वीरगंज नाकाबाट इन्धन र सवारी साधनको आयात घट्यो, हवाई इन्धन ३१ हजार किलोलिटर कम आयात

बिजमाण्डू
२०७७ कात्तिक १४ गते १०:१० | Oct 30, 2020
वीरगंज नाकाबाट इन्धन र सवारी साधनको आयात घट्यो,  हवाई इन्धन ३१ हजार किलोलिटर कम आयात

Tata
GBIME
Nepal Life

वीरगंज। कोरोना संक्रमणको कारण वीरगंज भन्सारबाट सवारी साधन र इन्धनको आयात उल्लेख्य परिमाणले घटेको छ। चालु वर्षको पहिलो तीन महिनामा सबै प्रकारका गाडी र इन्धनको आयातमा ४८ प्रतिशतले गिरावट आएको छ।

यो तीन महिनामा १ अर्ब ७१ करोड मूल्य बराबरका १ हजार ५ सय १० वटा जीप, कार र भ्यान भित्रिएका छन्। गत वर्षको सोही अवधिमा २ अर्ब २ करोड मूल्यबराबरका २ हजार ९ सय २२ वटा जीप, कार र भ्यान भित्रिएका थिए। वीरगंज भन्सार कार्यालयका प्रवक्ता विमलकुमार साहका अनुसार गाडी आयातमा नीतिगत कडाई र कोरोना महामारीका कारण मागमा कमी आउँदा आयातमा असर देखिएको हो। मोटरसाइकल आयात समेत ३७ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको  तीन महिनामा १ अर्ब ८ करोड मूल्यका २१ हजार ५० वटा मोटरसाइकल आयात भएका छन्। गत वर्षको सोही अवधिमा २ अर्ब ७४ करोडका ३३ हजार ४ सय २२ वटा मोटरसाइकल आयात भएको वीरगंज भन्सारको तथ्यांक उल्लेख छ। पीकअप गाडी, ट्रक, बस, मिनीबस, अटोरिक्सा टेम्पो, ट्रयाक्टर, डम्परलगायतका सबैखालका साधनको आयात घटेको भन्सार प्रवक्ता साहले बताए।

चालु आर्थिक वर्षमा इन्धनको आयात पनि उल्लेख्य परिमाणले घटेको कार्यालयले जनाएको छ। कोरोना महामारीका कारण यातायात सेवा, हवाइ सेवा लामो समय ठप्प हुँदा इन्धनको आयातमा उल्लेख्य कमी आएको हो। तीन महिनाको अवधिमा ११ हजार २३६ किलोलिटर हवाई इन्धन आयात भएको छ। गत वर्षको सो अवधिमा ४२ हजार ६ किलोलिटर हवाई इन्धन आयात भएको थियो।

चालु आवको तीन महिनामा ३ अर्ब ११ करोड १४ लाख २९ हजार मूल्य बराबरको ६९ हजार ३ सय ९६ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको सोही अवधिमा ५ अर्ब ४५ करोड १९ लाख ६६ हजार मूल्य बराबरको ९२ हजार २ सय १२ किलोलिटर पेट्रोल आयात भएको थियो।

यो गत आवको भन्दा २५ प्रतिशतले कम हो। कार्यालयका अनुसार तीन महिनाको अवधिमा ४ अर्ब ९२ करोड ७५ लाख ५५ हजार मूल्य बराबरको १ लाख ५ हजार ७ सय ६८ किलोलिटर डिजेल आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब २७ करोड २५ लाख १० हजार मूल्य बराबरको १ लाख ७३ हजार २० किलोलिटर डिजल आयात भएको थियो। त्यस्तै एलपिजी ग्यासको आयातमा पनि १५ प्रतिशतले कमी आएको छ। चालु आवको तीन महिनामा ३ अर्ब २३ करोड ८६ लाख ६६ हजार मूल्य बराबरको ५ करोड ६० लाख ७८ हजार ८ सय केजी ग्यास आयात भएको वीरगंज भन्सारले जनाएको छ ।

गत आवको सोही अवधिमा ३ अर्ब ९८ करोड १९ लाख ४८ हजार मूल्य बराबरको ६ करोड ६३ लाख ६ हजार २ सय ९० किलो ग्यास आयात भएको थियो।