बजारमा ४५ अंकको गिरावट, कारोबार रकम ६ अर्बमा सीमित, किन घटिरहेको छ कारोबार रकम र सूचक?

बिजमाण्डू
२०७७ फागुन १३ गते १५:४७ | Feb 25, 2021
बजारमा ४५ अंकको गिरावट, कारोबार रकम ६ अर्बमा सीमित, किन घटिरहेको छ कारोबार रकम र सूचक?

Tata
GBIME
Nepal Life

काठमाडौं। बिहीबार सेयर बजार सूचक नेप्से करिब ४५ अंकले घटेर २५ सय ५४ बिन्दुमा आएको छ। बजार घटेपछि कारोबार रकम समेत घटेर ६ अर्ब रुपैयाँमा सीमित भएको छ। गत बुधबार पनि कारोबार रकम ६ अर्ब रुपैयाँ हाराहारीमै सीमित भएको थियो।

सबै उपसूचक रातो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह करिब ३०० अंकले घट्दा निर्जीवन बीमा समूह पनि १७६ अंकले घटेको छ।
उत्पादन समूह ७२ अंक, लघुवित्त समूह ६० अंक,  व्यापार समूह ५५ अंक, विकास बैंक ४७ अंक, बैंकिङ समूह ३७ अंक, अन्य समूह ३६ अंक र जलविद्युत समूह २७ अंकले घटेको छ।

२०६ कम्पनीको सेयर कारोबार भएकोमा १० कम्पनीको मात्रै मूल्य बढेको छ। चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशत र नेशनल हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले बढ्नु बाहेक अन्य कम्पनीको सेयर मूल्य सामान्य मात्रै बढेको छ। १६० भन्दा धेरै कम्पनीको मूल्य घटेको छ।

श्री इन्भेष्टमेन्ट, आइएमई जनरल इन्स्योरेन्स, समृद्धि फाइनान्स र माउन्टेन हाइड्रोको सेयर मूल्य ४/५ प्रतिशतले घटेको छ।
निफ्राको सर्वाधिक ९० करोड रुपैयाँको सेयर किनबेच भएकोमा नबिल बैंक, नेशनल हाइड्रो र नेपाल बैंकको २१/२१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

निफ्राको १६ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा नेशनल हाइड्रोको १३ लाख ७२ हजार कित्ता र नेपाल बैंकको चार लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ।

८३ हजार कारोबारबाट २०६ कम्पनीका एक करोड ५८ लाख कित्ता सेयर ६ अर्ब १० करोड रुपैयाँमा किनबेच भएका छन्। १० कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो भने बाँकी सबै कम्पनीको मूल्य घटेको छ।

किन घटिरहेको छ कारोबार रकम र सूचक दुवै?

सरकार परिवर्तन हुँदा भोलि कुन अर्थमन्त्री आउँछन् र उनले बजारलाई कसरी हेर्छन भन्ने अन्योलका कारण ठूला लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा भएकाले कारोबार रकम र सूचक दुवैमा ठूलो गिरावट आएको सेयर विश्लेषकहरु बताउँछन्।

सेयर बजारले एक किसिमको उचाइ लिइसकेपछि नाफा बुक गर्ने गरी करेक्सन पनि आएको थिएन। राजनीतिक माहोलको बहानामा लगानीकर्ताले नाफा बुक गर्ने अवसर सदुपयोग गरेको विश्लेषकको भनाइ छ।

केही ठूला लगानीकर्ता बजारबाट बाहिरिएर घरजग्गा जोड्नमा केन्द्रित भएकाले पनि बजारमा कारोबार रकममा गिरावट आएको विश्लेषकको भनाइ छ।