज्य विभागले ड्राइपोर्ट भन्सारलाई केराउ जाँचपास गर्ने पत्र पठाएपछि गत साउन १ देखि रोकिराखेका कन्टेनर छुटन थालेको बन्दरगाह भन्सारका सूचना अधिकारी चुडामणी शर्मा कट्टेलले बताए। सोमबार २ वटा कन्टेनर छुटेको थियो। अहिलेसम्म ६० भन्दा बढी कन्टेनर छुटिसकेको उनले बताए।

'व्यवसायीले एक दिन पहिले राजस्व बुझाएर भोलिपल्ट छुटाइरहेका छन्,’ उनले भने, ‘करिब सय कन्टेनर जति थियो, त्यसमध्ये ६० भन्दा बढी गइसक्यो।' गत जेठ २४ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्सार विभागलाई पत्राचार गरी असार मसान्तसम्म केराउको जाँचपास गर्न कोटा दिएकाले सोही बमोजिम गर्न भनेको थियो। त्यसपछि भन्सार विन्दुमा केराउको जाँचपास रोकिएको थियो। 

पछि विभागले असार मसान्तसम्म सिपमेन्ट भइसकेका सामानको जाँचपास गर्न सकिने स्पष्ट पार्दै पत्र पठाएपछि रोकिएको केराउको जाँचपास हुन थालेको उनले जानकारी दिए। केराउ अमेरिका र क्यानडाबाट आयात गरिएका हुन्। वीरगंज नाकाबाट करिब आधा दर्जन आयातकर्ताले झिकाएका केराउ भित्रिएको छ।

वीरगंजसँगै विराटनगर भन्सार नाकालगायतबाट केराउ, केराउ, मरिच, छोकडा र सुपारीको आयात हुने गरेको छ। गत आवको लागि सरकारले ८० हजार टन केराउ आयातका लागि व्यवसायीलाई कोटा दिएको थियो। केराउ आयातमा १५ प्रतिशत भन्सार महसुल बुझाउनु पर्छ।