दुई असफल प्रोजेक्टपछि टाटा ग्रुपको बागडोर पाएका रतन; जसले साबित गरिदिए जेआरडीको निर्णय गलत थिएन




भारतका सबैभन्दा प्रभावशाली बिजेनस टाइकुन रतन टाटा गत सोमबार अर्थात डिसेम्बर २८ तारिखका दिन ८३ वर्ष पूरा भएका छन् । रतन साधारण मानिस थिए तर उनी यस्ता असाधारण नेतृत्वकर्ता थिए जोसँग सबैभन्दा जटिल अवस्थाहरुलाई सहजै पार लगाउने कार्यकुशलता  थियो। उनकै नेतृत्वको दुई दशकमा भारतको टाटा ग्रुपले विश्वै परिचित ब्यापारिक घरानाका रूपमा परिचय बनायो। 

ब्यापारिक करिअरमा तीव्र उतारचढाव भोगेका रतन भन्ने गर्थे-'फलामलाई कसैले पनि नाश गर्न सक्दैन तर आफ्नै खियाले त्यसलाई सिध्याउँछ। त्यस्तै कुनै पनि मानिसलाई अरु कसैले सिध्याउन सक्दैन उसको आफ्नै सोचाइले सिध्याउँछ।' 

TaTa
Sunrise Bank
TVS

सन् १९३७ को २८ डिसेम्बरमा भारतको सुरतमा जन्मिएका रतन सन् १९९१ देखि सन् २०१२ सम्म टाटा ग्रुपका अध्यक्ष रहे। 

उनले ७५ वर्षको उमेर पार गरेपछि  अध्यक्षको पद छाडे। तर उनी हालसम्म पनि टाटा ग्रुपका च्यारिटेबल ट्रस्टको अध्यक्ष छन्। उनी टाटा ग्रुपका सबै प्रमुख कम्पनीहरु जस्तै टाटा स्टिल, टाटा मोटर्स, टाटा पावर, टाटा कन्सल्टेन्सी सर्भिसेज, टाटा टी, टाटा केमिकल्स, इन्डियन होटल्स तथा टाटा टेलि सर्विसेजका पनि अध्यक्ष थिए। उनको नेतृत्वमा टाटा ग्रुपका सबै कम्पनीहरुले नयाँ उचाइ लियो। 

उनी टाटा समूहका संस्थापक जमशेदजी टाटाका पनाति हुन्। रतनका बुवा नवलको टाटा परिवारसँग रगतको नाता भने होइन। नवज बाई टाटाले अनाथाश्रमबाट ल्याएर नवललाई धर्मपुत्र बनाएकी थिइन्। उनै नवलका छोरा रतनको कार्यकुशलता हेरेर नै समूहका संस्थापक जमशेदजी टाटाले उनलाई आफ्नो बागडोर सुम्पिएका थिए। 

रतन १० वर्षको छँदा उनको बुवाआमाको सम्बन्ध बिच्छेद भएपछि उनी र उनका भाई हजुरआमा नवजबाई टाटाको काखमा हुर्किए। रतन र उनका भाई जिमीलाई हजुरआमा नवजबाईले पालनपोषण गरिन्। रतनको प्रारम्भिक शिक्षा मुम्बईको क्याम्पियन स्कुलबाट भयो। माध्यमिक शिक्षा क्याथेड्रल एण्ड जोन क्यानन स्कुलबाट गरेका उनले  कर्नेल विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङको अध्ययन पूरा गरे। पछि सन् १९७५ मा उनले हार्वर्ड बिजनेस स्कुलबाट एडभान्स्ड म्यानेजमेन्ट प्रोग्राम समेत पूरा गरे। 

उनले टाटाको नेतृत्व सम्हाल्ने जिम्मा बिरासतमा त्यसै पाएका भने होइनन्। लामो समयको अनुभव सिकाई र असफलताहरुबाट पाठ सिक्दै अघि बढ्दा उनमा देखिएको कार्यकुशलता, नेतृत्वदायी क्षमता र निर्णायक भूमिकाहरुका कारण नै उनले कम्पनीको कमान सम्हाल्ने मौका पाएका हुन्। 

टाटा ग्रुपमा रतनले आफ्नो करियरको सुरुवात सन् १९६१ बाट गरे। सुरुमा उनले टाटा स्टिलको फ्लोरबाट काम थाले। बिस्तारै उनी टाटा ग्रुपका अन्य कम्पनीहरुसँग पनि आबद्ध भए। सन् १९७१ मा उनलाई नेशनल रेडियो तथा इलेक्ट्रोनिक्स कम्पनी नेल्कोमा निमित्त निर्देशक नियुक्त गरियो। जतिबेला उनले नेल्को ज्वाइन गरे त्यसबेला कम्पनीको अवस्था निकै खराब थियो। कम्पनीको बजार हिस्साको जम्मा २ प्रतिशतमात्र थियो भने ४० प्रतिशत लगानी खेर गएको अवस्थामा थियो। जब उनले नेतृत्व लिए उनले २ प्रतिशत मात्र रहेको बजार हिस्सालाई बढाएर २५ प्रतिशत पुर्‍याए। तर त्यसैबेला भारतमा संकटकाल घोषणा भयो जसले नेल्कोलाई अझै उचाइमा लाने रतनको सपना पूरा हुन सकेन। 

त्यसपछि उनी थप पढाइका लागि हार्वर्ड पुगे। हार्वर्डबाट फर्किएपछि फेरि उनले दोस्रोपटक आफूलाई साबित गर्नुपर्ने भयो। वित्तीय संकटसँग जुधिरहेको इम्प्रेस मिललाई अप्ठेरोबाट बाहिर निकाल्ने जिम्मेवारी उनलाई दिइयो।  यसअघि नेल्कोबाट पाठ सिकेका रतनले कम्पनीलाई जोगाउने प्रयास जारी राखे। केही समयका लागि कम्पनी डुब्नबाट जोगियो पनि तर सन् १९८६ मा फेरि कम्पनी सधैंका लागि बन्द भयो। यसको सिंगो अभिभारा रतनले आफ्नो काँधमा लिए। धेरैले सोचे पनि 'अब रतनको करियर सँधैका लागि डुब्यो!' 

सन् १९९१ मा भारतले ब्यालेन्स अफ पेमेन्ट संकट भोगिरहेको थियो तर रतनको जीवनको सबैभन्दा महत्वपूर्ण क्षण आइपुग्यो। सबैलाई अचम्ममा पार्दै तत्कालीन अध्यक्ष जेआरडी टाटाले  रतनलाई आफ्नो उत्तराधिकारी घोषणा गरे। 

यसबाट कम्पनीभित्रै ठूलो तरंग फैलियो। यसअघिका दुई पूर्व जिम्मेवारीमा असफल भएकालाई सिंगो ग्रुपको अध्यक्ष चुनिएको भन्दै सार्वजनिक रूपमै रतनप्रति असन्तुष्टि जाहेर भयो। त्यसबेला धेरैको विश्लेषण के थियो भने –'जेआरडीले जीवनकै पहिलो गलत निर्णय लिए!' कम्पनीले सही नेतृत्व पाएको हो वा होइन भन्ने प्रमाणित गर्नुपर्ने ठूलो चुनौतीका साथ जेआरडीले नेतृत्वको बागडोर रतनको हातमा सुम्पिए।

तर सबैको अनुमानलाई गलत साबित गर्दै रतनले एक पछि अर्को बोल्ड निर्णयहरु लिँदै गए। पहिलो कामका रुपमा उनले कम्पनीका निर्देशक तथा बिजनेस हेडहरुको अवकाशको निश्चित उमेर तोकिदिए र नयाँ सोच तथा  क्रियटिभ आइडिया भएका नयाँ पुस्तालाई भित्र्याउन थाले। उनले नयाँ प्रविधि लागू गर्दै विदेशी लगानी भित्र्याउनेतर्फ पनि अघि बढे। 

रतन यस्ता उद्यमी हुन् जो जतिसुकै तनावका समयमा पनि शान्त रहे। आफ्ना असफलताहरुलाई नम्र भावमा आत्मसात् गरे र कसैले नसोचेका सफल परिणामहरु समेत कम्पनीलाई दिइरहे। भनिन्छ कसैले गरेको आलोचना पनि उनको लागि सबैभन्दा ठूलो शक्ति थियो जसको मन्थनबाट उनी अझ प्रभावकारी आइडियाहरु ल्याउँथे। 

कम्पनीको बागडोर सुम्पिनुअघि जेआरडी टाटाले रतन आफ्नो उत्तराधिकारी हुन सक्छन् कि सक्दैनन् भन्ने बारेमा मिहीन विश्लेषण गरेका थिए। त्यसैले रतनलाई हरेक किसिमका अप्ठेरो र बोल्ड डिसिजनहरु हेर्दै उनको ब्यापार डिल गर्न सक्ने अनुभवको अध्ययन गर्दै उनलाई जेआरडीले तयार पारे। कम्पनीमा प्रवेश गरेको एक दशकसम्म  आफ्नो कार्यकुशलताका कारण उनले केहि विविध किसिमका इन्नोभेटिभ आइडियाहरु लञ्च गरिरहे। रतनकै नेतृत्वमा टाटा समूहले नयाँ उचाई छोएको हो। उनको नेतृत्वमा टाटा कन्सल्टेन्सी सर्विसेसले पब्लिक सेयर जारी गर्‍यो। टाटा मोटर्सलाई न्यूयोर्क स्टक एक्सचेन्जमा समेत उनैले सूचीकृत गरे। 

सन् १९९८ मा टाटा मोटर्सले पहिलो पूर्ण भारतीय प्यासेन्जर कार टाटा इन्डिका बनायो। त्यसपछि टाटा टीले बेलायतको चिया कम्पनी टेटली, टाटा मोटर्सले ज्यागुआर ल्याण्ड रोबर तथा टाटा स्टीलले कोरसलाई प्राप्ति गर्‍यो। यी सबै रतन टाटाको बोल्ड डिसिजनका कारण नै सम्भव भएको थियो। उनको २१ वर्ष लामो अध्यक्षतामा टाटा ग्रुपको रेभेन्यू ४० गुनाले बढ्यो भने नाफा ५० गुनाले। जसले टाटालाई भारत केन्द्रित टाटा ग्रुपलाई ग्लोबल बिजनेसमा फराकिलो दायरामा उभ्याउन सफल भयो। 

यसबाट टाटा समूहको साख भारतीय उद्योग जगतमा निकै बढ्यो। असफल नै भए पनि टाटा नानो विश्वकै सबैभन्दा सस्तो प्यासेन्जर कार निर्माण पनि रतन टाटाकै सोचको परिणाम हो। 

९० को दशकमा जसरी रतनले कम्पनीको ब्यापारलाई नियन्त्रण गरी ग्लोबल बिजनेसमा अघि बढाए त्यसबाट नै टाटा ग्रुप अफ कम्पनीजको अकल्पनीय प्रगति भएको थियो र त्यसको सबै श्रेय रतन टाटालाई नै जान्छ। हाल टाटा ग्रुपको ६५ प्रतिशत आम्दानी विदेशबाटै हुन्छ। 

सन् २०१२ को २८ डिसेम्बरमा उनले टाटा समूहको सबै कार्यकारी जिम्मेवारीबाट अवकाश लिए। तर पनि उनी हालपनि काममा सक्रिय नै छन्। उनले भारतीय इ-कमर्स कम्पनी स्न्यापडिलमा आफ्नो ब्यक्तिगत लगानी गरेका छन्। यसका साथसाथै उनले अर्को इ-कमर्स कम्पनी अर्बान लिडर तथा चाइनिज मोबाइल कम्पनी जिओमीमा पनि लगानी गरेका छन्। 

हाल रतन  टाटा समूहका अवकाशप्राप्त अध्यक्ष हुन्। तर  टाटा सन्सका दुईवटा ट्रस्टका अध्यक्ष पनि हुन्। उनले भारतका साथै विश्वका अन्य बिभिन्न संघसंस्थाहरुमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनी भारतको प्रधानमन्त्री व्यापार तथा उद्योग परिषद तथा राष्ट्रिय विनिर्माण प्रतिस्पर्धात्मकता परिषदका समेत सदस्य हुन्। उनी विश्वभरका कैयन् कम्पनीहरुको बोर्डमा समेत संचालकका रूपमा रहेका छन्। 

रतन टाटाले उद्योग जगतमा गरेको कामको सरहाना गर्दै भारत सरकारले उनलाई भारतको सबैभन्दा ठूलो पुरस्कार पद्मभूषण तथा पद्म विभूषणले सम्मानित गरेको छ। उनले विश्वका उल्लेखनीय पुरस्कारहरु समेत पाएका छन्। 

रतन टाटा भारतको सभ्रान्त परिवारमा जन्मिएको भएपनि उनले कहिल्यै पनि पैसा र शक्तिलाई सजिलै हासिल गरेनन्।  उनले न्यूयोर्कबाट ग्रयाजुयसन सकेपछि टाटा ग्रुपमा टाटा स्टिलमा 'ब्लु कलर' स्टाफका रूपमा आफ्नो करियर सुरु गरे। कामको सुरुमा उनले चुनढुंगा फोड्नेदेखि ब्लास्टिङ विभागको काम समेत हेरे। १० वर्षसम्म  नेल्कोको निमित्त निर्देशकका रूपमा काम गरेपछि उनले त्यसको वित्तीय अवस्था सुधारेर सफलताको उचाइमा पुर्‍याए। 

त्यसमा पाएको सफलताले रतनलाई टाटा ग्रुप अफ कम्पनीजका अध्यक्षको हैसियत प्राप्त गर्न सफल बनाएको थियो। बेसिक जबबाट काम थालेर उनले  बिलियन डलर कम्पनीको मालिकको हैसियत बनाए। 

रतन टाटाले जति प्रोजेक्टहरु अघि बढाए ती सबै सफल नै भए भन्ने चाहिँ होइन। नानो कार उनको फ्लप प्रोजेक्ट थियो। तर उनले सस्तो दरको कार उत्पादन गरेर आफ्नो भिजनलाई भने साकार रुप दिएका थिए। 

त्यस्तै टाटाको प्यासेन्जर कार इन्डिका पनि सन् १९९८ मा लन्च भयो जुन पहिलो वर्ष फ्लप नै भएको थियो। धेरैले रतन टाटालाई प्यासेन्जर कार बिजनेसबाट बाहिरिन पनि सल्लाह दिए। त्यसै क्रममा उनले आफ्नो कार बिजनेस बेच्नका लागि फोर्ड कम्पनीका अध्यक्ष बिल फोर्डलाई भेट्न फोर्डको हेडक्वार्टर रहेको डेट्रोइट पुगे। तीन घण्टासम्म भएको त्यो बिजनेस मिटिङमा रतनलाई नजानेको क्षेत्रमा हात नहालेको भए हुन्थ्यो भन्दै विलले टाटाको कार बिजनेस किनिदिने आश्वासन दिए। यस मिटिङमा रतनले आफूलाई इन्सल्ट भएको महसुस गरे। त्यसलगत्तै उनी भारत फर्किएर सुरुवाती असफलतालाई पन्छाएर प्यासेन्जर कारको बिजनेसमा सफलता पाउँदै गए। 

त्यसैबेला भारतमा फोर्डको ब्यापार निकै बिग्रियो। सन् २००८ मा जब फोर्ड भारतमा टाट पल्टिने अवस्थामा पुग्यो रतन टाटाले फोर्डको लग्जरी कार ब्राण्ड ज्यागुअर ल्याण्ड रोभर किनिदिने प्रस्ताव राखे। त्यसकै लागि फोर्डका अध्यक्ष बिल फोर्ड मुम्बई आए। मिटिङमा बिलले रतनलाई 'हाम्रो ज्यागुअर ल्याण्डरोभर किनिदिएर तपाईले हामीलाई ठूलो राहत दिनुभयो,' भनेका थिए। हाल ज्यागुअर ल्याण्डरोभर टाटा ग्रुपको सम्पत्ति भएको छ र यसले राम्रो नाफा समेत कमाइरहेको छ। 

'ब्यापारमा उतारचढाव सामान्य प्रक्रिया हो।'- भन्ने रतनले सँधै निर्णयहरु लिने बेला सही वा गलत के हो भनेर छुट्याउन थालेनन्। उनले पहिले निर्णय लिने र त्यसलाई सफल बनाउनेतर्फ काम गर्नुपर्ने मान्यतामा विश्वास राख्थे। कुनै बेला इन्डिका बेच्न फोर्डसम्म पुगेका रतनले पछि फोर्डकै ज्यागुअर किनेर आफूमाथि भएको इन्सल्टको बदला मात्र लिएनन् असफलतामा धैर्य भएर अघि बढ्नुपर्ने पाठ पनि सिकाए। 

ब्यापार र उद्यम बाहेक उनले समाजसेवामा पर्याप्त समय दिए। उनले आफ्नो सम्पत्तिको ६५ प्रतिशतभन्दा बढी च्यारिटीमा दान गर्छन्। हाल पनि उनी बिभिन्न परोपकारी काममा सक्रिय रहेका छन्। (एजेन्सीहरुको सहयोगमा)


Share this Story

   

Satya Narayan[ 2020-12-31 03:28:59 ]
Great man.


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell