अन्तर्राष्ट्रिय उडान चाप घटेपछि टीआइए सञ्चालन समयावधि घटाइँदै, चैत १५ देखि १८ घन्टा मात्रै

बिजमाण्डू
२०७७ फागुन ८ गते ०७:३३ | Feb 20, 2021
अन्तर्राष्ट्रिय उडान चाप घटेपछि टीआइए सञ्चालन समयावधि घटाइँदै, चैत १५ देखि १८ घन्टा मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर्राष्ट्रिय उडान ट्राफिक कम भएसँगै नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) सञ्चालन समय घटाउने निर्णय गरेको छ।

प्राधिकरणले आउँदो चैत १५ गतेदेखि विमानस्थल १८ घण्टा सञ्चालनमा ल्याउने निर्णय गरेको प्रवक्ता राजकुमार क्षत्रीले बताए। 'अन्तर्राष्ट्रिय उडान ट्राफिक कम छ। यो अवस्थामा प्राधिकरणको मात्र नभइ विभिन्न निकायको जनशक्ति परिचालन गर्दा खर्च मात्र भइरहेको पाइएपछि विमानस्थल सञ्चालन समय घटाइएको हो,' उनले भने, 'हवाई ट्राफिक सामान्य अवस्थामा फर्किएसँगे विमानस्थल सञ्चालन समय पुनः २१ घण्टा कायम गर्ने योजना बनाएका छौं।' 

हाल विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा छ। चैत १५ देखि भने दैनिक १८ घण्टा मात्रै सञ्चालनमा आउने छ। हाल नेपाल वायुसेवा निगम, कतार एयरवेज र फ्लाइ दुबई लगायतका वायुसेवा कम्पनीले  राती १२:३० बजेपछि नियलमत उडान गर्दै आएका छन्।

हाल विमानस्थल दैनिक बिहान ६:बजेदेखि राती ३ बजेसम्म सञ्चालनमा छ। नयाँ निर्णय लागू भएपछि भने बिहान ६ बजेदेखि राती १२:०० बजेसम्म संचालन हुने प्रवक्ता क्षत्रीले जानकारी दिए। 'मार्चदेखि समर सेडुल सुरु हुनेछ। यसका लागि हामीले सेडुल बनाउन सुरु गरिसकेका छौं,' उनले भने, 'विभिन्न वायुसेवा कम्पनीसँग यो विषयमा छलफल भइसकेको छ। हामीले १८ घण्टाको अवधिलाई मध्यनजर गर्लै उडान तालिका व्यवस्थापन गर्नछौं।' 

हाल अन्तर्राष्ट्रियतर्फ विभिन्न वायुसेवा कम्पनीका जहाजले दैनिक १० देखि १५ वटा उडान गर्दै आएको विमानस्थलले जनाएको छ।