देशभर आजदेखि कोरोनाको खोप लगाउन सुरु, पहिलो खोप पाटन अस्पतालका डाक्टरले लगाए

बिजमाण्डू
२०७७ माघ १४ गते ११:०३ | Jan 27, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ भएको छ। बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन्। यसै क्रममा पाटन अस्पतालका डा पारसकुमार आचार्यले कोभिडविरुद्को खोप लिएका छन्।

प्रधानमन्त्री ओलीले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र एक सय २० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ।

यस्तै ७७ जिल्लाका तीनसय खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ। ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए।

नेपालमा कोभिड–१९ को संक्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन्। नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो।

काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन्। भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ। कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन्। भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो।

पहिलो चरणमा खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले बुधबार ०.५ मिलिलिटर (मिलि) मात्रा खोप प्रदान गरिने जानकारी दिए।

 पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ। खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाकी लाग्नेजस्ता समान्य असर देखिने उनले बताए।

खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय संक्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नु पर्दछ।