कोभिड-१९ दोस्रो लहर सुरु भएपछि आन्तरिक उडान संख्या ३०% सम्म घटाउने तयारी, भाडादर बढ्ने सम्भावना

बिजमाण्डू
२०७८ बैशाख १२ गते ०९:४४ | Apr 25, 2021
कोभिड-१९ दोस्रो लहर सुरु भएपछि आन्तरिक उडान संख्या ३०% सम्म घटाउने तयारी, भाडादर बढ्ने सम्भावना

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ दोस्रो लहर फैलिन सुरु भएसँगै नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडान ३० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। 

विमानस्थलमा यात्रुको भीड कम गर्न उडान संख्या कम गर्ने तयारी गरिएको हो। उडान संख्या घटेसँगै हवाई भाडादर तुलनात्मक रूपमा वृद्धि हुने व्यवसायीले जनाएका छन्। कोरोना संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई उडान संख्या घटाउनका लागि अध्ययन गर्न निर्देशन दिइसकेको महानिर्देशक राजन पोखरेलले बताए। 

मौसमी प्रतिकूलताका कारण उडान ढिला हुँदा विमानस्थलमा यात्रुको चाप हुने गरेको छ। यो भीडले संक्रमणको जोखिम उच्च बनाएको छ। त्यसैले  केही समयका लागि उडान संख्या घटाउन लागिएको महानिर्देशक पोखरलको भनाइ छ।  

'मौसम क्लियर हुँदा अहिले भइरहेकै उडान सहजै हुने गरेका छन्। तर अहिलेको अवस्थामा भिडभाड कम गर्न आवश्यक छ। मौसम क्लियर नहुँदा डोमस्टिक टर्मिनल भवन भित्र यात्रु खचाखच हुन्छन्,' उनले भने, 'सावधानी अपनाउनै पर्‍यो। भिडभाड कम होस् भन्ने उद्देश्यले प्राधिकरणले यो समयमा उडान संख्या घटाउने योजना बनाएको हो। सबै अध्ययन गरेर आइतबार घटाउन लागिएको उडान संख्या कति हुने भन्ने टुंगो लगाउने छौं।'                  '

उनका अनुसार हाल भइरहेको एक तिहाइ उडान संख्या घटाउने योजना प्राधिकरणको छ। यसका लागि विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरिनेछ। 'उडान संख्या घटाउनका लागि सरकारी पक्षबाट सम्झौता भइसकेको छ। वायुसेवा कम्पनीहरुसँग छलफल गरेर मात्रै उडान संख्या घटाइनेछ,' महानिर्देशक पोखरेलले भने।

उता वायुसेवा कम्पनीहरुले भने हाल हुँदै आएको उडानमा संख्या घटाएको अवस्थामा भाडादर स्वतः बढ्ने जनाएका छन्। उडान संख्या घटेका आधारमा हवाई भाडादर पनि बढ्ने निजी वायुसेवा कम्पनी यती, बुद्ध, श्री, सौर्य लगायतका वायुसेवा कम्पनीका प्रतिनिधिहरुले बताएका छन्।

'हामीले स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै यात्रुलाई सेवा दिँदै आएका छौं। अब उडडयन व्यवसाय माग र आपूर्तिको आधारमा सञ्चालन हुने हो। उडान संख्या घटाइएको अवस्थामा पनि भिडभाड कम हुन्छ भन्न सकिँदैन। वायुसेवा कम्पनीहरुले ७० सिटभन्दा बढी क्षमताकै जहाज उडान गर्दै आएका छन्,' बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भने,'अब जहाज क्षमता अनुसारको यात्रुको सहभागिता भएपछि त भिडभाड यसै पनि भइहाल्छ। यसको प्रत्यक्ष असर यात्रुलाई नै पर्न जान्छ।' 

उडान संख्या घटेसँगै विभिन्न गन्तव्यको भाडादर मध्यममा कायम हुने अवस्था रहेको यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। 'यतिखेर अधिकतम भाडादरको ३० देखि ४० प्रतिशतका  दरमा उडान सेवा दिँदै आइएको छ। उडान संख्या घटेसँगै हवाई भाडादर केही हदसम्म बढ्ने देखिएको छ,' उनले भने, 'अब अधिकतम भाडादर भित्रको ६० प्रतिशतसम्म बढ्न सक्छ। प्राधिकरणको निर्णयअनुसार हामी सेवा दिन तयार छौं तर यात्रुलाई केही हदसम्म मर्का पर्ने देखिन्छ।'   

आन्तरिक टर्मिनलमा यात्रु चहलपहल धेरै बढेकाले संक्रमणको जोखीम घटाउन उडान संख्या घटाउनु स्वभाविक हुने श्री एयरलाइन्सले जनाएको छ। यो अवस्थामा उडान संख्या घटेसँगै भाडादरका हिसाबले यात्रुलाई केही भार पर्ने कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। 

'आउजाउ धेरै बढेको छ। व्यवसायिक हिसाबले यो सकारात्मक हो तर संक्रमण विकराल रूपमा बढिरहेको अवस्था छ। वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सेवा दिँदै आएका छौं। काठमाडौं आउने यात्रु धेरै हुन थालेका छन्। केही समयका लगि उपत्यकामा भिड कम गराउनका लागि यो निर्णय गर्न लागिएको हो कि भन्ने लाग्छ,' प्रवक्ता मानन्धरले भने। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको तथ्यांक अनुसार आन्तरिकतर्फ शुक्रबार मात्र दुई सय ४८ उडान भएको छ भने अन्तर्राष्ट्रियतर्फ ४२ वटा उडान भएको छ।