एफएनसीसीआई र बैंकर्स संघबीच सम्झौता, साना उद्यमीलाई कर्जा दिन सहजीकरण गर्ने

बिजमाण्डू
२०७७ फागुन १३ गते २१:५१ | Feb 25, 2021
एफएनसीसीआई र बैंकर्स संघबीच सम्झौता, साना उद्यमीलाई कर्जा दिन सहजीकरण गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमीहरुका लागि कर्जा सहजीकरणका लागि सम्झौता भएको छ। सम्झौतामा महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष भुवन दहालले हस्ताक्षर गरे।

सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु गरेलु तथा मझौला उद्यमको प्रवर्द्धनका लागि कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्नेछ। यस्तै लघु, घरेलु, साना तथा मझौला उद्यम तथा व्यवसायको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने पनि सम्झौतामा उल्लेख छ।

उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरु तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि गर्नेछ । अध्यक्ष गोल्छाले साना उद्यमीहरुका लागि ऐतिहासिक सम्झौता भएको बताउँदै यो सम्झौताले महासंघ ठूला व्यवसायीका लागि मात्रै नभएर साना व्यवसायीको समेत रहेको प्रमाणित भएको बताए।

संघका अध्यक्ष दहालले  देशभर ४ वटा स्थानीय तह बाहेक सबैमा वाणिज्य बैंकका शाखा पुगिसकेको बताउँदै लघु घरेलु तथा साना उद्यमीलाई सेवा दिन समस्या नहुने बताए। वित्तीय साक्षरताका लागि आवश्यकता अनुसार प्रदेश स्तरमा कार्यक्रम गर्ने पनि सम्झौतामा उल्लेख छ । यो सम्झौता दुई वर्षका लागि लागू हुने र आवश्यकता अनुसार थप गर्न अथवा दुई महिनाको सूचना दिएर कुनै एकपक्षले भंग गर्न सकिने व्यवस्था छ।