एनटीए डिजिटल युगमा प्रवेश गर्दै, सेवा प्रदायकले दिने सेवा अनलाइनबाटै अनुगमन गरिने

बिजमाण्डू
२०७७ कात्तिक १४ गते १५:०१ | Oct 30, 2020
एनटीए डिजिटल युगमा प्रवेश गर्दै, सेवा प्रदायकले दिने सेवा अनलाइनबाटै अनुगमन गरिने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न कम्पनीले दिने सेवा अनलाइनबाटै अनुगमन गर्ने भएको छ। प्राधिकरणले अनलाइनबाट गुणस्तर तथा सेवा अनुगमनका लागि परामर्शदाताका लागि आशयपत्र मागेको छ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै आन्तरिक स्रोतबाटै अनलाइन मोनिटरिङ एण्ड ट्रयाकिङ प्रणाली (‌ओएमटीएस) र दूरसञ्चार सेवाको अध्ययन, मापन र सेवा प्रदायकले प्रदान गर्ने सेवाको गुणस्तर बारे परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। 

ओएमटीएसको सहायताले प्राधिकरणबाट अनुमतिपत्र पाएका सेवा प्रदायकहरुको क्रियाकलाप अनलाइनबाटै अनुगमन गर्ने प्रणाली विकास गर्न खोजिएको प्राधिकरणले जनाएको छ। उक्त प्रणालीले विभिन्न समयमा प्राधिकरणले तयार पारेका दस्तावेजको खोजी, अनुगमन प्रतिवेदन र निर्णयहरु ट्रयाकिङ गरी सेवा प्रदायकहरुले त्यसको कार्यान्यवन गरेका छन् वा छैनन् भन्ने बारे नियमन गर्न सजिलो हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणबाट अनुमति लिएका धेरै सेवा प्रदायकहरुले प्रवाह गर्ने सेवाको अनुगमन गर्न सहज हुने प्राधिकरणका निर्देशक एवम् अनुगमन शाखा प्रमुख विजयकुमार रोयले बताए। कुनै समयमा प्राधिकरणले गरेको अनुगमनबाट आउने परिणामको डकुमेन्टेसनदेखि त्यसबाट कारवाही वा अन्य सिफारिस गरिएका घटनाहरुलाई सो प्रणालीमा समावेश गरिने उनले बताए।

'अनुगमनबाट आएका जानकारी, तथ्यांक, विवरण फरक वा सरकारले तोकेको भन्दा पर्न गए सेवा प्रदायक कारवाहीको भागिदार हुन्छन्,' रोयले भने। भविष्यमा प्राधिकरणमा नयाँ कर्मचारीहरु आउँदा वा सरुवा भएर जाँदा विगतमा के भएको थियो भन्ने बारे सहजै थाहा पाउन सक्ने उनले जानकारी दिए। उक्त प्रणाली विकासले सेवा प्रदायकसँग सम्बन्धित कुनै पनि विवरण, तथ्यांक रियल टाइममा पाउन सकिने रोयले बताए।

प्रणाली सेटअप गर्न प्राधिकरणले प्रक्रिया अघि बढाएपनि आवश्यक योग्य जनशक्ति भने अपुग रहेको उनले बताए। प्रणाली सहज रुपले सञ्चालन गर्न चारदेखि छ जना प्राविधिक आवश्यक भएपनि अहिले प्राधिकरणसँग जम्मा दुई जना प्राविधिक रहेको उनले बताए।

प्रणाली निर्माण पछि प्राधिकरणले अनुमतिपत्र पाएका सेवा प्रदायकहरुबाट आवश्यक जानकारी र सूचनाहरुको संकलन अनलाइनबाटै गर्ने जनाएको छ। साथै, सेवा प्रदायकहरुलाई आवश्यक निर्देशन पनि अनलाइनबाटै दिने गरी 'रिमोट मोनिटरिङ' को अवधारणा विकास गर्न खोजेको प्राधिकरणले जनाएको छ। 

छनोट हुने परामर्शदाताले ओएमटीएसको डिजाइन, विकास र परिचालनलगायतका कार्यमा प्राधिकरणसँग आवश्यक समन्वय गर्नुपर्ने छ। वेबमा आधारित रहने ‌ओएमटीएसका मोड्युल्स् र यसको विशेषता प्राधिकरणले तय गरेको छ। प्राधिकरणले इन्टरनेट र डेटाको ब्यान्डविथ, उपकरणको आपूर्ति र जडान, सेवा प्रवाह, सफ्टवेयर खरिद/अपग्रेड, फ्रिक्वेन्सी, भिओआइपी कल र एसएमएस बाइपास अनुसन्धान, साइबर सुरक्षासम्बन्धि अडिट प्रतिवेदनको विश्लेषण, साइबर घटना व्यवस्थापनसम्बन्धि अनुसन्धान, सिम कार्ड दर्ता प्रमाणीकरण, सर्ट कोड र इन्टरकनेक्सन वा अन्य नम्बरिङ इत्यादि मोड्युलहरु रहेको जनाएको छ। परामर्शदाताले ओएमटीएसको सहज सञ्चालन र प्रभावकारी कार्यसम्पादनका लागि प्राधिकरणका कर्मचारीहरुलाई तालिमको व्यवस्था समेत गर्नुपर्नेछ। 

यस्तै, प्राधिकरणले दूरसञ्चार सेवाको अध्ययन, मापन र यसको गुणस्तर बारे आशयपत्र मागेको छ। यसबाट नेपालका विभिन्न भागमा दूरसञ्चार सेवा प्रदायकहरुले दिइरहेको भ्वाइस, एसएमएस र डेटा सेवाको गुणस्तर विश्लेषण गर्न खोजेको देखिन्छ।