६ महिनामै भित्रियो २० अर्बभन्दा बढीको मोबाइल सेट, पुसमा झण्डै ९ लाख थान आयात

बिजमाण्डू
२०७७ माघ ८ गते १२:४० | Jan 21, 2021
६ महिनामै भित्रियो २० अर्बभन्दा बढीको मोबाइल सेट, पुसमा झण्डै ९ लाख थान आयात

Tata
GBIME
Nepal Life

काठमाडौं। विश्वव्यापी महाब्याधी कोभिड संक्रमणपछि मोबाइलको व्यापार उत्साहजनक देखिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा २० अर्ब रुपैयाँ बराबरको मोबाइल सेट आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ९ अर्ब बढी हो।

कोभिड नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण सीमा नाकाबाट अवैध रुपमा मोबाइल आउने क्रम रोकिए भने भर्चुअल क्लास र मिटिङका कारण व्यापार चम्कियो। वैध रुपमा कारोबार गर्ने विभिन्न मोबाइल कम्पनीका अधिकृत बिक्रेता कम्पनी मालामाल भएका छन्।

चालु आवको पहिलो ६ महिनामा २० अर्ब रुपैयाँ बराबरको ३६ लाख ६४ हजारभन्दा बढी स्मार्टफोन आयात भएको छ। गत आव २०७६/०७७ को यही अवधिमा २९ लाख ३९ हजार थान बराबरको ११ अर्ब रुपैयाँ हाराहारी स्मार्टफोन नेपाल भित्रिएको थियो। जसबाट सरकारले तीन अर्ब २६ करोड रुपैयाँभन्दा बढी भन्सार राज्यको ढुकुटीमा आएको छ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत मंसिरमा ओरालो लागेको मोबाइल फोनको आयात पुसमा भने ह्वात्तै उकालो लागेको छ। मंसिरमा एक लाख थानभन्दा बढीले घटेर पाँच लाख ८२ हजार १८ थान स्मार्टफोन आयात भएकोमा पुसमा बढेर आठ लाख ९१ हजार सात सय ८७ थान आयात भएको छ। पुसमा झण्डै तीन अर्ब रुपैयाँ बराबरको फोन आयात भएको विभागले जनाएको छ। जसबाट सरकारले ४७ करोडभन्दा बढी भन्सार असुल गरेको छ। 

गत चैतबाटै कोरोना महामारीका कारण मानिसहरुको जमघटलाई निरुत्साहित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण अधिकांश बैठक, छलफल, समारोह, कार्यक्रमहरु अझै पनि भर्चुअल्ली नै सञ्चालन भइरहेका छन्। त्यसैगरी, स्मार्टफोन अपग्रेड गर्नेको संख्यामा पनि वृद्धि भएकाले फोन आयात उकालो लाग्दै गएको व्यवसायीहरुले जनाएको छ। 

कलेज, विश्वविद्यालयहरुको परीक्षासँगै कक्षा भौतिक रुपमा सुरु भएकाले यसअघि लकडाउन र निषेधाज्ञाले फोन किन्न नपाएर योजना रोकेका उपभोक्ताहरुले अहिले किन्ने सुरसार गरेकाले पनि आयात संख्या बढ्न पुगेको व्यवसायीहरुले बताएका छन्। यस्तै, बजारमा पछिल्लो समय बजेट फोनहरुको व्यापारमा छाएको उल्लासले पनि फोन आयात र व्यापारमा सकारात्मक प्रभाव पारेको बताइएको छ। 

नेपाल-भारत सीमा अझै पनि कोरोना जोखिमका कारण सरकारले सिल गरेकाले स्मार्टफोनको अवैध आयात घटेको देखिन्छ। जसका कारण बजारमा वैध तरिकाले आयात भइरहेका फोन उपभोक्ताहरुले खरिद गरिरहेको उनीहरुको भनाइ छ। केही महिना अघि मोबाइल फोन इम्पोर्टर्स एसोसिएशनले अवैध रुपमा भित्रिएका स्मार्टफोन बिक्री गर्ने पसलहरुलाई तुरुन्त त्यस्ता कार्य रोक्न चेतावनी दिँदै अन्यथा आधिकारिक बिक्रेताहरुले फोन सप्लाइ नगर्ने चेतावनी पत्र पठाएकाले पनि यसको प्रभाव फोन आयातमा देखिएको छ। गत मंसिरमा स्मार्टफोनको अवैध आयातले प्रश्रय पाउँदा फोन आयात घट्न पुगेको थियो।