सुपाडी, केराउ, मरिच र छोकडाको मौज्दात सकिएपछि अवैध कारोबारीहरू चिनीको तस्करीमा

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ माघ १४ गते १०:३५ | Jan 27, 2021

Tata
GBIME
Nepal Life

विराटनगर। सरकारले सुपाडी, केराउ, मरिच र छोकडाको आयातमा रोक लगाएपछि अवैध कारोबारीहरु चिनीको तस्करीमा लागेका छन्।

गत १० महिनाको अवधिमा व्यवसायीसित अनधिकृत रूपमा भारत निकासी गरिने मालवस्तुको मौज्दात सकिएपछि उनीहरु चिनीको अवैध आयातमा लागेका हुन्।

गत वर्षको चैत १६ गतेदेखि भारत तस्करी गरिने मुख्य ४ वस्तुको आयातमा रोक लगाएको थियो।

भारततर्फ गैरकानुनी रूपमा निकासी गरिने मालवस्तुको मौज्दात सकिएपछि अनधिकृत व्यापार गर्न पल्किएकाहरू निकासी छाडेर अवैध आयाततर्फ सल्किएका छन्। अनधिकृत आयातको मुख्य वस्तु अहिले चिनी भएको छ।

भारतको थोक बजारमा चिनीको मूल्य यति बेला प्रति किलोग्राम ५५ देखि ५८ रुपैयाँ छ।  नेपालका चिनी उद्योगहरूले प्रति किलोग्राम ७७ देखि ७८ रुपैयाँमा बिक्री गरिरहेका छन् । प्रति किलोग्रामको मूल्यमा २० रुपैयाँसम्म फरक परेपछि अवैध कारोबारीले चिनीलाई प्राथमिकता दिएका हुन्।

विराटनगर, शनिहाटका थोक व्यापारी देवकीनन्द अग्रवाल लकडाउनका अवधिमा प्रतिदिन ३० बोरासम्म चिनी बिक्री गर्थे। असोज लागेसँगै उनको पसलबाट चिनीको बिक्री कम हुँदै गयो। हिजोआज भ्याट बिल चाहिने कारखानाले कहिलेकाहीँ लान्छन्। खुद्रा किराना पसलेले लग्दैनन्।

‘अनुगमनलाई देखाउन कुनै–कुनै खुद्रा, किराना पसलले भ्याट बिलसहितको एक बोरा चिनी कहिलेकाहीँ खरिद गर्छन्,’ व्यवसायी अग्रवालले भने, ‘एक पटकको भ्याट बिलले ५/६ महिनासम्म चल्छ क्यारे। त्यही खुद्र व्यापारी ५/६ महिनामा फेरि भ्याट बिलसहितको चिनी खोज्दै आइपुग्छन्।’

अग्रवालले थपे, 'असोजयता एक पटक एक बोरा चिनी खरिद गरिरहेको व्यवसायी लकडाउनका बेलामा सीमा सिलबन्दी हुँदा दिनको एक बोरा लैजान्थ्यो। यसबाट यहाँ तस्करीको चिनी फालाफाल छ भनेर स्पष्टै देखिन्छ।’

विराटनगरको गुदरी बजारमा पर्ने शंकर किराना, मुरारी किराना, क्वालिटी किराना, पवन किराना लगायतका धेरै खुद्रा पसलमा एकछिन दलाली गर्ने ग्राहकले प्रति किलोग्राम ७५ रुपैयाँमा चिनी खरिद गर्न पाइरहेका छन्।

सुनसरीको इस्टर्न सुगर मिल्सका प्रबन्धक कृष्ण गौतम भन्छन्, ‘हामी नै प्रति किलोग्राम ७६ देखि ७७ रुपैयाँमा थोक विक्रेतालाई चिनी बिक्री गरिरहेका छौं भने खुद्रा पसलमा ७५ रुपैयाँमा पाइनु अचम्म नै हो। यो चिनी तस्करीको हो भन्ने कुरा मूल्यबाटै प्रमाणित हुन्छ। नेपालका कारखानाबाट लगेको चिनी खुद्रा पसलेले प्रति किलोग्राम ८० रुपैयाँभन्दा माथिमा बेच्दामात्र नाफा हुन्छ।’

प्रबन्धक गौतमका अनुसार पुसको आरम्भदेखि उखु क्रसिङ र चिनी उत्पादनको नयाँ सिजन लागेको छ। तर सीमा क्षेत्रका कुनै पनि व्यवसायीले कारखानाबाट चिनी लगेका छैनन्। बिक्री भएकोमध्ये ९५ प्रतिशतभन्दा बढी चिनी काठमाडौं वा पूर्वी पहाडी क्षेत्रमा गएको छ।

नेपालका चिनी उद्योगले चिनीको मूल्य प्रति किलोग्राम ७७ देखि ७८ रुपैयाँ बनाएपछि व्यवसायी जीवन रिजालले भारतबाट ३ सय मेट्रिक टन आयात गरिसकेका छन्।

‘भारतीय चिनी ४० प्रतिशत भन्सार महसुल र भ्याट तिरेर ल्याउँदा गोदाममा प्रति किलो ७४ रुपैयाँ भएर आएको छ,’ रिजालले भने, ‘तर बिक्री ठ्याप्पै छैन। खुद्रा किराना पसलमै ७५ रुपैयाँ किलोग्राममा पाइन्छ भने भ्याट तिरेको भीसीटीएस बनाएर ढुवानी गरेको हाम्रो चिनी कसले खरिद गर्छ?’

आफूले आयात गरेको चिनी, बिस्कुट र कन्फेक्सनरीका उद्योगलाई बिक्री गर्ने उनले जानकारी दिए।

जानकारहरूका अनुसार सीमा क्षेत्रका सबै छोटी नाकाबाट चिनीको तस्करी भइरहेको छ। मोरङमा सबैभन्दा बढी चिनी तस्करी हुने स्थान पूर्व-दक्षिण सीमान्त क्षेत्रको रतुवामाई, बरडंगा र विराटनगरमा प्रदेश प्रहरी कार्यालय नजिकैको दरैया बस्ती, इस्लामपुर र मटेरुवा हुन्।

रतुवामाई बरडंगा कार्यक्षेत्र भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख एवम् प्रहरी निरीक्षक विष्णु खड्काले आफ्नो गस्ती टोलीले तस्करीको चिनी नियमित रूपमा पक्राउ गरिरहेको जानकारी दिए।

प्रहरी निरीक्षक खड्काले शंका लागेका व्यक्तिको घर र पसल खानतलासी गर्ने र सिमानामा कडाइ गर्ने दुवै काम निरन्तर भइरहेको बताए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले सीमा क्षेत्रमा यसअघि कहिल्यै नगरिएको ‘टाइट’ अहिले भइरहेको दाबी गरे।