वीरगंज। गर्मी बढेसंगै वीरगंजदेखि पथलैया र पोखरीयासम्म यात्रा गर्ने सर्वसाधारणले धुलोको समस्या भोग्नु परेको छ ।
वीरगंज–पथलैया तथा वीरगंज–पोखरीया सम्मको सडकखण्डमा विस्तारको काम भइरहेकाले यात्रुहरु धुलाम्मे हुँदै यात्रा गर्न बाध्य भएका हुन्।
वीरगंज १२ मुर्लीका राजकिशोर गुप्ताका अनुसार वीरगंजबाट पथलैयाको वीचमा गण्डक, परवानीपुर, जितपुर, सिमरालगायत क्षेत्रमा ठेकेदारले सडक विस्तारको काममा ढिलाई गरेको र
केही ठेकेदारले दैनिक रुपमा डाइभर्सन सडकमा पानी छम्किने नियम पालना नगर्दा यात्रु मर्कामा परेका हुन्।
उनले भने,‘एक चोटी वीरगंजबाट पथलैया जाँदा पुरै कपडा बर्बाद हुन्छ, त्यसमाथी धुलोले सास फेर्न पनि कठिनाई हुने गरेको छ । गाडीहरुले पनि धुलो उडाउँदै हिड्छन् ।'
वीरगंज २५ श्रीसियाका रामभजन ठाकुरका अनुसार पप्पु कन्सट्रक्सन वीरगंजले पनि ड्राईपोर्टको लक्ष्मी आयलदेखि आईसिपीसम्म सडक विस्तार तथा तिलावे पुलको काममा ढिलाई गरेको र धुलो उड्न नदिन पानी समेत नछर्केकोले छर्दा उक्त बाटो प्रयोग गर्नेहरुलाई समस्या भएको छ।
सरकारले सडक विस्तार वा पुल निर्माणको काम गराउन ठेक्का सम्झौता गर्दा सडकमा धुलो उड्न नदिने गरी पानी छर्केर सडकको कामलाई पूरा गर्ने शर्त राखेका हुन्छ । तर ठेकेदारले भने लापरवाही देखाएका छन्।
वीरगंज पथलैया सडकमा पप्पु, एमआर कन्टेक, यूनाइटेड, दिवा सपना जस्ता निर्माणक कम्पनीहरुले काम गरिरहेका छन् ।
सडक विस्तारको नियमन गर्ने निकाय वीरगंज पथलैया व्यापारिक मार्ग परियोजना कार्यालय पथलैया हो ।
तर उसको पनि उदासिनताको कारण यस भेगका जनताले सास्ती भोग्नु परेको सर्वसाधारणले गुनासो गरेका छन् । तिलावे पुलको दक्षिणबाट पनि बनाइएको डाइभर्सन सडकबाट पनि दैनिक धुलाम्मे भएर यात्रा गर्ने गरेको उनीहरुले बताए।