कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा नेवानि प्रयोग गर्न अनुरोध, मन्त्री सोध्छन् ‘नाफामा जान्छ?’

बिजमाण्डू
२०७८ असार १ गते १२:४८ | Jun 15, 2021
कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा नेवानि प्रयोग गर्न अनुरोध, मन्त्री सोध्छन् ‘नाफामा जान्छ?’

Tata
GBIME
Nepal Life

काठमाडौं। नयाँ पर्यटन मन्त्री नियुक्त भएसँगै नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान सेवा लिने सरकारी कर्मचारीलाई नेवानिकै जहाज प्रयोगको प्रावधान बनाउन अनुरोध गरेको छ।

नेवानिले सोमबार आयोजना गरेको पर्यटन मन्त्री उमाशंकर अरगरियाको सम्मान कार्यक्रममा प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले यस्तो प्रावधान बनाउनु जरुरी रहेको बताएका हुन्। 

निर्माण पूरा हुने चरणमा रहेको भैरहवाको गौतम बुुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका ग्राउन्ड ह्याण्डलिङ सेवा वापतको राजस्वमा पाँच वर्षका लागि छुट गराउनका लागि पनि पौडेलले सरकारलाई अनुरोध गरेका छन्। लगातार घाटामा गएको निगमलाई यतिबेला कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता नै नियमित गर्न गाह्रो परिरहेको छ।

पर्यटन मन्त्री अरगरियाले कर्मचारीसँग निगम के गर्दा नाफामा लैजान सकिन्छ भनेर सोधै। उनले निगमसँग भएका सबै जहाजको पूर्ण उपयोग गरी नाफामूलक बनाउन आह्वान गरे। दक्ष र योग्य जनशक्तिको प्रयोग गर्दै विगतमा कमाएको प्रतिष्ठा पुनः प्राप्तिका लागि सामूहिक प्रयासको आवश्यक रहेको भनाइ उनले राखे।  

'निगम नाफा कमाउनका लागि मात्रै नभइ सेवामूलक संस्था पनि हो। यो अवधारणासँगै अगाडि बढ्नका लागि सरकारको तर्फबाट पूर्णरूपमा सहयोग हुनेछ,' उनले भने। हाल कोभिड दोस्रो लहरको अवस्थामा निगमको भूमिका सराहनीय रहेको जनाउँदै उनले निकट भविष्यमा थप दरिलो  कार्ययोजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्ययोजना बनाउन आवश्यक रहेको बताए।

निगम विस्तारका लागि नयाँ मोडल अनुसारको योजना तयार पार्न आवश्यक रहेको पर्यटन सचिव यादवप्रसाद कोइरालाले बताए। 'संस्थालाई परम्परागत ढंगले अगाडि बढाउन सकिँदैन। नयाँ मोडल अनुसार संस्थालाई अगाडि बढाउनका लागि विभिन्न विकल्प बारे अध्ययन गर्न  आवश्यक छ,' उनले भने, 'यसका लागि पुँजी वृद्धि, व्यवस्थापनको उच्च सोच र कर्मचारीमा सामूहिक सक्रियताको आवश्यक छ।'

तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रीय कम्पनी बनाउनका लागि निगम सपरिवार सकारात्मक रुपमा अगाडि बढिरहेको प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए। कार्यक्रममा उनले मन्त्री अरगरियासमक्ष निगमको व्यवसायिक कार्य योजना प्रस्तुत गरे। 

'विश्वको करिब आधा जनसंख्या भएको चीन र भारत हवाई सेवाका लागि राम्रो बजार हो। वैदेशिक रोजगारमा जानेको संख्या पनि उल्लेख्य छ। यसकारण निगमले क्षेत्रीय विमान कम्पनीकै रूपमा लगानीको राम्रो प्रतिफल लिन सकिने देखिन्छ,' पौडेलले भने।