नेप्से बढेपनि सेन्सेटिभ सूचक लगातार तीन दिनदेखि घटेको घट्यै, सेन्सेटिभ घट्नुको अर्थ के हो?

बिजमाण्डू
२०७७ माघ १४ गते १६:१३ | Jan 27, 2021
नेप्से बढेपनि सेन्सेटिभ सूचक लगातार तीन दिनदेखि घटेको घट्यै, सेन्सेटिभ घट्नुको अर्थ के हो?


 

Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो तीन दिनमा धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार उतारचढाव देखिएको छ। यसबीच वित्तीय रुपमा राम्रो अवस्थामा भएका कम्पनीहरुको बजार अवस्था मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने लगातार घटिरहेको छ।

सेन्सेटिभ इन्डेक्समा मापन हुनेगरि वर्गीकरणमा परेका कम्पनीहरुलाई धितोपत्रको दोस्रो बजारको  लय दिशानिर्देश गर्नमा अन्य कम्पनीभन्दा बढी संवेदनशील मानिन्छ । यसकारण लगानीकर्ताले यस वर्गका कम्पनीलाई 'क' वर्गका समेत भनेर बुझ्ने गरेका छन् । सेन्सेटिभ इन्डेक्स गणनाका लागि अहिले यस समूहमा ११७ कम्पनी छन्।

सोमबार धितोपत्र बजारको समग्र परिसूचक 'नेप्से सूचक' १६ अंकले बढेर २४४० विन्दु पुग्यो । तथापि, संवेदनशील समूहका कम्पनीहरुको सेयर मूल्य घटेपछि सेन्सेटिभ इन्डेक्स भने रातो भएर बन्द भएको थियो। उक्त दिन सेन्सेटिभ इन्डेक्स १.९३ अंकले घट्दै ४५० अंकमा रोकिएको थियो।

मंगलबार भने नेप्से समेत १७ अंकले घटेको थियो। नेप्से सूचक नै दोहोरो अंकले घट्दा यसको लय प्रभावित गर्ने सेन्सेटिभ सूचक पनि ४.५८ अंकले घटेको थियो।

बुधबार नेप्से सूचक १८ अंकले बढेर २४४१ अंक पुगेको छ। सेन्सेटिभ सूचक भने फेरि पनि घटेर ४४६ अंकमा ओर्लिएको छ। पछिल्लो तीन दिनमा नेप्से सूचक समग्रमा १७ अंकले बढेपनि सेन्सेटिभ सूचक भने सात अंक भन्दा धेरैले घटिसकेको छ।

सेन्सेटिभ इन्डेक्स लगातार घट्नुको अर्थ के हो ?

चुक्ता पुँजी कम्तिमा दुई करोड रुपैयाँ भएका, साधारण सेयरधनी संख्या कम्तिमा एक हजारभन्दा बढी भएका, लगातार तीन वर्षदेखि नाफामा रहेका, सेयरको अंकित मूल्य (पार भ्यालु) भन्दा 'बुक भ्यालु' बढी भएका र आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने कम्पनीहरुलाई समेटेर सेन्सेटिभ इन्डेक्स गणना गर्ने गरिएको छ । यस समूहमा अहिले ११७ कम्पनी छन् ।

यसको अर्थ वित्तीय प्रदर्शनी उच्च भएका कम्पनीहरु मात्रै यो समूहमा पर्छन्। अहिले यस्तै राम्रा-राम्रा भनिएका कम्पनीको सेयर मूल्य भने लगातार घटिरहेको छ। 

नेप्सेले सन् २००७ जनवरी १ देखि मात्रै सेन्सेटिभ इन्डेक्स कार्यान्वयनमा ल्याएको थियो।

कारोबारको दोस्रो दिनमै हिसाब राफराफ गर्ने प्रावधान 'टी+२' कार्यान्वयनमा आएपछि बजार सुस्त भएको सेयर विश्लेषक बिष्णु बस्यालको बुझाइ छ। बजार सुस्त हुँदा धेरै मूल्य भएका क वर्गका कम्पनीको आपूर्ति धेरै भएकाले सेन्सेटिभ इन्डेक्स घटेको उनको विश्लेषण छ।

अहिले मार्केट कता जान्छ भन्ने अन्योलमै रहेको र लगानीकर्ताहरु ठूलाभन्दा पनि साना-साना कम्पनीमा खेलिरहेकाले सेन्सेटिभ इन्डेक्स घटेको बजार विश्लेषकहरुको बताउँछन् ।

पछिल्लो तीन दिनको मुभमेन्ट हेर्दा लगानीकर्ताहरु क्षेत्र परिवर्तन गरेर सेयर बजारमा खेलिरहेका छन्। धेरै मूल्य भएका ठूला कम्पनीको सेयरमा खेल्ने ठाउँ कम भएपछि लगानीकर्ताहरु अन्य साना कम्पनीमा खेलिरहेका हुन्। 

बुधबार अधिकांस सूचक राता
नेप्से कता जान्छ भन्ने अन्योल रहेपनि कारोबार रकममा भने कमी आएको छैन। सूचक २४४१ अंक पुग्दा ८ अर्ब ६२ लाख रुपैयाँको कारोबार भएको छ।

निर्जीबन बीमा समूहको सूचक ४६४ अंकले बढेपनि अन्य सूचकमा ठूलो अंकको बढोत्तरी आएको छैन। घट्ने उपसूचकमा उत्पादन समूह ३३, होटल २४ र बैंकिङ समूह १० अंकले घटेको छ।

नेपाल लाइफ, आरम्भ चौतारी लघुवित्त, ग्रामिण विकास लघुवित्त, सपोर्ट माइक्रो फाइनान्स, प्रभु लाइफ र नेश्नल हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

नेपाल लाइफको ९३ करोड रुपैयाँको कारोबार हुँदा प्राइम कमर्सियल बैंकको ३७ करोड, नेपाल बैंकको  २८ करोड, प्रभु बैंकको २७ करोड र नेशनल लाइफको २४ करोड रुपैयाँको किनबेच भएको छ।

२०८ कम्पनीका एक करोड ५२ लाख कित्ता सेयर आठ अर्ब रुपैयाँमा किनबेच हुँदा ९५ कम्पनीको मूल्य बढेको छ। ६२ वटा कम्पनीको मूल्य घटेको छ। १८ कम्पनीको मूल्य भने स्थिर रहेको छ।