गुण एयरलाइन्स आठ वर्षपछि री-ब्याक, यतीसँग किनेको पाँच जेटस्ट्रिम उडाउने तयारी

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ चैत्र १० गते १७:३० | Mar 23, 2021
गुण एयरलाइन्स आठ वर्षपछि री-ब्याक, यतीसँग किनेको पाँच जेटस्ट्रिम उडाउने तयारी

Tata
GBIME
Nepal Life

काठमाडौं। एक दशकअघि स्थापना भएर विमानस्थलको धावनमार्गमा देखिन छाडेको निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सको नाम आठ वर्षपछि जहाजमा फेरि देखिने भएको छ।

गुणको नामबाट कम्पनीले पुनः उडान थाल्ने तयारी गरेको छ। पुरानो नाममा रिब्याक भएसँगै यती एयरलाइन्सका पाँच वटा जेटस्ट्रिम जहाज गुणले खरिद गरिसकेको कम्पनीका बजार प्रमुख एवं प्रवक्ता प्रज्वल थापाले बताए। 'पाँच वटै जेटस्ट्रिममार्फत तीन महीनाभित्रै उडान सुरु गर्ने तयारी गरिरहेका छौं,' उनले भने। 

गत शुक्रबार गुणका अध्यक्ष राजेन्द्र शाक्य र यतीका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालबीच जहाज खरिद बिक्रीका लागि एमओयुमा हस्ताक्षर भएको थियो। हाल सञ्चालित दुई वटा बिचक्राफ्ट जहाज र यतीसँग खरिद गरेको पाँच जेटस्ट्रिम जहाजसहित कम्पनीको जहाज संख्या सात वटा भएको छ।

यो कम्पनी सिम्रिक एयरलाइन्सको नामबाट सञ्चालनमा थियो। अब जहाज थपेपछि पुनः गुणकै नामबाट उडान थाल्ने भएको हो।

थापाका अनुसार हालै थपिएको पाँच जहाजमार्फत कम्पनीले सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, बिराटनगर, नेपालगन्ज, तुम्लिङटार लगायतका विभिन्न स्टल रुटमा नियमित उडान सेवा बिस्तार गर्ने छ। लकडाउन अघि कम्पनीले दुई बिचक्राफ्टमार्फत पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट लगायतका सेवा दिँदै आएको थियो।

कम्पनीले छिटै दुई वटै जहाजमार्फत नियमित उडान सुरु गर्ने तयारीका चरणमा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत वालकृष्ण श्रेष्ठले बताए। 'यो बीचमा हामी जहाज मर्मतसम्भार, नयाँ लोगो अनुसारको रंगरोगन, जहाज संख्या विस्तारमा लागिपरेका थियौं। नागरिक उड्डयन प्राधिकरणको रिक्वायरमेन्ट अनुसार काम गरिरहेका छौं,' उनले भने, 'फ्लिट एक्सपान्सन, एओसीका प्रक्रियामा छौं। प्राधिकरणको प्रक्रिया पूरा भए लगत्तै हामी सेवा सुरु गर्नेछौं।' 

उनका अनुसार नयाँ लोगोसहित दुई बिचक्राफ्ट उडानका लागि तयार भइसकेका छन्।  यतीसँग खरिद गरिएका जेटस्ट्रिम जहाज सञ्चालनका लागि कम्पनीले यतीमै कार्यरत इन्जिनियर, क्याप्टेन लगायतका जनशक्ति प्रयोग गर्ने योजना रहेको उनले जानकारी दिए।  'सर्वप्रथम थपिएका पाँच जेटस्ट्रिम जहाजलाई सेटअप गर्नेछौं। यो सेटअपपछि हामी आफ्नो सेवा र क्षमता विस्तरलाई अगाडी बढाउने योजनामा छौं,' उनले भने, 'एयरलाइन्स बिजनेसमा एकैपटक अपग्रेड गर्न गाह्रो छ।'

अहिलेका लागि जेटस्ट्रिम जहाज सञ्चालनलाई पहिलो प्राथमिकता दिएको उनले बताए। 'जहाजमात्र ल्याएर भएन, यसैलाई स्मुथ अपरेसनमा ल्याइएसँगै अपग्रेड गर्दै जानेछौं,' उनले भने। 

सन् २००९ मा स्थापना भएको यो कम्पनी 'गुण एयरलाइन्स' सन् २०१३  देखि सिम्रिक एयरलाइन्सको नाममा सञ्चालन हुँदै आएको थियो। यसको सञ्चालक समूहमा सिम्रिक हेलिकप्टरका सञ्चालक क्याप्टेन रामेश्वर थापा पनि थिए। उनी भने गुणको सञ्चालक समूहमा छैनन्।