कोभिड महामारीकै बीच संचालनमा आयो ‘द क्लासिक जिंगो रेष्टुरेन्ट’, नेवारी रैथाने परिकार पस्कने

बिजमाण्डू
२०७७ माघ ८ गते १०:४९ | Jan 21, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई दशक अघिको नेवारी रैथाने परिकारका साथ कपन-दुर्गा मन्दिरस्थित 'द क्लासिक जिंगो रेष्टुरेन्ट' संचालनमा आएको छ।

सन् १९९० को नेवारी अवधारणामा रहेको रेष्टुरेण्टमा नेवारी परिकारसँगै रेष्टुरेन्टमा नेवारी, मेक्सिकन, मिक्स कंटिनेन्टल र लोकल खानाहरु पाइन्छन्।  

वैदेशिक रोजगारीबाट फर्किएका पुष्कर श्रेष्ठले यो रेष्टुरेण्ट संचालनमा ल्याएका हुन्। उनले स्वदेशी रैथाने परिकारको प्रवर्द्धन गर्नुका साथै कन्टिनेन्टल परिकार पनि उपलब्ध गराउने बताए।

सिप, अवधारणा र पुँजीकै अभावले गर्दा युवा वर्ग विदेशिने गरेको श्रेष्ठको भनाई छ । उनले भने-'विदेशमा सिकेको सिपलाई उपयोग गर्न सके स्वदेशमै आत्मनिर्भर हुन सकिन्छ।'

शान्त वातावरण र हरियाली भएको ठाउँ भेटिएकाले कोभिड–१९ महामारीकै बीच रेष्टुरेन्ट सञ्चालन गरिएको उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा दुबई र मालदिभ्समा चार वर्ष सेफका रुपमा काम गरेका संचालक श्रेष्ठ नै रेष्टुरेन्टका हेड सेफ  हुन्।

श्रेष्ठले कतारको र्याडिसन ब्ल्यू होटलमा डेढ वर्ष र माल्दिभ्सको फुराबेरी रिसोर्टमा करिब तीन वर्ष कुकको अनुभव लिएका छन्। करिब एक रोपनी क्षेत्रफलमा फैलिएको रेष्टुरेण्टमा हरियाली वातावरणसहित चार वटा प्राइभेट कटेज निर्माण गरिएको छ। 'हामीले खाना र सेवा गुणस्तरमा कुनै कम्प्रमाइज गरेका छैनौँ। स्तरिय खानाका लागि जिंगो काठमाडौंबासीका लागि उत्कृष्ट विकल्प हुन सक्छ।' उनले दावी गरे।

उनका अनुसार ग्राहकले रेष्टुरेन्टमा अन्तराष्ट्रिय स्तरमा लोकप्रिय बन्दै गएको टाकोस, नाचोस साथै नेवारी रैथाने परिकार अन्तर्गत नेवारी खाजा सेट, समैंबजी, यमरी, छोयला, बारबिक्यू लगायतका स्वाद लिन सक्नेछन्।

‘नेपालीहरुमा पछिल्लो समयमा विभिन्न स्वादका खाना खाने प्रचलन बढ्दो छ। विश्वका प्राय मुलुकमा नेपालीहरु पुगिसक्नुभएको छ।’ श्रेष्ठले भने, ‘यहाँ पनि अन्तर्राष्ट्रिय स्तरको खाना खाने धेरैको चाहाना हुन्छ। हामी उपभोक्तालाई स्वस्थकर र स्वादिलो खाना दिन्छौं।'

विदेशमा जति पैसा कमाए पनि सुखदुःख बाड्नका लागि परिवारकै साथ ठूलो रहेको अनुभव सुनाउँदै उनले भने, 'नेपालमा थोरै पैसा कमाए पनि आत्मसन्तुष्टी मिल्छ। सबैभन्दा ठूलो कुरा भनेको आफ्नो मातृभूमी, परिवार अनि इष्टमित्रको साथ न हो।'

एकपटकमा एक सय २० जनाले सेवा लिन सक्ने क्षमता रहेको रेष्टुरेण्टमा विवाह, व्रतबन्ध, पास्नी, लाइभ म्यूजिक लगायत सामाजिक समारोह आयोजना गर्न पर्याप्त पूर्वाधार रहेको उनले जानकारी दिए।