कात्तिकसम्म फाइबर इन्टरनेट प्रयोगकर्ता १० लाख नाघे, वर्ल्डलिंकले एक महिनामै ११ हजार थप्यो

बिजमाण्डू
२०७७ पुष २८ गते १३:३८ | Jan 12, 2021
कात्तिकसम्म फाइबर इन्टरनेट प्रयोगकर्ता १० लाख नाघे, वर्ल्डलिंकले एक महिनामै ११ हजार थप्यो


काठमाडौं। नेपालमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघेको छ। इन्टरनेट सेवा प्रदायकहरुले आक्रामक रुपमा फाइबर इन्टरनेट विस्तार गर्दा प्रयोगकर्ता थपिने क्रम बढ्दै गएको छ।

Tata
GBIME
Nepal Life

वायरलेस र केबल इन्टरनेटभन्दा गुणस्तर राम्रो हुने भएकाले पछिल्लो समय प्रयोगकर्ताहरु फाइबर इन्टरनेटतर्फ आकर्षित छन्। नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको कात्तिकसम्मको एमआइएस प्रतिवेदनअनुसार एक महिनाको अवधिमा ३८ हजार एक सय तीन फाइबर इन्टरनेट ग्राहक थपिएका छन्। 

असोजमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या नौ लाख ९३ हजार दुई सय ५४ थियो। कात्तिकमा यो संख्या बढेर १० लाख ३१ हजार तीन सय ५७ पुगेको प्राधिकरणले जनाएको छ। वर्ल्डलिंकको फाइबर प्रयोगकर्ताको संख्या गत कात्तिकमा चार लाख १९ हजार आठ सय १२ पुगेको छ। फाइबर इन्टरनेट प्रयोगकर्तामध्ये सबैभन्दा बढी वर्ल्डलिंकको छ। असोजमा वर्ल्डलिंकसँग चार लाख नौ हजार ६४ फाइबर इन्टरनेट प्रयोगकर्ता थिए। वर्ल्डलिंकले महिना दिनमै १० हजार सात सय ४८ नयाँ फाइबर इन्टरनेट प्रयोगकर्ता थपेको प्राधिकरणले जनाएको छ। 

सुबिसुले पनि फाइबर प्रयोगकर्ताको संख्या पनि बढाएको छ। कात्तिकमा सुबिसुसँग एक लाख ३१ हजार चार सय ९८ फाइबर इन्टरनेट प्रयोगकर्ता पुगेको प्राधिकरणले जनाएको छ। असोजमा सुबिसुसँग एक लाख २३ हजार हाराहारी प्रयोगकर्ता थिए। 

यस्तै, भायनेटले पनि साढे २५ सय प्रयोगकर्ता थपेको छ। असोजमा भायनेटसँग एक लाख २१ हजार हाराहारी फाइबर प्रयोगकर्ता रहेकोमा कात्तिकमा बढेर एक लाख २३ हजार सात सय १२ पुगेको प्राधिकरणले जनाएको छ। तर, क्लासिक टेकले कात्तिकमा नयाँ प्रयोगकर्ता थप्न सकेको छैन।

त्यसैगरी, सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि झण्डै ६४ सय ग्राहक थपेको छ। कात्तिकमा टेलिकमको फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या ६६ हजार नाघेको प्राधिकरणले जनाएको छ।