गोदावरीमा बनिरहेको सभाहलको काम चैतमा सक्ने तयारी, दुई सिफ्टमा द्रुत गतिमा काम हुँदै

उन्नत सापकोटा/बिजमाण्डू
२०७७ फागुन १८ गते ०८:४९ | Mar 2, 2021
गोदावरीमा बनिरहेको सभाहलको काम चैतमा सक्ने तयारी, दुई सिफ्टमा द्रुत गतिमा काम हुँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना महामारीको प्रभावले समयमै सम्पन्न हुन नसकेको गोदावरीमा निर्माणाधीन तीन हजार मानिस क्षमताको सभाहल चैत मसान्तसम्म सक्ने गरी काम भइरहेको छ।

सरकारले २०७६ असोजमा गोदावरी सभाहल निर्माणको ठेक्का केसी-समानान्तर जेभीलाई दिएको थियो। सोही वर्षको चैतभित्र निर्माण सक्ने योजना रहे पनि पूरा हुन सकेन। 

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका इन्जिनियर देवेन्द्रदेव खनालले कोरोना महामारी र हरिसिद्धि-गोदावरी सडक विस्तारमा देखिएको अवरोधका कारण समयमै सभाहल निर्माण हुन नसकेको बताउँछन्। 

'कोरोना महामारीका कारण कामदारहरुले काम गर्न पाएनन्। हवाई उडान र सीमा नाका बन्द हुँदा आवश्यक सामाग्री तथा उपकरणहरु साइटमा आउन नसक्दा निर्माण प्रभावित हुन पुग्यो,' खनालले बिजमाण्डूसँग भने। 

कोरोनाको प्रत्यक्ष असर भने सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेपछि मात्रै परेको थियो। चैतमा सभाहल निर्माण सक्ने बेला सुरु भएको लकडाउनलाई निर्माण ढिलाइ हुनुको कारण भन्नु त्यति उपयुक्त देखिँदैन। तर, हरिसिद्धि-गोदावरी सडकलाई लिएर विभिन्न समयमा अवरोध हुनु र गोदावरीको चिसो मौसमका कारण हिउँदमा रातको सिफ्टमा काम गर्न नसक्नुले एक सिफ्टमा मात्रै काम हुँदा निर्माण समयमा नसकेको खनालको जिकिर छ। 

सरकारले कोरोनाकालसहित अन्य कारणले सभाहल निर्माणमा असर परेको भन्दै ६ महिना म्याद थपेर चैत २०७७ सम्म निर्माण गर्ने योजना बनाएको छ। 

'चैत मसान्तसम्ममा सभाहल निर्माणको काम सक्ने हामीले टार्गेट लिएका छौं,' खनालले बिजमाण्डूसँग भने। 

आगामी महिनाभित्र भने सभाहल निर्माणको काम सकिने दाबी खनालको छ। चिसो कम भएकाले सभाहल निर्माणको काम अहिले दुई सिफ्टमा भइरहेको उनले जानकारी दिए।

अहिले सभाहलको छाना छाउने काम अन्तिम चरणमा रहेको र फिनिसिङ पनि धमाधम भइहरहेको खनालले बताए। उपलब्ध कामदारहरुलाई धेरै समूहमा बाँडेर फिनिसिङको काम भइरहेको छ। स्ट्रक्चर निर्माण सकेर हल बाहिरको ल्याण्डस्केपको काम भने भइरहेको बताइएको छ। 
दुवै सिफ्टमा अहिले दुई सय ८० देखि तीन सय जना कामदारबाट निर्माणको काम भइरहेको छ।

सभाहल निर्माणको काम अहिलेसम्म ८०-८२ प्रतिशत सकिएको उनले जानकारी दिए। सभाहल निर्माण गर्न अहिलेसम्म ४८% बजेट खर्च भइसकेको छ। गत कात्तिकमै प्रधानमन्त्री केपी शर्मा ओलीसहित सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सभाहल निर्माणको निरीक्षण गर्दै सरकार गठनको तीन वर्षे अवधि अर्थात् गत फागुन ३ गते सभाहल उद्घाटन गर्ने गरी काम सक्न निर्देशन दिएका थिए। 

निर्देशनअनुसार फागुनमा काम नसकिएपछि चैतभित्रमा सभाहल निर्माण गर्ने तयारीमा विभाग पुगेको छ। ठूलो क्षमतासहितको अन्तर्राष्ट्रियस्तरको सभाहल नहुँदा सरकारले आयोजना गर्ने सभा-सम्मेलनहरु राष्ट्रिय सभा गृहलगायतका स्थानहरुमा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। 

नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसदका बैठकहरु सञ्चालन गर्दै आएकाले ठूलो क्षमताका सभाहलको अभाव खड्किँदै आएको छ। कुल ४३ रोपनीमा निर्माण भइरहेको यस परियोजनाको ११ रोपनीभन्दा बढीमा क्षेत्रफलमा सभाहल, तीन रोपनीमा भित्री सडक, १३ रोपनीमा पार्किङस्थल र १६ रोपनीमा खुला स्पेससँगै बगैंचासहितको हरित क्षेत्र निर्माण भइरहेको छ। 

सरकारले सभाहल निर्माणका लागि भ्याटसहित ६५ करोड रुपैयाँमा केसी समानान्तर जेभीलाई ठेक्का दिएको विभागले जनाएको छ।