एचपी र राजधानी ग्यासको ५० प्रतिशत सेयर दिवान चन्दले किने, आरतीमा कुश मल्ली प्रवेश

बिजमाण्डू
२०७७ माघ ५ गते १२:३८ | Jan 18, 2021
एचपी र राजधानी ग्यासको ५० प्रतिशत सेयर दिवान चन्दले किने, आरतीमा कुश मल्ली प्रवेश

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्यास उद्योगी दिवान चन्दले राजधानी र एचपी ग्यासको ५० प्रतिशत सेयर किनेका छन्।

दुई महिना अघि नवलपरासीमा रहेको आरती ग्यास किनेका चन्दले केही दिन अघि मात्रै दुई ग्यास उद्योगको सेयर किनेका हुन्। उनले सेयर खरीद सम्झौता भइसकेको र हस्तान्तरणको सरकारी प्रक्रिया मात्रै बाँकी रहेको पुष्टि गरे।

‘एचपी र राजधानी ग्यासको ५० प्रतिशत किनिसकेका छौं। सेयर खरिद-बिक्रीको सरकारी प्रक्रिया मात्रै बाँकी छ,’ चन्दले बिजमाण्डूसँग भने। एचपी ग्यास तीन महिना अघि खेतान समूहबाट कुश मल्लीले किनेका थिए। राजधानीमा मल्ली लगायतका भैरहवा क्षेत्रका व्यवसायीको लगानी छ। चन्दले किनेको आरती ग्यासको ५० प्रतिशत सेयर मल्लीले किनेका छन्। ‘ग्यासको व्यापार टफ हुँदै गएको छ। त्यही भएर संयुक्त रूपमा व्यवसाय अघि बढाउन खोजेका हौं,’ उनले भने। यो तीन वटै कम्पनीको संयुक्त अफिस लाजिम्पाटमा स्थापना भइसकेको छ।

धादिङको धार्केमा रहेको एचपी ग्यासको प्लान्ट साढे १८ करोड रुपैयाँमा मल्लीले किनेका थिए भने चन्दले आरती ग्यास १५ करोड रुपैयाँमा किनेका थिए। चन्दको सुदूरपश्चिममा रेडियन्ट ग्यास उद्योग छ।

आरतीको सय टन क्षमताको उद्योगको एक लाख सिलिण्डर छ। उद्योगले नवलपरासी, बुटवल, भैरहवा, कपिलवस्तु, पोखरा र पाल्पामा ग्यास बिक्री गर्दै आएको छ। रामग्राम नगरपालिका-१० मा २२ कट्ठा जग्गामा उद्योगको प्लान्ट छ।एचपी ग्यास काठमाडौं र पोखरा लगायतका क्षेत्रमा बिक्री हुँदै आएको छ। यो उद्योगसँग दुई लाख ९० हजार सिलिण्डर छ।