डोटीमा  प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना तयारी, स्थान छनोट र पूर्वाधार अध्ययन गर्न समिति गठन

रासस
२०७७ कात्तिक ११ गते ०९:१४ | Oct 27, 2020
डोटीमा  प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना तयारी, स्थान छनोट र पूर्वाधार अध्ययन गर्न समिति गठन

  

Tata
GBIME
Nepal Life

डोटी। डोटीमा प्रादेशिक स्तरको इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । यसका लागि सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोगका पूर्वप्रमुख प्राडा. त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । 

बज्राचार्य नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासीलगायत सरोकारवालासँग भर्चुअल मिटिङसमेत गरिसकेको छ ।  पूर्वशिक्षामन्त्री धनीराम पौड्यालकै पालामा डोटी, बर्दिवास, चितवन र दाङमा इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न आयोगका लागि बजेट विनियोजन भएको थियो । 

सोही योजनाअनुसार डोटीमा पनि प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना गरिन लागेको डोटी क्याम्पसका सहप्राध्यापक हर्कबहादुर कलेलले बताए। कलेज स्थापनार्थ प्रारम्भिक अध्ययन टोलीका संयोजक हरि रोक्का नेतृत्वको टोलीले डोटी क्याम्पस र सेती प्राविधिक शिक्षालय दिपायलमा इन्जिनियरिङ कलेज स्थापना गर्न सकिने सुझाव दिएको छ ।

दोस्रो चरणको सम्भाव्यता अध्ययन गर्नका लागि अनुदान आयोगका सदस्य डा. विकास अधिकारीको नेतृत्वको टोलीले दुवै शिक्षालयका पूर्वाधार प्रयोग गर्न ती शैक्षिक संस्थामा नीतिगत समस्या रहेको जनाएको छ । 

कसरी सञ्चालन गर्ने सम्बन्धमा फरक मत भए पनि डोटीमा इन्जिनियरिङ कलेज स्थापनाको राम्रो सम्भावनाका साथै उपयुक्त स्थान रहेको भनेर दुवै समितिले सरकारलाई सुझाव दिएको दिपायल सिलगढी नगर प्रमुख मलासीले जानकारी दिए । इन्जिनीयरिङ कलेजका लागि पूर्वाधारको अवस्थाका बारेमा अध्ययन गर्नका लागि प्राडा. बज्राचार्य नेतृत्वको टोली फेरि डोटी आउने तयारीमा छ ।

इन्जिनियरिङ कलेज निर्माणका लागि एशियाली विकास बैंक, विश्व बैंक र अष्ट्रेलियन एडको सहयोग हुने बताइएको छ ।