जिउँदो कुखुराको मूल्यले रेकर्ड राख्दै, पुग्यो प्रतिकेजी ३०० रुपैयाँ, भाउ अझै बढ्ने संकेत

बिजमाण्डू
२०७८ बैशाख ५ गते १४:२८ | Apr 18, 2021
जिउँदो कुखुराको मूल्यले रेकर्ड राख्दै, पुग्यो प्रतिकेजी ३०० रुपैयाँ, भाउ अझै बढ्ने संकेत

Tata
GBIME
Nepal Life

काठमाडौं। बजारमा जिउँदो कुखुराको मूल्य हालसम्मकै उच्च भएको छ। पछिल्लो पटक भाउ प्रतिकेजी ३ सय रुपैयाँ पुगेको हो।

पछिल्लो समय कोभिडको असरसँगै रानीखेत रोगले उत्पादनमा ह्रास आउन थालेपछि बजारमा मासुका लागि कुखुराको आपूर्ति घटेको छ। आपूर्ति घट्न थालेपछि जिउँदो कुखुरा र तयारी मासुको भाउ उकालो लागेको व्यवसायीले बताएका छन्। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुराको मूल्य ३ सय पुगेको जनाएको छ। संघका अध्यक्ष जंगबहादुर बीसीले पहिलोपटक जिउँदो कुखुराको मूल्य उच्च भएको बताए।मागका अनुपातमा उत्पादन स्थिति निकै खराब भएको उनले बताए। 

हालको अवस्था हेर्दा जिउँदो कुखुरा र मासुको मूल्य कतिसम्म पुग्ला भन्ने अनुमान गर्न नसकिने बीसीको भनाइ छ। यस अघि संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ९० रुपैयाँ तोकेको थियो।

पहिले प्रतिकेजी २ सय ७० रुपैयाँसम्म पुगेको थियो। उत्पादनमा कमी आएयता दिनदिनै मूल्य बढ्न थालेको उनले बताए। 'कुखुरा उत्पादनमा कमी भइरहेको समयमा रानीखेत रोगले खोर नै सखाप हुन थालेको अवस्था छ,' उनले भने, 'बजारमा आपूर्ति घट्यो, माग बढ्यो।' 

कुखुराको मूल्य बढ्दा यसको असर आम उपभोक्तामा परेको छ। संघले तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ४ सय १५ रुपैयाँ तोकेको छ। यस अघि सघंले मासुको मूल्य ४ सय १० रुपैयाँ तोकेको थियो। उक्त मूल्य अनुसार बाहिर बजारमा उपभोक्ताले प्रतिकेजी ४ सय ५० रुपैयाँमा खरिद गरिरहेका थिए। 

 पोल्ट्री फार्मको क्षमताभन्दा एक चौथाइमात्र चल्ला उत्पादन हुन थालेपछि जिउँदो कुखुराको मूल्य बढ्न थालेको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए। उनका अनुसार उत्पादनमा ह्रास आइरहेको हालको अवस्था हेर्दा कुखुराको मूल्य प्रतिकेजी ५ सयभन्दा बढी पर्ने देखिएको छ। 

व्यवसायीका अनुसार हाल बजारमा मासुको खपत कोभिड अघिभन्दा ५० प्रतिशतभन्दा कम छ। मासुको माग धेरै नभएकाले मूल्य धेरै नबढेको व्यवसायीको तर्क छ। 'पहिले जस्तो दैनिक १० लाख केजी मासुको माग हुने हो भने कुखुराको मासु प्रतिकेजी ८ सय सम्म पुग्छ,' विष्टले भने, 'यसकारण उत्पादन कम भएको समयमा जिउँदो कुखराको मूल्य बढ्नु स्वभाविक हो।' 

केही समय अघि कोभिड नियन्त्रण हुन थालेपछि उत्पादन बढ्ने देखिएको थियो। प्यारेन्ट पनि आयात हुन थालेको थियो। अहिले पुनः प्यारेन्टको आयात कम हुन थालेको छ। सबै  देशमा कोभिड भएकाले प्यारेन्ट कुखुराको उत्पादन घटिरहेको छ। माग भए पनि सहजरूपमा पाइदैन। पाइहाले पनि प्यारेन्ट किन्ने क्षमता व्यवसायीहरु नभएको महासंघले जनाएको छ। 

पहिले उत्पादन धेरै हुँदा खपत बढेको थिएन, त्यसैले मूल्य घटेको थियो। गत वर्षदेखि कोभिडले कुखुरा उत्पादनले गति लिन सकेको छैन। सातामा ६ लाख चल्ला उत्पादन हुने फार्ममा यतिबेला एक लाख मात्र चल्ला उत्पादन भइरहेको छ।

चल्लाको मूल्य बढेर ८५ देखि ९५ रुपैयाँ पुगेको छ। पहिले भन्दा प्रतिचल्ला ४० रुपैयाँ बढेको छ। पछिल्लो समय चल्ला, अण्डा,  दाना र कुखुराको मूल्य लगातार बढिरहेको छ।