नेपालीको शव लिन शुक्रबार मलेसिया जाँदै नेवानिको वाइडबडी, ‘सामाजिक उत्तरदायित्व बहन’

बिजमाण्डू
२०७७ माघ ९ गते १६:०२ | Jan 22, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली श्रमिकको शव लिनका लागि शुक्रबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मलेसिया जाने भएको छ। सरकारको निर्देशनमा हुन लागेको यो उडान संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।

राष्ट्रिय ध्वजावाहक भएको नाताले सामाजिक उत्तरदायित्वप्रति नेपाल वायुसेवा निगम संवेदनशील रहेकाले हिजोका दिनमा पनि निगमले यो जिम्मेवारी बहन गर्दै आएको आगामी दिनमा पनि यसका लागि तत्पर रहने उनको भनाइ छ ।

निगमले सेड्युल फ्लाइटमै शव ल्याउन लागेको हो। न्यारोबडी जहाजमार्फत साताको तीनवटा उडान गर्दै आएको निगमले शुक्रबार भने वाइडबडी जहाज प्रयोग गर्न लागेको छ। शव ल्याउनकै लागि ठूलो जहाज प्रयोग गर्न लागिएको बताउँदै प्रवक्ता श्रेष्ठले भनिन्,'हामीले यो गन्तब्यमा न्यारोबडी जहाज प्रयोग गर्दै आएका थियौं। तर शव समेत ल्याउनका लागि क्षमता निकै कम भएका कारण हामीले वाइडबडी जहाज प्रयोग गर्न लागेका हौं।'

शुक्रबार राती ११ बजे मलेसिया उडान गरिने वाइडबडी शनिबार बिहान ८:४० बजे काठमाडौं अवतरण हुनेछ। वाइडबडीमा अधिकतम १८ वटा शव अट्ने क्षमता रहेको छ। सरकारको निर्देशनबमोजिम निगमले शनिबार १७ वटा शव ल्याउनेछ।

तालिका अनुसार गर्न लागिएको यो उडानमा  अन्य यात्रु पनि हुनेछन्। नेपालबाट मलेसिया जाने यात्रु संख्या उल्लेख्य नभए पनि त्यहाँबाट नेपाल आउने यात्रु भने उल्लेख्य संख्यामा रहेको श्रेष्ठले जानकारी दिइन्। 

यसअघि निगमले सरकारकै निर्देशनमा अफगानिस्तान गएका नेपालीको शव ल्याएको थियो।

सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले पहिलोपटक विदेशमा उपचारका लागि जाने क्यान्सर संक्रमित बिरामी र बिरामीसँगै जाने व्यक्तिका लागि शतप्रतिशत छुट दिँदै आएको जनाएको छ । ती बिरामी तथा बिरामीसँग जाने व्यक्तिलाई दोस्रोपटक जाँदा ५० प्रतिशत छुट दिँदै आएको पनि श्रेष्ठले बताइन। 

आन्तरिक उडानतर्फ भने निगमले जेष्ठ नागरिकका लागि ५० प्रतिशत छुट दिँदै आएको छ।