सोमबार सेयर बजारमा देखियो तीव्र उतारचढाव, अब अध्ययन गरेर मात्रै लगानी गर्न विश्लेषकको सुझाव

बिजमाण्डू
२०७७ माघ १२ गते १५:३१ | Jan 25, 2021


 
काठमाडौं। सोमबार प्रि-ओपनिङ सेसनदेखि दिनैभर नै सूचकमा उतारचढाव आए पनि अन्ततः १६ अंकको वृद्धिसहित बजार बन्द भएको छ।

Tata
GBIME
Nepal Life

नेप्से सूचक १६ अंकले बढेर २४४० अंक पुगे पनि ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य घटेपछि सेन्सेटिभ इन्डेक्स भने रातो भएर बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स १.९३ अंकले घट्दै ४५० अंकमा रोकिएको छ।

लगानीकर्ताको सेन्टिमेन्ट बजार बढ्छ भन्ने नै भए पनि नेपालको सेयर बजार ऐतिहासिक उचाइमा रहेकाले अब भने लगानी गर्नुभन्दा पहिले धेरै नै अध्ययन गर्नुपर्ने बेला भएको सेयर बजार विश्लेषक अनलराज भट्टराईले बताए।

'पहिले पहिले लगानी गरिसकेपछि अध्ययन गर्दा पनि हुन्थ्यो। यो लेवलमा आइसकेपछि लगानी गरौं पछि अध्ययन गरौंला भनेर हुँदैन,' उनले भने। लगानी गर्नुअघि नै धेरै भन्दा धेरै अध्ययन गरेर मात्रै गर्नुपर्ने बेला भएको उनको भनाइ छ।

संसारभर नै स्टक मार्केट बढिरहेकाले नेपालमा पनि त्यसको प्रभाव परेको छ। तर नेपालको राजनीतिक वातावरण अस्थिर देखिएकाले यो उचाइमा लगानी गर्ने बेलामा आफू सुरक्षित हुन्छु की हुन्न भनेर धेरै पटक अध्ययन गरेर मात्रै लगानी गर्दा बजारले पनि स्थायित्व पाउन सक्ने उनको बुझाइ छ।

यस्तो देखियो उतारचढाव

सामान्य सेसनमा कारोबार भएको ५ मिनेटमै २४५७ अंकसम्म उक्लिएको बजार त्यसपछि भने निरन्तर ओरालो लाग्दै आधा घण्टाभित्र हिजो बन्द भएको बिन्दु २४२४ अंकसम्म झरेको थियो। 

तर त्यसपछि भने बजारले फेरि उकालो यात्रा सुरु गरेको थियो। पौने १२ बजेसम्म उकालो लागेको बजार २४५० अंक नपुग्दै फेरि घट्न सुरु भएको थियो।

साढे १२ बजेदेखि एक बजेसम्म रातो भएको बजार १६ अंकसम्म घटेपनि त्यसपछि भने सामान्य बढेर स्थिर रहँदै अन्तिममा १६ अंकले नै वृद्धि भएर २४४० अंकमा बन्द भएको छ।

७ वटा उपसूचक रातो र ५ वटा उपसूचक हरियो भएको बजारमा उपसूचकमा ठूलो अंकको उतारचढाव भने देखिएन। व्यापार समूह ९० अंकले बढ्दा निर्जीवन बीमा समूह ८० अंकले बढेको छ। जीवन बीमा समूह ९० अंकले घट्दा लघुवित्त समूह ५० अंकले घटेको छ।

नागरिक लगानी कोष, गुराँस लघुवित्त, प्रभु लाइफ, माउन्टेन इनर्जी, नेशनल हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

श्री इन्भेष्टमेन्ट, सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ५/६ प्रतिशतले घटेको छ।

वाणिज्य बैंक समूहको सर्वाधिक कारोबार

नेपाल लाइफको सर्वाधिक कारोबार हुने क्रममा ६० करोड रुपैयाँको किनबेच भएको छ। नबिल बैंकको ३३ करोड, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ३१ करोड, एनआइसी एसियाको २९ करोड र नेपाल बैंकको २८ करोड रुपैयाँको किनबेच भएको छ।

पुनर्बीमा कम्पनीको २३ करोड रुपैयाँको कारोबार हुँदा कुमारी बैंकको २२ करोड रुपैयाँको किनबेच भएको छ।

२०८ कम्पनीको कारोबार हुँदा ५ कम्पनीको मूल्य स्थिर रह्यो भने ६२ वटा कम्पनीको मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

२०८ कम्पनीको ७२ हजार कारोबारबाट एक करोड ९२ लाख कित्ता सेयर ८ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन्।