बजारले मार्‍यो ६३ अंकको छलाङ, १८८१ अंक नजिक पुगेर सूचक बन्द, के भन्छन् प्राविधिक विश्लेषक?

बिजमाण्डू
२०७७ मंसिर १० गते १५:३३ | Nov 25, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। एकैदिन ६४.७० अंकको फराकिलो छलाङ हानेर सेयर बजारले अहिलेसम्मकै उच्चतम अंक १८८१ नजिक पुगेको छ। बुधबार सेयर बजारले उच्चतम अंकलाई भेट्न ७ अंकले मात्र सकेन। 

होटल बाहेक सबै सूचकहरु उक्लिँदा समग्र बजार उचालिएको हो। दिनभरीमा १९६ कम्पनीका ५ अर्ब १३ करोडको कारोबार भएको छ। बजार सूचकले उच्चतम अंकलाई अन्तिमसम्मै पच्छ्याएको थियो।

बैंकिङ सूचकमा आएको ४० अंकको छलाङसँगै बीमा, ब्यापार, उत्पादन तथा प्रशोधन समूहले पनि नेप्से बढ्नलाई राम्रोसँग सघाएका छन्। घाटाको वासलात निस्कन थालेकाले होटल समूहले वृद्धि गर्न सकेन।

बैंकिङ समूहका २६ वटै बैंकको सेयर मूल्य बढेको छ। कुल २ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ। बैंकिङतर्फ सर्वाधिक कमाउनेमा एनआइसी एसिया, सेञ्चुरी बैंक र सिभिल बैंक छन्। दुई वटा होटलको कारोबार भएकोमा सोल्टीको मूल्य बढेको छ भने ओरेन्टलको घटेको छ। कुल ३ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारलाई माथि धकेल्न सहयोग गरेको जीवन बीमाका नौं वटै कम्पनीको मूल्य बढेको छ। यो समूहको कुल कारोबार ५५ करोड ८६ लाख रुपैयाँ छ। निर्जीवनतिरका २० वटै कम्पनीको सेयर मूल्य बढेर १ अर्ब ५१ करोडको सेयर किनबेच भएको छ।

ट्रेडिङतिरको विशाल बजार र एसटीसी दुवैको मूल्य बढेको छ। विशाल बजारको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कुल ३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। उत्पादन तथा प्रशोधनतर्फको चार वटा कम्पनी शिवम्, हिमालयन डिस्टिलरी, युनिलिभर नेपाल र बोटलर्स नेपाल तराइको सेयर मूल्य बढेको छ। यो समूहको ३३ करोड ७३ लाखको सेयर कारोबार भएको छ। शिवमको त करिब १० प्रतिशत हाराहारीले मूल्य बढेको छ।

ब्रोकरका अनुसार, ब्याज दर अझै घट्ने समाचारका साथै प्राविधिक विश्लेषकहरुको अझै बजार बढ्ने नयाँ प्रक्षेपण आउन थालेकाले बजार उचालिएको हो।

'आजको सूचक भनेको १८८१ हाराहारी नै हो। यसलाई सजिलै उछिन्छ भन्ने प्रष्ट भइसक्यो,' ती ब्रोकरले भने, 'त्यसमाथि केही नाम चलेका प्राविधिक विश्लेषकले राजनीतिक वातावरणले प्रभाव पारेन भने सूचक २५०० सम्म जान्छ भनेर हल्ला गर्न थालेका छन्।'

उनका अनुसार, बजार बढ्छ भन्ने मनोविज्ञानले काम गरेका कारण सूचकले फराकिलो छलाङ मारिरहेको हो। 'अहिले ब्याज पनि कम छ, अझै घट्छ भन्ने नै कुरो छ। अनलाइन कारोबार बढेको छ। पैसाको आपूर्ति राम्रै छ,' ती ब्रोकरले भने, 'अन्य क्षेत्रमा पहिले जस्तो काम सुरु भएको छैन। अनि त सबै यहीँ जम्मा भएका छन्। त्यसैले बजारले छलाङ मारिरहेको हो।'

बजारमा विशाल बजारसँगै एनएमबि माइक्रोफाइनान्सको सेयरमा पनि बढेर सर्किट लागेको छ। नेपाल टेलिकम, नेपाल रिइन्स्योरेन्स कम्पनी, एलिको  इन्स्योरेन्स, शिवम् सिमेन्ट, अरुण काबेली जलविद्युत, ङादी ग्रुप पावरलगायतले सर्वाधिक कमाएका छन्। बढ्दो बजारमा पनि गुमाउनेमा २२ वटा कम्पनी छन्। 

बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीले पनि सेयर लगानी गर्ने हल्ला चलेको छ। यसबाहेक नागरिक लगानी कोषको मार्केट डिलर कम्पनीले पनि सेयर उठाउन थालेको छ। यही कारण बजारमा लगानीकर्ताहरु सूचक अझ बढ्छ भन्नेमा विश्वस्त रहेको ब्रोकरको भनाइ छ। बुधबार रिइन्स्योरेन्सको २९ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसपछि नबिल बैंकको २३ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।